तीन दिनदेखि दसगजामा सयभन्दा बढी नेपाली अलपत्र

 तीन दिनदेखि सीमा नाकामा अलपत्र परेका नेपालीको जनजीवन कष्टकर बन्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै सुरक्षाका लागि आफै जन्मभूमि नेपाल आएका उनीहरु तीन दिनदेखि नेपाल–भारत सीमा क्षेत्रको खुला आकाशमुनी कष्टकर जीवन बिताउन बाध्य भएका छन् । समयमै उद्धार नहुँदा दशगजाको नजीकरहेको बगैचा र खेतमा अलपत्र नेपाली खेतको चिसो र लामखुट्टेका कारण विरामी पर्न थालेका छन् ।

खुल्ला आकाश र चिसो भुईमा डेढ सय बढी नेपाली रात दिन काटिरहे पनि उद्धारमा कुनै चासो दिइएको छैन । सीमा अलपत्र नागरिकको उद्धार र व्यवस्थापनमा संघ र प्रदेश नं. ५ सरकारको निर्णय बाझिएको छ । प्रदेश सरकारले अलपत्र नागरिकको उद्धार गर्ने निर्णय गरेको छ भने संघीय सरकारको निर्देशन भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अलपत्र नागरिकको उद्धार गर्न मानेका छैनन् ।

संघ र प्रदेश सरकारको निर्णय एक आपसमा बाझिएपछि जमुनाह नाकामा डेढ सय बढि नेपाली नागरिक खुल्ला आकाशमुनी बस्न बाध्य भएको नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले बताइन । उनका अनुसार, अलपत्र नेपाली जमुनाह नाकादेखि पश्चिम खेतमा कष्टकर जीवन बिताइरहेका छन् ।
उनीहरुलाई बस्ने र सुत्नका लागि कुनै पनि व्यवस्था गरिएको छैन । आपको रुखमुनी सहारा लिएर बसेको बर्दिया जमुनीका दिपक बुढाले अधिकांस ब्यत्तिर बिरामी पर्न थालेको बताए ।

चिसो र लामखुट्टेका कारण सुत्नै नसकिने अवस्था छ भने अधिकांसलाई रुखाखोकी र ज्वरोले समातेको छ । बुढाले तीनदेखि यतिका ठूलो समूहमा आफ्ना नगारिक बसेको थाहा पाउँदा समेत सरकारका तर्फबाट कुनै प्रकारको स्वास्थ्य परीक्षण नभएको बताए । सीमामा होस् चाहे पायक पर्ने ठाउँमा आफुहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने उनीहरु बताउँछन् । तर यसरी दुःख दिएर नराख्न सुर्खेत पन्चपुरीका राजेश बिकले आग्रह गरे । भारतबाट बिभिन्न ठाउँबाट पैदल नै यि नेपाली भारतीय सीमावर्ती बजार रुपैडिया आएका थिए ।

दुई दिन भारतीय भूमीमै रहेका बेला मंगलवार राती भारतीय सीमा सुरक्षा बल एसएसबीले ट्याक्टरमा राखेर जर्बजस्ती नेपाली भूमीमा ल्याएर राखिदिएको छ । नेपाली भूमीमा आइसकेकालाई नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर थापामगरको आग्रहमा शिख समूदायको लंगरबाट भोजन खुवाउने काम भइरहेको छ । सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गराएर व्यवस्थितरुपले क्वारेन्टाइनमा राख्नुपर्ने पक्षमा उपमहानगरपालिका छ ।

तर, स्थानीय प्रशासनले प्रवेश गराउन माथिबाट आदेश नभएको भन्दै उपमहानगरपालिकाको कुरा सुन्न चाहेको छैन । यसले सीमा नाकामा रहेका नेपालीहरुको उद्दारमा समस्या हुँदा अवस्था झनै कष्टकर बनेको छ । सरकारले सीमा क्षेत्रमा रहेका नेपालीलाई नेपालमै ल्याएर ब्यवस्थितरुपले क्वारेन्टाइनमा राख्नु नै उपयुक्त हुने इन्सेकका प्रस्तावित लुम्बिनी प्रदेश संयोजक भोला महत बताउँछन ।

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा अझै ५० जना अट्न सक्ने उपमहानगरपालिकाले जनाएको छ । बाँकेका स्थानीय तहमा बनाइएका क्वारेन्टाइनहरु बिहीबारसम्म खाली नै रहेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत सीमा नाकाबाट कसैलाई पनि आवतजावत गर्न नदिन गृह मन्त्रालय बाटै कडाई गरिएको बताए । उनकाअनुसार अहिलेसम्म कसैलाई पनि आवतजावत गर्न नदिने भन्ने माथिको निर्देशन छ ।

स्थानीय प्रशासनलाई माथिको आदेश नआएकै कारण सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकले दुख पाउँदै आएका छन् । विहीबार पनि नेपालीहरु सीमा नाकामै बेवारिसे छन् । प्रजिअ खड्काकाअनुसार भारतले रुपैडिहाको क्वारेन्टाइनमा राख्न लैजान खोजे पनि उनीहरु जान मानेका छैनन् । अघिल्लो राती जयसपुर र हिरमिनियाको खेतमा सुतेका नेपालीलाई भारतको क्वारेन्टाइन लैजाने अधिकारीहरुले सहमति गरे पनि उनीहरु जान नमानेर दशगजामै बसेका हुन् ।

नेपाल र भारतका अधिकारीहरुबीच नाकामा अलपत्र परेका नेपालीलाई आधा आधाको व्यवस्थापन गर्ने सहमति भएको थियो ।  सहमति अनुसार जयसपुर र हिरमिनियामा रहेका नेपालीलाई जमुनाहा नाकामा ल्याइयो ।

त्यसपछि शुरुवातमा नेपालीले गए सबै एकै ठाउँमा जाने अडान कसे । नेपाली अधिकारीले भारतीय पक्षलाई त्यो कुरा सम्झाए । सबैलाई लैजान भारत तयार भयो । तर, दशगजामा पुगेपछि नेपालीहरुले फेरि विचार बदले, भारत जान्न भन्न थालेपछि उनीहरुलाई उद्धारमा समूया देखिएको बााके प्रशासनले जनाएको छ ।‘भारतबाट धेरै दुख झेलेर नेपालमा आइपुगेका छौं । फेरि भारत जाँदैनौँ,’ नेपालीहरुले एकै स्वर भने । त्यसपछि नेपाली र भारतीय अधिकारीहरुलाई समस्या भयो ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक, प्रमुख जिल्ला अधिकारले सम्झाइरहे, उनीहरुले इन्कार गरिरहे । त्यसबीचमा प्रदेश सांसद कृष्णा केसी नमूना पनि पुगिन् । सबैले मिलेर राती पौने एघार बजेसम्म सम्झाए पनि उनीहरु रुपईडिहा जान नमानेर दशगजामै बसेका छन । उनीहरु भारतबाट आएको तीन दिन भइसकेको छ । यो तीन दिन उनीहरुले सडक र खेतमा मै रात बिताएका छन् । अब ११ दिन भारतीय क्वारेन्टाइनमा गएर सुरक्षित बसिदिन र त्यसपछि घरघरमा पठाइदिन्छौँ भनेर नेपाली अधिकारी र सांसदले सम्झाउँदा नेपालीहरुले भारत नजाने अडान दोहोर्याएका छन ।

रुकुमका सन्दीप केसीले भने, ‘धेरै दुःख पाएर आफ्नो भूमिसम्म आएका छौं । फेरि भारत जाँदैनौँ ।’ उनीहरुले जतिदिन बसे पनि खेतमा सुत्ने बताए । ‘जति दिन बस्नुपर्छ । हामी खेतमै बस्छौं । हामीलाई सडकमा राखिदिनुस् । तर, भारत जाँदैनाँै, उनीहरुले एक स्वरमा भनिरहे,’ प्रदेश सांसद केसीले भनिन, ‘जति सम्झाए पनि जान्नौँ भनेपछि के गर्ने लठ्ठी हान्नुभएन । त्यही दशगजामै छन् ।’

खासमा नेपाल र भारतका अधिकारीका बीचमा नेपालमा भएका भारतीयलाई नेपालले क्वारेन्टाइनमा राखिदिने र भारतबाट आएर नाकामा अलपत्र परेकालाई भारतले क्वारेन्टाइनमा राखिदिने सहमति भएको थियो । जति सम्झाउँदा पनि केही सीप नलागेपछि अधिकारीहरु एघार बजे राती नाकाबाट फर्किएका थिए । त्यसपछि नेपालीहरु दशगजामै सुतेका छन ।

प्रजिअ खड्काले भने, ‘रुपैडिहास्थित क्वारेन्टाइनमा जान भन्दा नेपालीहरुले मानेका छैनन् । यहाँ हामीले व्यवस्थापन गर्न सक्ने अवस्था छैन । उनीहरु नाकामै बसिरहेका छन् ।’ नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणाले क्वारेन्टाइनमा ल्याएर राख्ने उपमहानगरको योजना रहेपनि प्रजिअले नमान्दा समस्या भइरहेको बताए । सीमा नाकामा झण्डै २ सय नेपालीहरुको दैनिकी तीन दिनदेखि अस्तव्यस्त बनेको छ । उनीहरुले खाना र औषधी त परै जाओस् मागअनुसार पानीसमेत नपाएको गुनासो छ ।

नेपाल–भारत सीमानाका दशगजासम्म आइपुगेपछि घर जानका लागि बाँके प्रशासनले अनुमति नदिएपछि तीन दिनदेखि नेपालीहरु जमुनाह सीमामा अलपत्र परेका छन् । भारतको रुपैडिहामा सयौंको संख्यामा रहेका नेपाली नागरिकले नेपालगन्ज नाकाबाट सहजै प्रवेश गर्न नपाएपछि अन्य अबैध नाकाबाट भए पनि नेपाल छिरेका छन् ।
नाकातिर नै रहेको महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा बनाइएको छ । नेपाली अधिकारीहरुले उनीहरुलाई त्यहाँसम्म ल्याउन सकेका छैनन् ।

‘माथिको आदेश’ नहुँदासम्म केही गर्न नसकिने अधिकारीहरुले बताइरहेका छन् । स्रोतका अनुसार, माथिबाट जहाँ छन, त्यही राख्नु भन्ने निर्देशन रहेको छ । बाँकेको होलिया ,सन्तलिया, साइगाउँ, खयरभट्टी लगायतका छोटी नाकाबाट नेपालीहरु नेपालगन्जमा प्रवेश गरिरहेका छन् । नेपालगन्जसँगै जोडिएको जयसपुरको अबैध नाकाबाट दुई दिनअघि सीमा प्रवेश गरेका १ सय ६४ जनालाई भने सीमा क्षेत्रमै रोकिएको थियो । यसरी अवैध नाकाबाट सीमा प्रवेश गर्ने नेपालीहरुका कारण कोरोना संक्रमणको जोखिमसमेत बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय