पोखराबाट कोरोना भाइरसको परीक्षण सुरु, ४ जनाको स्वाब जाँचियो

गण्डकी प्रदेशको राजधानी पोखराबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ। मंगलबार बिहान ल्याइएको पिसिआर मेशिन जडान भएसँगै परीक्षण सुरु गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।

कोरोना जाँच्ने पिसिआर मेशिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा जडान गरिएको छ। अहिलेसम्म ४ जनाको स्वाब परीक्षण गरिएको निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले जानकारी दिए। अहिलेसम्म कास्कीका ३ र बागलुङ्का १ जनाको स्वाब परीक्षण गरिएको उनले बताए।

परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ। नयाँ पीसीआर मेशिनले १ घण्टामा १ जनाको कोरोना परीक्षण गर्न सक्छ। अहिलेसम्म गण्डकी प्रदेशबाट ४७ जनाको नमूना संकलन गरिएकोमा २२ जनाको स्वाब परीक्षण गरिएको छ। त्यसमा २१ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ रिपोर्ट आएको छ।

यूरोपबाट फर्किएकी बागलुङ्की १९ बर्षीया युवतीमा गत १० चैतमा कोरोना पुष्टि भएको थियो। सङ्क्रमित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको सम्पर्क व्यक्ति शर्माले जानकारी दिए। अन्य २५ जनाको स्वाब परीक्षण हुन बाँकी रहेको छ।

गण्डकी प्रदेशका ४ जिल्लाबाट अहिलेसम्म कसैको पनि नमूना संकलन गरिएको छैन। नमूना संकलन नभएका जिल्ला लमजुङ्, नवलपुर, मनाङ र मुस्ताङ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय