विदेशबाट आएका नागरिकको विवरण संकलन गर्दै चितवन

हेल्थपोस्ट नेपाल

चितवनमा विदेशबाट आएका व्यक्तिको विवरण संकलन गर्न थालिएको छ। जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर प्रत्येक वडामा विदेशबाट आएका व्यक्तिको नाम संकलन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

फागुन अन्तिम सातादेखि आइतबारसम्म ५ सय ४० व्यक्ति विश्वका विभिन्न देशबाट भित्रिएको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी ईश्वर सिङखडाले जानकारी दिए। वडा-वडामा तथ्याङ्क संकलन गर्ने काम भइरहेकाले यसको विवरण अझै थप हुन सक्ने सिङ्खडाको भनाई छ।

यो अवधिमा सबैभन्दा धेरै भारत, कतार, दुवईलगायतका देशबाट चितवन भित्रिएका छन्। विदेशबाट फर्किएका व्यक्तिको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गर्नका लागि तथ्याङ्क संकलन गरिएको उनले बताए।

‘विदेशबाट आएका कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिए क्वारेनटाइनमा राख्न पनि यस प्रकारको तथ्यांकले मद्दत पुग्छ’, उनले भने, ‘विदेशबाट आउने व्यक्तिमा कोरोनाको संक्रमण बढी हुने सम्भावना हुन्छ। त्यसकारण उनिहरूलाई सुरक्षित तरिकाले घरमै बस्न अनुरोध गरेका छौँ।’ कोरोनाको कुनै लक्षण देखिएमा उपचारको समेत व्यवस्था मिलाएको उनले बताए।

यो अवधिमा सबैभन्दा बढी बाहिरी मुलुकबाट भरतपुर महानगरपालिकामा भित्रिएका छन्। यहाँ विभिन्न देशबाट २ सय ६५ जना भित्रिएका छन्। उनीहरू सबै अहिले होम क्वारेन्टाइनमा रहेको महानगरपालिकाका प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए। ‘हामीले विदेशबाट आएका सवै जनालाई वडाध्यक्षको निगरानीमा होम क्वारेन्टाइनमा बस्न भनेका छौँ’, उनले भने, ‘रुघा खोकी ज्वरो आएका व्यक्तिहरूलाई उपचार पनि गरिरहेका छौँ।’

अहिलेसम्म विदेशबाट आएका व्यक्तिलाई महानगरपालिकाले आफूले बनाएको क्वारेन्टाइनमा राखेको छैन् भने, विदेशबाट आएका व्यक्तिको सामान्य स्वास्थ्य परीक्षण गरेको महानगरपालिकासँग तथ्याङ्क छैन। भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य संघ चितवन र गंगोत्री होटलमा गरी ४५ बेडको सहितको क्वारेन्टाइन बनाएको छ। आवश्यक परेमा अन्य होटलमा पनि क्वारेन्टाइन बनाउने तयारी भएको प्रशासकीय अधिकृत जोशीले बताए।

भरतपुरबाट जानेलाई पनि राखिन्छ क्वारेन्टाइनमा

माडी नगरपालिकाले पनि विदेशबाट आउने व्यक्तिमा कोरोना संक्रमण भएको हुन सक्ने भन्दै उनीहरूको खोजि सुरु गरेको छ। माडीमा चैत्र महिना यता ५२ जना विदेशबाट आएको तथ्याङ्क छ।

विदेशबाट भित्र नदिनका लागि दुई तिरको सिमाना बन्द गरेको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिए। ‘अनावश्यक माडीमा बाहिरी मान्छे छिर्न दिँदैनौं। हामीले दुई तिरको नाका बन्द गरिसकेका छौँ,’ प्रमुख ढकालले भने, ‘भरतपुरबाट आउने व्यक्तिलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी गरेका छौँ।’

माडी नगरपालिकाले त्यहाँका क्याम्पस र स्कुलमा गरी सय बेड सहितको क्वारेन्टाइन बनाएको छ। यसअघि भारतबाट आएका २० जनालाई माडी क्याम्पसको क्वारेन्टाइनमा राखेको उनले बताए। नयाँ आउने व्यक्ति अनिवार्य माडी नगरपालिकाको क्वारेन्टाइमा बस्नुपर्ने उनको भनाई छ।

घरपरिवार नै मान्दैनन् क्वारेन्टाइनमा राख्न

रत्ननगरपालिकामा विभिन्न देशबाट ४५ जना भित्रिएका छन्। उसले पनि अहिलेसम्म एक जनालाई पनि क्वारेन्टाइनमा राखेको छैन। ‘हामीले विभिन्न स्थानमा आइसोलेसन तथा क्वारेन्टाएन बनाएका छौँ। तर, सवैजना घरमा नै बस्न रुचाउनुहुन्छ। उनीहरूको घरपरिवारले पनि वस्न दिनुहुँदैन,’ रत्ननगरपालिकाका प्रमुख नारायण वनले भने, ‘छिमेकीले भनेको आधारमा उनीहरूको अवस्था हेरेर निगरानि गरिरहेका छौँ।’

राप्ती नगरपालिकाको तथ्याङ्ककमा यो अवधिमा ६५ जना विदेशबाट भित्रिएका छन्। नगरपालिकाले उनीहरूलाई राख्नको लागि भन्दै क्वारेन्टाइन त बनाएको छ। तर, उनिहरू सबै आ–आफ्नो घरमा बसेका छन्। कोरोना भाइरसको शंका लागेमा एम्बुलेन्सको व्यवस्था गरेर भरतपुर पठाउने व्यवस्था गरिएको नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिइन्। यस नगरपालिकाले २२ बेडसहितको क्वारेनटाइन बनाएको छ।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले पनि विदेशबाट आएका व्यक्ति खोजिरहेको छ। उसले अहिलेसम्म २५ जना गाउँपालिकामा विदेशबाट आएको बताएको छ। उनिहरूलाई राख्न क्वारेन्टाइनको व्यवस्था समेत गरिएको छ। तर, त्यो क्वारेन्टाइनमा अहिले एक जना पनि नभएको गाउँपालिका प्रमुख गीता कुमारी गुरुङले जानकारी दिइन्।

वडा अध्यक्ष, सदस्य, प्रहरी प्रशासन र स्वास्थ्यकर्मीको टोलीले गाउँपालिकामा भित्रिएका व्यक्तिहरूको निगरानि गरेको उनले बताइन्। यसैगरी फागुन अन्तिम सातादेखि अहिलेसम्म खैरहनी नगरपालिकामा ५१ र कालिकाका नगरपालिकामा ३४ भित्रिएको प्रशासनले बताएको छ। त्यहाँपनि सबै जना होम क्वारेन्टाइनमा बसेको प्रशासनको भनाई छ।

चितवनमा साडे ५ सय क्वारेन्टाइन तथा आइसोलेशन बेड तयार

चितवनका स्थानीय तहले कारोनाका आशंका गरिएका व्यक्तिलाई राख्नका लागि क्वारेन्टाइन बनाउन तिब्रता दिएका छन्। जिल्लाका अस्पताल तथा सार्वजनिक स्थलमा गरी साढे पाँच सय शैयाको क्वारेन्टाइन तथा आइसोलेशन स्थापना गरिसकिएको छ।

विशेष गरि भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, कालिका नगरपालिका, इच्छाकामना गाउँपालिकाले र जिल्लाका अस्पताललहरूले आइसोलेसन तथा क्वारेन्टाइन बनाइरहेका जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। कार्यालयका सुचना अधिकारी ईश्वर शिंखडाका अनुसार, आवश्यकता अनुसार जिल्लामा क्वारेन्टाइन थप गरिनेछ।

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ७०, भरतपुर अस्पताल ३०, कलेज अफ मेडिकल साइन्सेज र चितवन मेडिकल कलेज १०/१० बडे तयार गरिएको छ। त्यसैगरी रत्ननगर नगरपालिकाको गुञ्जमान अस्पताल र बकुलहर अस्पताल गरी २०, सामुदायिक अस्पताल बछ्यौली १५, होटल स्टार बैंकुइट रत्ननगरमा एक सय १५, सौराहाको मारुनीमा ३०, रत्ननगर नगरपालिका–६ मा रहेको हेल्थपोष्टमा १० बडे रहेका छन्।

यस्तै, खैरहनी नगरपालिकामा ६६ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ। वडा नम्बर ६ डिजने पार्टी प्यालेसमा २०, सैनिक आवासीय महाविद्यालय ३२, रुरल रिकन्स्ट्रक्शन नेपालमा १४ र राप्ती नगरपालिकामा रहेको बुद्धशान्ति माविमा १५ बडे रहेको छ।

कालिका नगरपालिकाको स्वास्थ्य चौकी भवनमा १०, आधारभूत मावि जुटपानीमा १५ बेडको क्वारेन्टाइन सञ्चालन गरिएको छ। माडी नगरपालिकामा माडी मावि र माडी क्याम्पसमा गरी १०५ बेड, इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १० र जिल्ला कारागार चितवनमा १५ बेडको क्वारेनटाइन स्थापना गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *