चार दिनभित्र हजार बढी विदेशी पर्यटकलाई नेपालबाट उडाइने
नेपाल घुम्न आएका युरोप, अमेरिका, अस्ट्रेलियालगायत देशका पर्यटक उद्धार गरी उनीहरूको घर पठाउन काठमाडौंबाट चार्टर उडान गर्न लागिएको छ। यसका लागि नेपाल पर्यटन बोर्डसँगको संयोजनमा सम्बद्ध देशका यहाँस्थित दूतावासले काम गरिरहेका छन्।
राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डका अनुसार मुलुकका विभिन्न २० ठाउँबाट १ हजार ३ सय ३१ विदेशी पर्यटकलाई उद्धार गरी काठमाडौं ल्याइएको छ। ती पर्यटकलाई बुद्ध एयर, यती एयरलाइन्स, तारा एयरलगायतले उद्धार उडान गरी काठमाडौं ल्याएका हुन्।
कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै पछिल्लो पटक अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, श्रीलंका, न्युजिल्यान्ड तथा युरोपका विभिन्न देशका दूतावासले नेपालबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन काम गरिरहेका छन्।
बोर्डका अनुसार आज चैत १८ गते मंगलबार कतारको दोहाबाट आउने कतार एयरवेजको जहाजले अमेरिकी पर्यटकलाई दोहा हुँदै वासिङटन डिसी लैजाने छ।
त्यसैगरी १९ गते बुधबार नेपाल वायुसेवा निगमको २ सय ७८ सित क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको वाइडबडी जहाजले अस्ट्रेलिया र न्युजिल्यान्डका पर्यटकलाई काठमाडौंबाट सिधा अस्ट्रेलियाको ब्रिस्बेन लाने तालिका छ।
त्यस्तै चैत २० गते बिहीबार कतार एयरवेजले नै युरोपका पर्यटक लिएर जाने तालिका बनाइए पनि यो उडान अझै निश्चित नभइसकेको बोर्डले जनाएको छ।
आगामी शुक्रबार चैत २१ गते नेपाल वायुसेवा निगमकै जहाजले श्रीलंकाली पर्यटक बोकेर कोलम्बो जाने तालिका बनाइएको छ।
उद्धार उडानमा जान चाहने पर्यटकलाई सम्बद्ध दूतावासले अनलाइनमार्फत् फारम भराइरहेका छन्।
नेपालका लागि अस्ट्रेलियाका राजदूत पिट बडले ब्रिस्बेनका लागि हुने उद्धार उडानमा सहभागी हुन नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा अब चार सिटमात्र बाँकी रहेको ट्विटरमार्फत् जानकारी दिएका छन्।
चितवन, पोखरालगायत गन्तव्यबाट उद्धार गरिएका अस्ट्रेलियाली पर्यटकलाई ठमेलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लैजाने तयारी गरिएको उनले बताएका छन्।
यसैगरी काठमाडौंस्थित बेलायती दूतावासले आफ्ना नागरिकलाई नाम, पासपोर्ट नम्बर, सम्पर्क विवरण, जन्ममिति र नेपालमा बसिरहेको ठाउँबारे इमेल गर्न आग्रह गरेको छ।
बेलायती राजदूत निकोला पोलिटले नेपालमा लकडाउन अवधि अझै थपिएको र व्यापारिक उडान पनि रोकिएका कारण आफ्ना नागरिकलाई आगामी वैशाख ३ भित्रको टिकट बुक गरेको भए त्यस्ता टिकट पैसा फिर्ता हुने खालको हो कि होइन, बिमा गरिएको छ कि छैन सबै राम्रोसँग बुझ्न आग्रह गरेकी छिन्।