लकडाउन छ, तर छैन तरकारीको चिन्ता…

एक साता बढी समयदेखि देशमा लकडाउन रहेकाले अहिले सबैतिर तरकारीको हाहाकार छ। तर, झापाको धुलाबारीका जनताले तरकारी के खाने, कसरी छाक टार्ने भन्ने चिन्ताले पिरोलिनु परेको छैन।

किनकि यहाँ अहिले पनि घर घरमै तरकारी आइपुग्छ। रुचीकर तरकारी घरमै किनेर खान पाइन्छ।

मेचीनगर नगरपालिका-९ को फोइडिटा कृषि फारामले जनताको उक्त चिन्तालाई दूर गर्दै घरघरमा तरकारी पुर्याउने व्यवस्था गरिदिएको छ। विभिन्न जातका तरकारी उत्पादन गरिरहेको फारमका सञ्चालकले हरेक दिन टोलटोलमा तरकारी पुर्‍याउछन् र बिक्री गर्छन्।

मंगलबार बिहान मेचीनगर १० को प्रसंशा टोलमा भेटिएका फारम सञ्चालक हरी नेपालले भने, ‘चार दिन भयो, हामीले यसरी सागतरकारी बस्ती-बस्तीमा पुर्‍याउन थालेको।’

तरकारी गाउँबस्तीसम्म पुर्‍याउन फारम सञ्चालकले केरियर प्रयोगमा ल्याएका छन्। एकजना कामदार र दुईजना फारम सञ्चालक त्यसमा खटिन्छन्।

उनीहरूले रायोको साग ३५ रुपैयाँ मुठ्ठा, तटमाटर ५० रुपैयाँ किलो, सिमी र क्याप्सिकन एक सय रुपैयाँ किलोमा दरले बिक्री गरिरहेका छन्। अन्य तरकारी पनि हिजोको बजार भाउ अनुसार नै बिक्री गरिरहेको सञ्चालक चिरञ्जीवी भट्टराईले बताए। क्याप्सिकन साविक बजार मूल्यभन्दा २० रुपैयाँ कममा बिक्री गरिरहेको उनले बताए।

उनले फारमबाट क्याप्सिकन १२० रुपैयाँमा बिक्री गर्दै आएको सुनाए। फारममा बोडी, करेला, खुर्सानी, बेथु, लसुन प्याज लगायतका दर्जन बढी तरकारी फलेको उनीहरूले सुनाए। फारममा उत्पादित तरकारी माग अनुसार बिक्री गर्ने योजना रहेको हरिको भनाइ छ।

स्थानीय दिपेन्द्र कन्दङ्वाले गाउँमा नै तरकारी किन्न पाउनु खुशीको कुरा भएको बताए । यस्तो सन्त्रासको यो बेला घरमै तरकारी किन्न पाउनु आफूहरूका लागि निकै सुरक्षीत रहेको उनको भनाई द्ध।

दिपेन्द्रले मात्रै होइन, स्थानीय मुना खनालले पनि घरमै तरकारीको गाडी आएपछि साग किनेर खान पाएको बताइन्। उनले एकसाता अघिदेखि साग खान नपाएको तलतल मेटिएको सुनाइन्। बजारमा नपाइने र ताजा तरकारी यो बेला घरमा नै पाउनु भाग्यको कुरा भएको उनको भनाई छ।

प्रसंशा टोलमा मात्रै सय जना बढी स्थानीयले एकसाथ तरकारी किनेको चिरञ्जीवीले बताए। बिक्री भन्दा पनि संकटको बेला ताजा तरकारी सुपथ मूल्यमा गाउँघरमै उपलब्ध गराउनु आफूहरूको लक्ष्य भएको चिरञ्जीवीको भनाइ छ।

फारम सञ्चालकले तरकारी बिक्रीका लागि जिल्ला प्रशासन कार्यालय झापा, मेचीनगर नगरपालिका र इलाका प्रहरी कार्यालय धुलाबारीबाट अनुमतिसमेत लिएका छन्। गाडीमा तेल हाल्नका लागि उनीहरूलाई स्थानीय सरकारले नन्दा पेट्रोल पम्पमा व्यवस्था मिलाइ दिएको छ।

आफूहरुलाई सो पम्पले सहजरूपमा तेल उपलब्ध गराइ रहेको हरिले सुनाए। मेचीनगर-९ का वडाध्यक्ष गोपाल बुढाथोकीको आग्रहमा आफूहरूले तरकारी गाउँघरमा नै लगेर बिक्री गरिरहेको उनीहरूको भनाइ छ। उनीहरूले कोरोना संक्रमणबाट जोगिने सबै उपाय अपनाएर तरकारी बिक्री वितरण गरिरहेको बताए।

गाडीमा स्प्रे,कामदारलाई मास्क, ग्लोब, सेनिटाइजर लगायतको प्रबन्ध गरेर काम गरिरहेको चिरञ्जीवीको भनाइ छ।

हरि,चिरञ्जीवी, राजेन्द्र कडरिया र रामहरि नेपालको संयुक्त लगानी रहेको फारम ६ बिघामा छ। धुलाबारीमा मात्रै बिक्री गर्ने हो भने फारमको उत्पादनले एक महिना मज्जाले धान्ने हरिले बताए। अहिलेको कहरमा स्थानीयलाई ताजा सागसब्वी उपलब्ध गराउन पाउँदा फारमको सार्थकता झल्केको सञ्चालक राजेन्द्रले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय