गण्डकी सरकारले राहतस्वरूप स्थानीय तहलाई साढे ६ करोड दिने

गण्डकी प्रदेश सरकारले राहतस्वरुप स्थानीय तहलाई ६ करोड ५० लाख रुपैयाँ दिने भएको छ। मंगलबार दिउँसो बसेको ३६ औं मन्त्रिपरिषद् बैठकले प्रदेशका ८५ वटै स्थानीय तहलाई राहतस्वरुप सो रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

प्रदेशले राहतस्वरुप पोखरा महानगरपालिकालाई सबैभन्दा धेरै १ करोड रुपैयाँ दिने भएको छ। प्रदेशभित्रका २६ नगरपालिकालाई १०/१० लाखका दरले २ करोड ६० लाख र ५८ वटा गाउँपालिकालाई ५/५ लाखका दरले २ करोड ९० लाख रुपैयाँ राहत दिने प्रवक्ता बस्नेतले जानकारी दिए।

यो राहत रकमले दैनिक ज्यालादारी गर्ने परिवार भोकै बस्न नपर्ने विश्वास प्रदेश सरकारको छ। गरिब परिवारको पहिचान गरेर स्थानीय तहले विनियाजित रकमको जिन्सी सामाग्री दिने उनले बताए। गण्डकी प्रदेश सरकारले कोरोना रोकथामका लागि कोष स्थापना गरेको छ। सो कोषमा हालसम्म ६२ लाखभन्दा बढी रकम जम्मा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय