कोरोनाको संक्रमण रोक्न बाटोमा ᠋‘बार’

कोरोना संक्रमणबाट जोगिन साबुनपानीले नियमित हात धुनु, सामाजिक दूरी कायम गर्नु, हातले आँखा, मुख, नाक नछुनु, हाछ्युँ गर्दा रुमाल वा कुहिनाले छोप्नु , टिस्यु पेपर प्रयोग र सुरक्षित बिसर्जन गर्नु, मास्क प्रयोग गर्नु लगायत बुँदा अन्तर्राष्ट्रिय रुपमा सुझाइको उपाय हो।

नेपाल सरकारले पनि त्यसलाई नै अनुशरण गरेको छ। सबै सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि तिनै कुरा प्रकाशन/प्रशारण भइरहेका छन् र हरेकले त्यसलाई पछ्याई रहेको अवस्था छ।

विडम्बना हामी कोरोना संक्रमण रोक्ने यी विश्वब्यापी सुझावको अल्प अनुशरणमा नै अल्झेका छौं। र, नयाँ उपायको अनौठो अभ्यास गरिरहेका छौं, सडकमा बार लगाएर कोरोनाको संक्रमण रोक्ने। सोच्नै नसकिने कुरा भए पनि यतिबेला मुख्य तथा सहायक राजमार्ग, सहर बजारदेखि देहातका चोक गल्लीमा छ्याप्छ्याप्ती लगाइएका बारले हामी अपनाउनु पर्ने मुख्य सुरक्षा सावधानीबाट विमुख भएको प्रस्ट हुन्छ।

यो समस्या बौद्धिक र विकासका दृष्टिले अग्रणि मानिएको जिल्ला झापामा बढ्दो छ। जसले अत्यावश्यक सवारी सञ्चालन र नियमित आवागमनमा अप्ठ्यारो परेको छ।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले मुख्य सडक र राजमार्गमा त्यस्तो अवरोध नभएको बताए। ‘राजमार्गमा यस्तो अवरोध छ भन्नू तथ्यलाई बङ्ग्याउनु र छिद्र खोतल्नु मात्रै हो’, उनले भने, ‘हामीले देखे जति ठाउँको हटाएका छौँ, कहिँ अवरोध छ भने हटाउन तत्काल प्रहरी परिचालित हुन्छ।’

उनले यस्तो कार्यले कोरोना रोकिने नभई अत्यावश्यक सेवामा व्यवधान सिर्जना हुने बताए। राजमार्ग खुल्ला हुँदा अनियन्त्रित भएर चल्ने सवारी साधनलाई प्रहरीले नियन्त्रण गर्ने प्रयास गरेको जानकारी दिए। तर, राजमार्गमा त्यसखालको अवरोध नभएको बताए।

नेकपा झापाका जिल्ला कमिटी सदस्य भवानीप्रसाद दङ्गाल भने अहिले पनि बाटोमा अवरोध जारी रहेको बताउँछन्। सडकमा अवरोध सिर्जना गरेको विषयलाई झापा चकचकीका कृष्ण राज कटुवालले चेतना स्तरको मापन भनी टिप्पणी गरे। श्री ५ महेन्द्र चुन्नी मावि सप्तरीका शिक्षकसमेत रहेका उनले भने, ‘यो साँघुरो सोचको उपज हो, सडक बन्द गरेर कोरोना रोकिन्छ भन्नु जग हसाउनु मात्र हो।’

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुले आफू सुरक्षित हुने बाहानामा राज्यले गरेको लक डाउनको उपहास हुने गरी सडकमा अवरोध गर्नु गलत भएको बताउँछन्।

कसैले त्यसको विरोध गर्‍यो भने अवरोध गर्नेले झपार्ने गरेको बिर्तामोडका स्थानीय श्याम शर्माले बताए। चन्द्रगडि लेखनाथ चोककी रेखा अधिकारीले उक्त कार्य गलत भएको बताइन्। मानव अधिकारका लागि महिला एकल महिलाकी केन्द्रीय सचिवसमेत रहेकी अधिकारीले भनिन्, ‘यो मानिसको स्वतन्त्रता पूर्वक आवागमन गर्न पाउने अधिकारको हनन् पनि हो।’ उनले यस्तो संकटको बेला सडक अवरुद्ध गर्न नहुँने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय