‘मरे पनि आफ्नै महाकालीमा मरौंला भनेर हाम फालेँ’
गहिरिँदै बगिरहेको चिसो महाकाली। खिर्लिप्पै निल्न खोज्ने भङ्गालाहरु छल्नु त्यत्ति सजिलो थिएन।
र, पनि उनी महाकालीमा हाम फाले। पानीले निथ्रुक्क भएका उनलाई आफ्नै जिउको लुगा पनि भारी भयो। सबै निकालेर महाकालीमै बगाइदिए।
धार्चुला (भारततिर) बाट महाकालीमा हाम फालेका उनी केही बेरमा नाङ्गै पल्लो छेउ दार्चुला (नेपाल) पुगे। पुग्दा नपुग्दै उनलाई प्रहरीले समायो। केहीबेरमा नाङ्गै हिँडाउँदै चौकीसम्म लग्यो।

बीचमा बगिरहेको महाकालीले दुई देशको सिमाना छुट्याएको छ। नेपालतिर दार्चुला र भारततिर धार्चुला।
छ सयभन्दा बढी नेपालीसँगै धार्चुलातिरको सिमानामा आइपुगेका थिए रमेश विष्ट पनि। उनी मार्मा गाउँपालिका छेडेढुङ्गा दार्चुलाका हुन्।
नेपालतिर लकडाउन गरिएको छ। सारा सिमा नाकाहरु बन्द गरिएका छन्, धार्चुला नाका पनि बन्द नै छ।
उनीहरु त्यहाँ आइपुगे तर, नेपालतिर छिर्न दिइएन। ‘आफ्नौ नागरिकलाई नरोक’ भन्दै उनीहरुले नाराबाजी गरे तर, पनि उनीहरुलाई नेपालतिर आउन दिइएन।
‘भोकभोकै तीन दिन तीन रात त जेनतेन बिताइसकिम्। कति सहनु’ विष्टले भने ‘मरे पनि आफ्नै कालीमा मरौंला भनेर हाम फालेँ।’
उनीसँगै आएका छ सयभन्दा बढी नेपाली अहिले पनि धार्चुलामै छन्।
पारी रहेका करिब ६ सय कामदारहरुमध्ये तीन जना महाकली तरेर वारी आइसकेको प्रदेश सभा सभासद मानबहादुर धामीले जानकारी दिए।
काली तरेर वारी आएका तीनमध्ये दुई जनालाई सम्बन्धित पालिकाको जिम्मा लगाएको जानकारी धामीले बताए।
दुई दिन देखि दिनको एक छाक खाएर खुला अाकाश मुनि , पारी बाट अाफ्नाे देश हेर्दै महाकालीको पानी छाम्दै स्वदेश प्रवेशकोलागि अनुय विनय गरिराखेका नेपाली दाजुभाइ !
तर राज्य निर्लज्ज र लाचार छ ! अाफ्ना जनता जाेगाउन सरकारको दायित्व हैन ?
@दार्चुला pic.twitter.com/TkxZ240k0T— Narbahadur Bista (@BistaNarbahadur) March 30, 2020
‘सिमानामा करिब ६ सय नेपाली रहेपनि सरकारले जोखिम मोल्न चाहेन लकडाउनको अवधिसम्म भारतमै राख्नुपर्ने व्यवस्था गरिरहेका छौं’ सांसद धामीले भने ‘भारतका अधिकारीहरुसँग छलफल गरेर समन्वय गरिरहेका छौं सर्वसाधारणको व्यवस्थापन हुन्छ।’
पारी अर्थात धारर्चुलमा रहेका नेपलीहरुलाई ७ दिनसम्म भारतमै राख्ने निर्णय सरकारले गरेको छ।
मंगलबारसम्म उनीहरुमध्ये केहीलाई भारततिरकै कभर्डहलमा, केहीलाई स्कूलमा र केहीलाई नदी किनारमा रहेको कुटि(आश्रम)हरुमा राखिएको छ।
सिमानामा अलपत्र परेका नेपालीहरुको व्यवस्थापन गर्न भारतका अधिकारीहरुसँग समन्वय गरी बुधबारसम्म धारर्चुला, जोलजीवीर बालुवाकोटमा क्वारेन्टाइनको निर्माण गरी व्यवस्थापन गरिने धामीले जानकारी दिएका छन्।
‘हामीले कतै न कतै क्वारेन्टाइन बनाएर राख्ने भनेका थियौं तर, केन्द्रबाटै अहिले उतै राख्ने भनेपछि भारत सरकारसँगको सल्लाहमै रोकेका हौं’ सांसद धामीले भने ‘अहिले छ सय जति हुनुहुन्छ, अरु पनि थपिइरहनुभएको छ।’
सिमानामा आइपुगेर अलपत्र परेका नेपालीको खाने बस्ने सम्पूर्ण व्यवस्था भारत सरकारले नै गरिदिएको छ।
सिमानाबाट आफ्नै देशमा छिर्न नदिएपछि कयौं मानिस ज्यानको जोखिम मोल्दै महकालीमा पौडेर गाउँ छिरिरहेको स्थानीय बताउँछन्।
स्थानीयका अनुसार मंगलबार बिहान धारर्चुलाको दत्तु भन्ने ठाउँबाट १० जना सर्वसाधारण महाकालीमा पौडी खेलेर नेपाल आएका छन्।