कोरोना राहत : खुसी छन् भीमबहादुर

बिहीबार दिउँसो फेवाताल किनारको बाराही घाटमा मानिसहरूको चहलपहल देखिन्थ्यो। उनीहरू सबै तालमा डुङ्गा चलाउने चालक रहेछन्। कोरोना भाइरसले गर्दा हातमुख जोड्ने बाटो बन्द हुँदा सबैको मन पिरोलिएको छ।

कहिलेबाट नियमित काममा फर्कन पाइन्छ भन्ने उनीहरूलाई थाहा छैन। उनीहरूमध्ये कति दिउँसो माछा मार्न ताल किनारमा आउँछन्। कति दिनभर डेरामै बस्छन्।

राहत सामाग्री वितरण गर्न तालमा डुङ्गा खियाएर जीविका चलाउने चालकलाई फेवा डुङ्गा व्यवसायी संगठनले बोलाएको थियो। राहत पाउनेमध्ये एक थिए सिन्धुलीका भीमबहादुर मगर। उमेरले ५ को दशक पुग्नै आँटेका उनको काँधमा परिवार धान्ने जिम्मा छ। अन्य बेला बिहानै काममा आउने गरेका उनी आजभोलि डेरामा दिन कटाउँछन्।

पुर्ख्यौली घर सिन्धुली भएका भीमबहादुरको परिवारमा श्रीमति र ३ सन्तान छन्। ७ वर्षदेखि फेवातालमा नियमित डुङ्गा चलाउँदै आएका उनले कोरोना भाइरसका कारण भोग्नुपरेको दुःख छोटो भेटमा साटे।

उनलाई गाउँ फर्किन मन नभएको होइन। तर, पोखरामा लामो समय बिताएकाले पनि पोखरालाई माया मारेर टाढाको गाउँ फर्किन चाहेनन्। उनीसँगै आएका कति साथी गाउँ फर्किसके। उनी भन्छन्, ‘फर्किने मन भएको हो। तर, एकैचोटी लकडाउन भयो। गाडी पनि पाइएन। त्यसैले फर्किन सम्भव भएन।’

संकटका बेला राहत पाउँदाको खुसी उनमा प्रष्ट देखिन्थ्यो।‘यहीँ काम गरेको हिसाबले समितिले राहत दिँदा खुसी छु। परिवारमा सदस्य धेरै छन्, जसले गर्दा एक/दुई दिन टरे पनि समितिले केही गरेजस्तै लागेको छ,’ उनले भने।

पोखरा महानगरपालिकाले दिने भनेको राहतका लागि वडाले उनको नाम पनि पठाएको छ। ‘सरकारबाट दिने भनेर नाम टिपाएर लगेको छ, त्यो अहिलेसम्म पाएको छैन। बस्ने ६ नम्बर वडामा भएकाले वडाले नाम लगेको छ,’ उनले सुनाए। फागुन महिनासम्म मासिक २५ हजारसम्म आम्दानी गर्ने गरेका उनको कमाई चैत महिनामा ठप्प छ।

ओखलढुङ्गाका तेजबहादुर माझीको पनि समस्या उस्तै छ। भोलिदेखि के खाने होला भन्ने भइसकेका बेला फेवा डुङ्गा व्यवसायी संगठनले राहत सामाग्री थमायो। माझीले डुङ्गा चलाउन थालेको ८ वर्ष भइसक्यो। ५५ वर्षका उनको परिवार गाउँमा छ। ‘काम बन्द भयो। के खाने होला भन्ने बेला भइसकेको थियो। अब हप्ता दिनलाई पुग्छ,’ उनले हँसिलो मुद्रामा सुनाए।

डेढ सय चालकलाई राहत वितरण

संगठनले तालमा डुङ्गा चलाउने झन्डै डेढ सय चालकलाई बिहीबार राहत बाँडेको छ। दैनिकी चलाउन तालमा डुङ्गा चलाउनेबाहेक अन्य कुनै आधार नभएका सबैलाई अत्यावश्यक खाद्य सामाग्री वितरण गरिएको संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए।

‘कोरोना भाइरसले गर्दा तालमा दिनभर डुङ्गा चलाएर बेलुकाको छाक टार्ने समस्यामा परेका छन्। खानाको समस्या भयो भनेर ८ वटा घाटका चालकलाई राहत वितरण गरेका हौं,’ उनले भने।

चालकहरूलाई ५ केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ केजी नुन राहतस्वरुप दिइएको अध्यक्ष नेपालीले जानकारी दिए। कोरोना भाइरसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै संगठनले अनिश्चितकालका तालमा डुङ्गा संचालन गर्न रोक लगाएको छ।

कोरोना भाइरसका कारण पछिल्लो समय पोखरामा पर्यटकको संख्या प्राय शून्यः छ। पर्यटकले भरिभराउ हुने पोखराका पर्यटकीय क्षेत्र लेकसाइडका होटल अहिले खाली छन्। कोरोनाले पर्यटक नभएपछि एकाधबाहेक सबै होटलले कर्मचारीलाई बिदा दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय