बिरामी नजाँच्ने डाक्टरलाई कारबाही गर्न मुख्यमन्त्री राउतको निर्देशन

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिरामीको उपचार नगर्ने चिकित्सकहरूलाई कारबाही गर्न निर्देशन दिएका छन्। कोरोना संक्रमण हुने डरले कतिपय अस्पताल र डाक्टरहरू बिरामी जाँच्न छोडेको भन्दै उनीहरूलाई कारबाही गर्न राउतले निर्देशन दिएका हुन्।

मंगलबार जनकपुरमा प्रदेश २ का आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा राउतले भने,‘कतिपय अस्पताल र डाक्टरहरूले बिरामी नजाँचेको कुरा आएको छ, त्यस्तालाई कारबाहीको दायरामा ल्याउनुस्।’

‘बिरामी उपचार नपाएर समस्यामा छन्, डाक्टरहरुले जाँच्न मानेका छैनन्,’ राउतले प्रमुख जिल्ला अधिकारीहरूलाई भने, ‘त्यस्ता डाक्टरहरूको पहिचान गरेर कारबाही गर्नुस, तपाईंहरू सक्नु हुन्न भने नाम दिनुस्, मन्त्रिपरिषद्बाटै निर्णय गरेर हामी कारबाही प्रक्रिया अगाडी बढाउँछौं।’

कतिपय निजी अस्पतालले समेत कोरोना संक्रमणको त्रासमा बिरामी फिर्ता गर्ने गरेको भन्दै राउतले भने,‘सरकारबाट सुविधा लिएर सस्तोमा उपकरहरु मगाएका छन्, अहिले संकट परेको बेला बिरामी फिर्ता पठाउन पाइन्छ र?’

‘डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई ‘सेफ्टि गियर’ को आवश्यक्ता छ, हामीले महसुस गरेका छौं, व्यवस्थापनि हुँदैछ,’ राउतले भने,‘तर त्यसकै बहानामा बिरामी नजाँच्ने पेशाप्रतिको अन्याय हो । यस्तो संकटको घडीमा जनताको सेवा गर्न नसके पदमा नबसे हुन्छ।’

‘डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई ‘सेफ्टि गियर’ को आवश्यक्ता छ, हामीले महसुस गरेका छौं, व्यवस्थापनि हुँदैछ,’ राउतले भने,‘तर त्यसकै बहानामा बिरामी नजाँच्ने पेशाप्रतिको अन्याय हो । यस्तो संकटको घडीमा जनताको सेवा गर्न नसके पदमा नबसे हुन्छ।’

कोरोना संक्रमण फैलिएलगत्तै प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयहरुलाई पठाएको ५०/५० लाख रुपैयाँ खर्च नभएको प्रति मुख्यमन्त्री राउतले आक्रोश पोखेका छन्। ‘प्रदेश सरकारले प्रारम्भिक तयारीका लागि सबै जिल्लामा ५०/५० लाख रुपैयाँ पठाएको छ,’ राउतले भने,‘तपाईंहरू त्यो पैसा खर्चनै गर्नु भएको छैन्। आज थप पैसा माग्नु हुन्छ मेरो अपेक्षा थियो । तर, पैसा खर्च नभएपछि मलाई दुःख लागेको छ।’

कोरोनाविरूद्धको लडाईंमा प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै राउतले उच्च मनोबलका साथ काम गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

छलफलमा प्रदेश २ का प्रहरी प्रमुख, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, मन्त्रालयका सचिवलगायतका व्यक्तिहरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय