लकडाउनमा फसेका नेपालीलाई भारतीय एसएसबीले भगायो, सयौं अलपत्र

विश्वब्यापीरुपमा कोरोनाको कहरपछि घर फर्किने क्रममा लकडाउनमा सीमावर्ती भारतीय बजार रुपैडिहाको क्वारेन्टाइनमा रहेका सयौं नेपालीलाई भारतीय प्रहरीले रातारात जबरजस्ती सीमानाका पार गराएको छ।

भारतको रुपैडिहास्थित क्वारेन्टाइनमा रहेका सयौं नेपालीलाई भारतीय प्रहरी र एसएसबीले ट्रयाक्टरमा हालेर रातारात सीमानाका कटाएपछि यतिबेला बिभिन्न जिल्लाका १ सय ५० भन्दा बढी नेपाली अलपत्र परेकाछन्।

भारतका विभिन्न ठाँउमा मजदूरीका लागि गएका नेपालीहरू स्वेदश फर्किनेक्रममा लकडाउन भएपछि यसअघि उनीहरूलाई भारतको सीमासुरक्षा एसएसबी, प्रहरी र स्थानीय प्रशासनले रुपैडिहास्थित क्वारेन्टाइनमा राखेका थिए। तर, अचानक नेपाललाई कुनै जानकारी नदिई भारतले नेपालीहरूलाई ट्रयाक्टरमा राखेर रातारात नेपाल लखेटेको हो।

भारतीय पक्षबाट लखेटिएका नेपाली यतिबेला बाँकेको नेपाल–भारत सीमाक्षेत्रमा अलपत्र अवस्थामा छन्। नेपालगन्ज उपमहानगरपालिका- १० भृकुटीनगरमा ५१ जना, उपमहानगरपालिका वडा नम्बर १७ परसपुरको ढोडेगाँउमा ४८ जना र खजुरागाँउपालिका वडा नम्बर १, राधापुरमा २१ जना नेपाली अलपत्र अवस्थामा रहेका छन्।

भारतबाट लखेटिएका नेपाली यस क्षेत्रमा प्रहरी नियन्त्रणमा रहेकाछन् भने उनीहरूलाई नेपाल–भारत सीमानाका जमुनाहस्थित सुख्खा बन्दरगाहमा लैजाने तयारी भइरहेको बुझिएकोछ।

नेपालगन्ज र जानकी गाँउपालिकामा भेटिएका नेपालीहरूलाई के गर्ने भन्ने बारे जिल्लास्थित सुरक्षा संयन्त्र र सरोकारवालासँग छलफलपछि व्यवस्थित गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए।

अलपत्र परेकाको व्यवस्थापन गर्न मानवअधिकारीवादीको दवाव

नेपाल–भारत सीमानाकामा अलपत्र परेका सयौं नेपालीको उचित व्यवस्थापन हुन नसकेको भन्दै बाँकेका मानवअधिकारबादी संघसस्थाले चिन्ता व्यक्त गरेकाछन्।

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला भएको लकडाउनका कारण सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उचित व्यस्थापन हुन नसकेको भन्दै मानवअधिकारवादीले चिन्ता व्यक्त गरेका हुन्।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज, नेपाल बार एशोसियसन, उच्च बार नेपालगन्ज, इन्सेक नेपालगन्ज, हिमराईटस नेपालगन्ज, आइएचआरसी र उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनीहरू उचित व्यवस्थापनका लागि आग्रह गरेका हुन्।

सीमानाकामा नेपालीहरू अलपत्र परेको विषयलाई गम्भीरतापूर्वक लिएको भन्दै उनीहरूले जारी गरेको विज्ञप्तीमा मंगलबार विहान लगभग १ सय ५० बढीको संख्यामा रहेका नेपालीहरूको खानपिन, स्वास्थ्य र क्वारेन्टाइनमा राख्ने व्यवस्था हुन न सक्दा जोखिम बढ्ने बताउँदै चिन्ता व्यक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय