विश्व-महामारीमा नेपालको ‘कोरोना-जात्रा’

संसारका सानादेखि ठूला, गरिबदेखि धनी देशलाई अनौठा नेता–प्राणीहरूले चलाइरहेको संयोग यतिखेर शायद निकै टड्कारो देखिँदैछ। कोरोना कहर चलिरहँदा तिनका अन्तर्य उदाङ्गिदैछन्, हैसियत खुल्दैछन्। जब प्रकृतिले साँच्चासाँच्चै परीक्षा लिन्छ तब नेताहरूले चिट चोरेर पास गर्न सक्दैनन्। ठिक यस्तै लाग्दैछ।

सर्वशक्तिमान अमेरिका धापमा फसेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसलाई भुसुनाबराबर भन्ने स्थितिबाट हटेर अब बहुलठ्ठी उपायतिर मोडिएका छन्। जहाँ उनकै ह्वाइट हाउस टिमका सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउसी चाहिँ अहिलेकै स्थिति कायम रहे १ लाख अमेरिकी मर्न सक्ने चेतावनी दिइरहेका छन्। धन्य, प्रेसलाई बांगो आँखाले समेत हेर्न नचाहने ट्रम्पले उनलाई कारबाही गर्छु भन्न सकिरहेका छैनन्।

व्यापारी पृष्ठभूमिका ट्रम्प आफ्नै नाफा–घाटा चाहिँ पर्गेल्न पोख्त छन्। यसअघि पाँच राष्ट्रपतिसँग काम गरिसकेका, एड्सदेखि सार्स, इबोलासम्मको औषधि पत्ता लगाउने श्रेय पाएका डा. फाउसीलाई सुनेजस्तो गर्नैपर्ने उनको बाध्यता हो।

ट्रम्पलाई थाहा छ, उनको वहुलठ्ठीपनले अमेरिकी प्रजातन्त्र मासिनेवाला छैन। प्रजातन्त्र यस्तो चिज हो, जहाँ यसप्रति विरक्तिनेहरूले समेत समान अधिकार र स्वछन्दता भोग्न पाउँछन्। तिनीहरूले पनि फेरि प्रजातन्त्रकै माध्यमबाट आफ्ना कुण्ठा परीक्षण गर्न सक्छन्। कोरोना पार्टी चलाउने छाडा मनुवा, रोग भगाउन चर्चमा मान्छे भेला गर्ने धर्मस्वाँठहरू पनि त्यही प्रजातन्त्रभित्र बाँच्न पाउँछन्। डा. फाउसीको आँकलन सत्य साबित नहोस्।

छिमेकी चीनको जबर्जस्ती सफल हुने देखियो।

चीन आफैंमा कोरोना नियन्त्रणमा ‘ड्र्यागन’ साबित हुने देखियो। संक्रमण सुरुवातका केही कमजोरी चीनले हुबेई प्रान्तको लकडाउनबाट सपक्कै छोप्यो। लकडाउनलाई पश्चिमा विचारक, अनि मिडियाले मानवअधिकारसँग जोडेरसमेत आलोचना गर्न खोजे। चीनमा केही भइहाले खुच्चिङ गर्न खोज्ने (जुन ‘रिफ्लेक्स एक्सन’ सरहै हो) पश्चिमा जगतको विशेषतै भइसक्यो।

चीनको सूचना संयन्त्र नियन्त्रित छ। उसले संक्रमित र मृतकको संख्या पारदर्शी राखेन भन्ने प्रश्न उठिनै रहन्छ। तर, चीनले कोरोना नियन्त्रणमा देखाएको कौशल, आत्मवल र नतिजा दुत्कार्ने हैसियत शायदै कसैले राख्ला। उसको यो अनुभवलाई आज संसारले नै अनुशरण गर्नुपर्ने स्थिति आएको छ।

चीनको शासन व्यवस्थासँग सहमति–विमति जे जस्तो रहोस्, तर काम छोप्ने मामलामा उसको ल्याकत अपूर्व मान्नैपर्ने हुन्छ। मानवीय विपत्ति व्यवस्थापनमा आधुनिक प्रजातन्त्रका कतिपय औजार काम लाग्दैनन् भन्नेतर्क एकातिर भइरहेको छ। त्यसैमा चीनको शासकीय केन्द्रियताले कोरोनाभाइरस नियन्त्रणमा देखाएको प्रभावकारिता चर्चा हुनु स्वाभाविक हो।

यतिबेलाको हकमा चीनलाई ढिक्कै एउटा ‘ड्र्यागन’ मुलुकका रूपमा हेर्नेहरू खुसी भएको हुनुपर्छ।

युरोप झस्केको छ।

युरोजोन भित्रका विविधता जसरी अनुकूलतामा एउटा विहङ्गम तागत बन्दै आएको थियो। प्रकृतिले निम्त्याएको विपत्तिमा चाहिँ त्यहाँ पत्रपत्रमा रहेका कमजोरी उदाङ्गो भएका छन्। इटालीको राजनीति र सामाजिक तहमा समेत गहिरिएको अराजकताले कोरोनाका लागि इन्धनको काम गर्‍यो।

प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिर प्रकरणपछि नागरिकता विधेयकबाट भारतलाई सन्देह, घृणा, आक्रोश, उन्माद र अतिवादको खाडलमा हुत्याइरहेका बेला कोरोना भाइरसले सबै विषयलाई एउटै पोको पारेर थाँती लगाएको छ। विजेपीका धर्मान्ध र कांग्रेस आईका बाबुसाहेब सबै हात धुनतिर लागेका छन्।

साँस्कृतिक रूपमै इटालीसँग बढी नजिक स्पेन त्यही आगोमा लपेटिएको छ। उत्तरी युरोपेली मुलुक, जर्मनीलगायतले स्वाभाविक संयमताबाट संक्रमण काबुमा लिँदै गएका देखिन्छन्। बेलायतको अन्यमनष्कता महामारीमा समेत प्रकट भयो।
कोरिया, सिंगापुरले पुरस्कृत हुनैपथ्र्यो।

यी दुर्लभ संयमित मुलुक हुन्। सिंगापुरको व्यवस्थापन विश्वमै उदाहरण हो। कोरियालीको मेहेनत र लगाव यसै सर्वत्र प्रशंसित छ। लकडाउनबिनै कोरोना नियन्त्रण गरी उनीहरूले आफ्नो क्षमता चरितार्थ गरे। सरकार चलाउनेहरू जनमुखी भएर काम गर्छन्, अनि जनताले सरकारकै लयमा साथ दिँदै हरेक काम पूर्ण गर्छन्। खुलापन, समृृद्धिसँगै अनुशासन उत्तिकै महत्वपूर्ण छ एवं यी चिजबीचको सन्तुलनले राज्य सञ्चालकलाई परेका बखत सही वुद्धि पनि दिनेरहेछ।

हाम्रो सर्वनिकट भारत चाहिँ साँचो अग्निपरीक्षामा छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिर प्रकरणपछि नागरिकता विधेयकबाट भारतलाई सन्देह, घृणा, आक्रोश, उन्माद र अतिवादको खाडलमा हुत्याइरहेका बेला कोरोना भाइरसले सबै विषयलाई एउटै पोको पारेर थाँती लगाएको छ। विजेपीका धर्मान्ध र कांग्रेस आईका बाबुसाहेब सबै हात धुनतिर लागेका छन्। र, बिजोक हुँद ैछ ती करोडौं मजदुरको जो बिहान काम नगरी बेलुका हातमुख जोड्न सक्दैनन्। जसलाई सहरले मानिसको दर्जा दिनसमेत कन्जुस्याइँ गर्छ। ती मजदुर आफ्नो घरको ओत खोज्न ठूला सहरबाट लाखौंको सख्यामा ताँती लाग्दैछन्।

१ अर्ब ३७ करोड जनताका प्रधानमन्त्री मोदीले तीन हप्ते लकडाउन घोषणा गर्दा ती अतिगरिबको व्यवस्थापनमा केही गरिसक्ने अवस्था थियो–थिएन, खोजीको विषय हो। भारतले पछिल्लो मोदीकालमा भोगेको आर्थिक संकटमाथि चाहिँ कोरानाको वज्र परेकै हो। सँगसँगै सत्य यो पनि हो कि मान्छेले मान्छेलाई माया गर्नुपर्छ भन्ने सहिष्णुता प्रवद्र्धनको साटो भगवान भक्तिका नाममा काटमार, हानाहान गर्ने संस्कृतिको मलजलमा मात्रै राजनीतिक भविष्य देखिरहँदा समाजलाई विपत्ति सामनामा सक्षम बनाउने काम चाहिँ नभएकै हो। कोरोना कहरले भारतमा यो यथार्थको समीक्षा गर्ने वातावरण शायदै बन्ला।

हाम्रो धरातलमा आऔं।

हामी नेपाली पात्रोअनुसार वर्षको एक दिन सांस्कृतिक पर्वका रूपमा गाईजात्रा मनाउँछौं। जुन दिन सबैले वर्षभरि जम्मा भएको भँडास पोख्न पाउँछन्। एउटा सांस्कृतिक छुट मानौं।

संसार कोरोनासँग आत्तिसकेका बेला नेपालमा चाहिँ राजनीतिक गाईजात्रा सयौं सातामा बाजागाजासाथ चलिरहेको थियो। बामदेव प्रकरणमा माथापच्ची चल्दै थियो जसका कारण प्रधानमन्त्री केपी ओलीले आनन्दपूर्वक विदेश गएर मिर्गौला प्रत्यारोपण गर्ने योजनासमेत बदल्न पुगे।

त्यसैबीच नेकपाका आशलाग्दा युवामन्त्री योगेश भट्टराईले कोरोना फ्री पर्यटनको गफ लगाइदिए। ओलीका प्रिय स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनमा मादल बज्दा यहाँ नाच्नुपर्दैन भनेर जनताको चिन्तामा पानी घोलिदिए। नियन्त्रण कार्यदलका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा गएर घन्टौं गफको तर मार्न व्यस्त रहे। प्रशासकहरू चाहिँ शनैः शनैः नेपालतर्फ आइरहेको वा छिरिसकेको कोरोना भाइरसलाई झापाको बाहुनडाँगीमा वितण्डा मच्चाउने जंगली हात्ती झैं ठानिरहेका थिए (आइहाले होहल्ला गरे भइहाल्छ भनेर)।

परन्तु, जब पहिलो संक्रमित भेटियो, सबैको निद्रा भंग भयो। भोलिपल्टै लकडाउन गरियो। जसका पनि तयारीका अनेक गम्भीर पाटा हुन्छन्। जनताले पेट भर्नुप¥यो, अर्थतन्त्र डामाडोल हुन दिन भएन।

प्रमाणित संक्रमण नै कुरिरहँदासम्म परीक्षण नै नभइरहेको विषयबारे प्रश्न उठ्दा प्रश्न गर्नेहरू नै सरकारका आँखामा बैरी भए, भइरहेका छन्। अन्तर्राष्ट्रिय उडान रोक्ने विषयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका टाउकोमा मात्र हालेर मन्त्री, प्रधानमन्त्री ओभानो बन्न खोजे।

स्वास्थमन्त्रीको केटौलेपन सबैभन्दा टिठलाग्दो थियो। उनले यतिसम्म भने– डाक्टरहरू पाउने भए भात पकाउन पनि पिपिई माग्छन्। टाउकैहरूको यो गति छ भने गैरचिकित्सक स्वास्थ्य सचिवलाई विचरा उपाधिमात्रै दिँदा ठिक होला।

अदालतले आदेश दिनुपर्ने स्थिति आयो, तर त्यसलाई पनि रद्दीको टोकरीमा फालियो। मन्त्री, प्रशासकहरूले कोरोना भाइरस वैश्विक महामारी बनिसक्दा यसबारे दिएका अभिव्यक्तिले उनीहरूबाट सामान्य सूचनासमेत नराखेको प्रष्टियो। आखिर निर्णयकर्ता त तिनै हुन्।

स्वास्थमन्त्रीको केटौलेपन सबैभन्दा टिठलाग्दो थियो। उनले यतिसम्म भने– डाक्टरहरू पाउने भए भात पकाउन पनि पिपिई माग्छन्।

टाउकैहरूको यो गति छ भने गैरचिकित्सक स्वास्थ्य सचिवलाई विचरा उपाधिमात्रै दिँदा ठिक होला।

वास्तवमा नेपालको कोरोना लडाइँ नेतृत्वहीन मात्रै नभएर निष्ठारहित देखियो। तयारीका लागि सिंगो दुई महिना छँदाछँदै उपचारमा आवश्यक सामग्री किन्न अन्तिम घडीमा विवादाष्पद व्यापारिक समूहलाई जिम्मा दिइयो। सरकारले उक्त कम्पनीमार्फत् किन्ने वस्तुका भाउ बजारभन्दा १८ गुणा महँगो भएको प्रमाण बाहिर आइसकेको छ। सरकारले यो तथ्य बाहिर ल्याउने सञ्चारजगत, नागरिक तप्कालाई समेत बदलाको नजरले हेर्ने संकेत देखाइसकेको छ।

सरकारमै रहेका, प्रशासनभित्रका कतिपय संवदेनशील पात्रहरू यतिबेला फोनमा समेत कानेखुसी गरेझैं बोल्छन् वा बोल्नै खोज्दैनन्। डाक्टर, नर्सले त बोल्यो कि कारबाही हुन्छ भनिसकिएको छ। सरकारका देशभर छरिएका प्रोपोगान्डा औजारसमेत प्रश्न उठाउनेमाथि खनिन क्षणभरमा मोर्चाबन्द भइरहेका छन्।

अर्थात्, वैश्विक कोरोना माहामारीमा नेपाल एउटा अलौकिक नमुना मुलुक हो जहाँ तयारी शून्य थियो, जहाँ डाक्टरहरू नै भागाभागको स्थितिको आँकलन गरिरहेका थिए। जहाँ मान्छेको प्राणरक्षा गर्ने सामान खरिद गर्दा समेत भ्रष्टाचार गर्न छाडिन्न, जहाँ अति राजनीतिकरणका कारण समाजले महामारीलाई हेर्ने दृष्टिकोण नै खण्डित–दूषित छ।

धन्य, नेपाल त्यस्तो अनौठो मुलुक पनि हो जहाँ पशुपतिनाथ सम्झेर सबै समस्याबारे आँखा चिम्लिने संस्कृति अझै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय