झापामा सरकारको निर्देशन कार्यान्वयन भएन, अझै पाउँदैनन् सामान्य बिरामीले उपचार

राजेन्द्र गौतम/ झापा
प्रकाशित
२०७६ चैत १९ गते १५:२९

ज्वरो आएका तथा अन्य रोगीको उपचार तत्काल गर्न सरकारले दिएको निर्देशन झापामा अझै कार्यान्वयन भएको छैन। अघोषित रुपमा अस्पताल सरह चलाइएका औसधि पसलले अहिले पनि ज्वरो तथा अन्य रोगका बिरामीलाई हेर्दै नहेरी फर्काइदिने गरेका छन्। जसले बिरामी तथा विरामीका परिवार सास्ति खेप्न बाध्य छन्।

पछिल्लो पटक झापाको कनकाई नगरपालिका-३ सुरुङ्गामा रहेको प्रधान मेडिसिन सेन्टरले बोलाएर पनि हेर्दै नहेरी बिरामी फर्काएको आफन्तको गुनासो छ।

मेडिसिन सेन्टरमा नियमित आउने डाक्टर ज्ञानदेव ठाकुरले पहिला बिरामी बोलाएको र पछि बीच बाटोबाट नै फर्काइदिएको कनकाइ- ४ का दुर्गा चापागाईंले बताए। पिसाबमा इन्फेक्सन भएका छोरा लक्ष्मीलाई डाक्टरले हेर्न नमानेको बिरामीका आफन्तको गुनासो छ।

‘मेडिसिन सेन्टरमा फोन गर्दा लिएर आउनु भनियो’, उनले भने, ‘घरबाट हिँडेपछि बिरामीलाई बाटोमा नै रोकियो। मेडिसिन सेन्टरका सञ्चालक सुरेन्द्र प्रधानले ल्याबका प्राविधिक नभएको र पिसाबको परीक्षण नहुने बहाना बनाएर बिरामी रोकेको दुर्गाले बताए।

मेडिसिन सेन्टरका सञ्चालक प्रधानसँग बिहानैदेखि सम्पर्कमा रहेका चापागाईं छोराको उपचार सुरुङ्गामा नभएपछि एम्बुलेन्स लिएर मेची अञ्चल अस्पताल भद्रपुर जान बाध्य भएका थिए। सुरुङ्गाकै अर्को ल्याबमा गरिएको ल्याब टेष्टमा लक्ष्मीलाई पिसाबमा इन्फेक्सन देखिएको बताइएको छ।

उनले एम्बुलेन्सले पनि आफूलाई ठगेको बताए। सुरुङ्गाबाट भद्रपुर जाँदा एक हजार तीनसय तिरेका दुर्गाले भद्रपुरबाट अर्को एम्बुलेन्समा सुरुङ्गा फर्कदा एक हजार पाँच सय तिर्न बाध्य भएको बताए।

बिर्तामोडको बिएण्डसी र भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमासमेत सेवा दिने डाक्टर ठाकुरको गैरजिम्मेवारीका कारण आफूले निक्कै दु:ख पाएको र मानसिक यातना बेहोर्नु परेको दुर्गाको भनाइ छ। प्रधान मेडिसिनले औसधिसमेत दिन आनाकानी गरेपछि आफूले अन्य पसलबाट औसधि लिएको दुर्गाले बताए।

केही दिन अघि झापाका निजी अस्पतालले बिरामी नलिएर दु:ख दिएको गुनासो चुलिएपछि भएको सर्वपक्षीय छलफलमा सबैअस्पतालले सबै रोगी हेर्ने सहमति भएको थियो। तर, क्लिनिक र औसधि पसलमा आउने डाक्टरले अझै बिरामी हेर्न मानेका छैनन्। झापामा खास गरी ज्वरो, रुघाखोकी, झाडापखाला र मौसम परिवर्तनसँगै देखिने बिरामीलाई हेर्न चिकित्सकहरूले आनाकानी गर्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय