लकडाउनमा घर-घरै सामान पुर्‍याइदिन्छौं : आपूर्ति राज्यमन्त्री दुगड

कोरोना संक्रमणको जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले पूरै देश ‘लकडाउन’ गरेको छ। यस्तो अवस्थामा आम नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने भनेर सरकारले भनिरहेको छ। सरकारको तयारी र व्यवस्थापनका बारेमा हेल्थपोस्ट नेपालका अशोक अधिकारीले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडसँग कुराकानी गरेका छन्ः

नेपालमा लकडाउन एक साता लम्बियो। देशभरि आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रालयले के–कस्ता तयारी गरेको छ?

नेपालमा लकडाउन लम्बिएपछि हामीसँग भएको स्टक घट्ने अवस्था त आउँछ। तर, पनि अहिलेको अवस्थामा हामी सुरक्षित छौँ। हामीसँग तीनदेखि छ महिनासम्म पुग्ने सामग्री भण्डारण छ। त्यसमा पेट्रोलियम पदार्थ, खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्री पर्याप्त भण्डारण गरिएको छ। खाना पकाउने ग्यास आयात भइरहेको छ। त्यसैले संवेदनशील ढंगले हामीले काम गरिरहेको हुनाले भयावह अवस्था आउनै दिँदैनौं।

लकडाउनको समयका खाद्य पदार्थको पहुँच सहज होस् भन्ने उद्देश्यले काम गरिरहेका छौं। पसलहरू खुलेमा हुल–हुल ग्राहक आउने सम्भावना रहन्छ। भीड गर्नु जोखिमपूर्ण हुन्छ। त्यसैले उच्च सुरक्षा र सतर्कताका साथ बिहान ४ देखि ७ बजेसम्म पसलहरू खोलिरहेका छौं। ठूल्ठूला व्यापारिक प्रतिष्ठानहरू पनि समय मिलाएर जोखिन नहुने गरी खोल्ने तयारी गरिरहेका छौं। अहिलेसम्म घरमा स्टक राखिएको छ। तर, घरको स्टक पनि विस्तारै सकिँदै जान्छ। त्यसैले घरमै सामग्री उपलब्ध गराउने व्यवस्था गराइरहेको छु। साथै होम डेलिभरीसँगै अनलाइन सपिङलाई पनि प्रभावकारी बनाउन हामीले तयारी गरिरहेका छौं।

निजी क्षेत्रका व्यापारी, व्यवसायीहरूसँग कसरी समन्वय गरिरहनु भएको छ?

विशेषतः निजी क्षेत्रलाई चलायमान बनाउन सकेमा दैनिक उपभोग्य सामग्रीको अभाव कतै पनि हुँदैन। अनलाइन सपिङ र होम डेलिभरीको विषयमा निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान र व्यवसायीहरूले चासो देखाउनु भएको छ। ‘उचित मूल्य लिएर सामग्री घरमै डेलिभरी गर्छौं’ भनेर उहाँहरूका प्रतिवद्धता आएका छन्। हामीले उचित मूल्य लिएर र मूल्यबृद्धि नगरी सामग्री ढुवानी गर्नुहोला भनेर आग्रह गरेका छौं। निजी व्यापारिक प्रतिष्ठानले आफ्ना सप्लायर्समार्फत घरघरमै पुर्‍याउने व्यवस्था गर्नेछन्। ढुवानी गर्नेहरूका लागि सरकारको तर्फबाट पासको व्यवस्था मिलाएका छौं। शुक्रबारबाट यो प्रक्रिया सुरू भइसकेको छ।

निजी व्यापारिक प्रतिष्ठानहरूले सामग्री ढुवानी कसरी गर्दैछन् भन्ने विषयमा सरकारले अनुगमन गरेको छ कि छैन?

अवश्य पनि। हामीले पास उपलब्ध गराएका व्यवसायीहरूले के–कसरी सामान पुर्‍याउँदैछन् भनेर अनुगमन भइरहेको छ। सामान शुद्ध र ताजा हुनुपर्‍यो। मूल्य बढी लिनु भएन। तत्कालै सेवा दिनुपर्‍यो, प्रभावकारी हुनुपर्‍यो। ठग्ने प्रवृत्ति हुनुभएन।

लकडाउनलाई दृष्टिगत गरेर बजार बिहान मात्रै खोलिँदैछ। तर, अब बेलुका पनि खोल्ने व्यवस्था मिलाउँदैछौं। महानगर, नगर, गाउँपालिका र टोल–टोलसँग समन्वय गरेर बजार खुल्नेछन्। र, स्थानीय सरकारका प्रतिनिधिले त्यहाँ अनुगमन गर्नेछन्। एकैपटक हुल पनि नहोस्। एक मिटरको ग्याप राखेर सामग्री खरिद गर्ने व्यवस्था मिलाउने र घर फर्किहाल्ने गरी। व्यवस्था मिलाइँदैछ। भोकमरी लाग्यो भने अर्को अवस्था आउन सक्छ, त्योभन्दा पहिल्यै सरकारले दूरदर्शी निर्णय गर्नेछ।

अनि, श्रमिक र ज्यालादारी मजदुरका लागि चाहिँ के व्यवस्था गर्नुुहुन्छ?

रिक्सा, ठेलावाला तथा आर्थिक रूपमा विपन्नलाई घरसम्म पुर्‍याउने व्यवस्था गर्दैछौं। प्रदेश सरकारलाई पनि श्रमिकका सवालमा यही निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छौं। सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा धेरै व्यक्ति फसेका छन्। उनीहरूलाई घरसँग पुर्‍याउने व्यवस्था मिलाइँदै छ। बसलाई स्यानिटाइज्ड गरेर, सुरक्षाको सम्पूर्ण प्रत्याभूति गरेर सीमानाकामा फसेकाहरूलाई घरसम्म पुग्ने व्यवस्था मिलाइने छ। उपचार र घरसम्म पुग्ने व्यवस्था भएपछि उनीहरूलाई पनि ढुक्क हुन्छ।

लकडाउनको समयमा आपूर्ति व्यवस्था प्रभावकारी र सुस्त बनाउन सरकारको तयारी के–कस्तो छ?

नेपाल सरकारका तर्फबाट भारत सरकारसँग उच्च तहमा कुरा भइरहेको छ। निरन्तर सम्पर्कमा छौं। विशेषतः खाना पकाउने ग्यासको आपूर्ति चुस्त र प्रभावकारी बनाउनका लागि आवश्यक मात्रामा आयातका लागि भारत सरकारसँग कुरा भइरहेको छ। भारत सरकारको तर्फबाट पनि ग्यासमा कुनै किसिमको समस्या आउँदैन भन्ने आश्वासन पाएका छौं। अरू कुनै अत्यावश्यक सामग्री ल्याउनु परेमा काठमाडौंस्थित भारतीय राजदूतावाससँग समन्वय गरेर पनि ल्याइरहेका छौं। स्वदेशी उद्योगहरूलाई पनि उनीहरूले उत्पादन गर्ने सामग्री उत्पादन गर्नका लागि सरकारले दिने सम्पूर्ण सुविधा उपलब्ध गराएका छौं। मजदुरहरूलाई सम्पूर्ण रुपमा सुरक्षित गरेर र उद्योगहरूले पनि पूर्णरुपमा सुरक्षा अपनाएर उत्पादन गर्ने व्यवस्था मिलाइएको छ। सामग्री ढुवानी गर्ने गाडीहरूलाई पासको व्यवस्था गरेर ठाउँ–ठाउँमा पुर्‍याउने प्रबन्ध गरिएको छ।

खाद्य संस्थानमा अहिले कति सामग्री मौज्दात छ?

अहिले हामीसँग केहीको पनि अभाव छैन। खाद्य संस्थानको गोदामहरूमा खाद्यान्न, तेल, दालसहित अन्य दैनिक उपभोग्य सामग्रीहरू स्टक छ। ३ महिना कुनै किसिमको समस्या आउँदैन। मौज्दात सामग्रीले ६ महिनादेखि १० महिनासम्म चल्छ। पेट्रोलियम प्रडक्ट पनि पर्याप्त छ। त्यसैले सरकारका तर्फबाट म यही भन्न चाहन्छु, सरकारले सम्पूर्ण सामग्रीको पर्याप्त व्यवस्था गरेको छ। ढुक्क हुनु भएहुन्छ। हामी कुनै सामग्रीको अभाव हुन दिँदैनौं।

अनि कालोबजारीको सामग्री लुकाउने, मूल्य बढाउने र कृत्रिम अभाव सिर्जना गरेको विषयमा तपाईहरू कतिको जानकारी हुनुहुन्छ? सरकारले यस्ता व्यापारीलाई कसरी एक्सन लिन्छ?

विश्वव्यापी महामारीका बेला कालोबजारी गर्नेलाई सरकारले छुट दिँदैन। हामीले त्यस्ता केही व्यापारीलाई कारबाही गरेका छौं। अनियमितता गर्ने, कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कानुनी कारबाही हुन्छ। त्यसमा हामीले शून्य सहनशीलता अपनाएका छौं। संवेदनशील समयमा पैसा मात्रै कमाउनतर्फ नलागेर सहयोगको भावना राख्न अनुरोध पनि गरेका छौं। उद्योगी व्यवसायीले पनि मानवता र उदारता देखाउने समय हो। विश्वका ठूल्ठूला व्यापारीले दान दिएर हजारौं मानिसलाई सेवा गरिरहेका छन्। नेपाली व्यवसायीलाई पनि सहयोग गर्न र आर्थिक विपन्न मान्छेको रोजीरोटी गुमेका बेला मानवीय सद्भाव र सहयोग गर्नुहोस् भनेका छौं।

दुरदराजका स्थानमा उपभोग्य सामग्रीको आपूर्ति पनि उत्तिकै चुनौतीपूर्ण छ। त्यहाँ उत्पादित सामग्री काठमाडौं ल्याउन र दुर्गम क्षेत्रमा सामग्री पठाउने व्यवस्था कसरी गर्नु भएको छ?

हामीले उद्योग व्यवसायीहरूका छाता संगठनसँग, जिल्लास्थित उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं। सम्बन्धित जिल्लाहरूमा कुन सामग्री बढी खपत हुन्छ, र काठमाडौंबाट कसरी पठाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं। ट्रान्सपोर्टेसनका लागि आवश्यक पर्ने सरकारी सहयोग हामीले पुर्‍याइरहेका छौं। जिल्लाबाट काठमाडौं सामान ल्याउने र तिनै गाडीमा काठमाडौंबाट जिल्लामा सामान लाने प्रबन्ध गरिएको छ। दुर्गम हिमाली जिल्लाहरूमा हेलिकप्टर र जहाजबाट पनि सामान ढुवानी गरिएको छ।

सरकार संवेदनशील छ। अहिले पनि कर्मचारीहरू मन्त्रालय आउँछन्। सबै आ–आफ्नो कामका निरन्तर खटिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली आफै चिन्तित हुनुहुन्छ। उहाँ स्वास्थ्यका कारणले निवासमै बसेर पनि सबै मन्त्रालयका काम निरन्तर हेरिरहनु भएको छ। उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिले पनि काम गरिरहेको छ। सरकारले नागरिकको दैनिकीमा कुनै समस्या आउन दिँदैन। म आश्वास्त पार्न चाहन्छु।

अनियमितता गर्ने, कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कानुनी कारबाही हुन्छ। त्यसमा हामीले शून्य सहनशीलता अपनाएका छौं। संवेदनशील समयमा पैसा मात्रै कमाउनतर्फ नलागेर सहयोगको भावना राख्न अनुरोध पनि गरेका छौं। उद्योगी व्यवसायीले पनि मानवता र उदारता देखाउने समय हो।

संघीय सरकारले प्रदेशहरूसँग कसरी समन्वय गरिरहेको छ?

संघीय सरकारले सातै प्रदेशका सरकारहरूलाई कोरोना भाइरसको जोखिम हुनै नदिने गरी काम गर्न निर्देशन दिइसकेको छ। प्रदेश सरकारहरूसँग निरन्तर समन्वय भइरहेको छ। प्रदेश र स्थानीय सरकारहरूसँग पनि समन्वय गरेर सरकारले काम गरिरहेको छ।

जनताको सुरक्षाको कुरा गर्न दैनिक कामका खटिने मन्त्रालयका कर्मचारीदेखि मन्त्रीहरूसम्मले आफ्नो सुरक्षाको प्रबन्ध कसरी गर्नुभएको छ? काम गर्ने सवालमा धेरै मान्छे भेट्नुपर्ने हुन्छ, कसरी सुरक्षित रहनु भएको छ?

एकदमै ठिक प्रश्न गर्नुभयो। सर्वसाधारण, सांसददेखि मन्त्रीसम्म घरबाट बाहिर निस्किएका छैनन्। कसैले त घरबाट बाहिरको सडकसम्म पनि हेरेका छैनन्। तर, हामीले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्ने हुन्छ। मन्त्रालय जानैपर्छ। मन्त्रालयतमा आउने सेवाग्राहीसँग टाढै रहेर र उच्च सतर्कता अपनाएर काम गरिरहेका छौं। तर पनि कही न कही हामीबाट लापरबाही हुनसक्छ। किनभने हामीसँग काम धेरै छन्। चुनौती धेरै छन्। यस्तो अवस्थामा हामीले हाम्रो स्वास्थ्यको ख्याल गर्नैपर्छ। बेलायतको राजकुमारदेखि प्रधानमन्त्रीसम्मलाई कोरोनाको संक्रमण देखिएकाले अरू बढी सतर्क भएर काम गर्नुपर्छ। उर्जा र जाँगर कायम राखेर काम गर्नुपर्ने छ। आफ्नो सुरक्षा र राष्ट्रको जिम्मेवारी दोहोरो भूमिकामा हामी छौं। हामी फिल्डमा जानैपर्छ। सुरक्षा निकायले पनि उच्च सतर्कता अपनाएर काम गरिरहेका छन्। यस्तो अवस्थामा हामी सबैले उच्च सतर्कता अपनाउनै पर्छ। यसका साथ मेरो अपील पनि छ, सरकारले गरेको काममा नागरिकको साथ र सहयोग रहोस्। महामारीसँग लड्न हामी सफल हुनेछौं।

कोरोनाको विश्वव्यापी महामारीबाट मुक्त हुन राज्य र नागरिकले निभाउनु पर्ने जिम्मेवारी चाहिँ के–के हुन्?

यस प्रकृतिको महामारीको निराकरण भनेकै संयमता हो। आत्मविश्वास राख्नुपर्छ। भगवानमाथि भरोसा राख्नुपर्छ। हामी अहिले उच्च जोखिममा छैनौं। भारतमा थर्ड स्टेज नपुगेसम्म नेपालमा पनि जोखिम उच्च हुँदैन। नेपाल र भारतबीच खुला नाका भएकाले पनि अलि बढी जोखिम हुने सम्भावना रहन्छ। तर, भारतले तीन साता लामो लकडाउन गरेको छ। नेपालले त भारतले भन्दा एकदिन अगाडि नै लकडाउन गरिसकेको थियो। त्यसैले घरबाट बाहिर ननिस्किऔं। जति र जस्तो छ त्यही खाएर बसौं। तर, घरबाट बाहिर ननिस्किऔं। कसैलाई केही समस्या पर्‍यो भने हाम्रो हटलाइनहरू छन्। त्यसमा सम्पर्क गर्नुहोला। सरकारले सहयोग गर्नेछ।

यति भएमा नेपालमा कोरोना भाइरसको जोखिम सजिलै नियन्त्रणमा आउने तपाईको विश्वास हो?

पक्कै पनि। यो चेनलाई ब्रेक गर्नकै लागि पनि भारतभन्दा पहिल्यै लकडाउन गरिसकेका थियौं। हाम्रो दूरदर्शिता हो यो। भारतभन्दा पहिल्यै लकडाउन गरेर जनतालाई सुरक्षित राख्ने काम गरेका छौं। बाहिरबाट आउने नेपालीलाई सतर्क बनाएर १४ दिनको क्वारेन्टाइन र निगरानी गरेरै प्रवेश दिएका छौं। भारतबाट आउने नेपालीलाई पनि सीमानाकामा क्वारेन्टाइनमा राखेर तीन तहको स्वास्थ्य जाँचपछि घर पठाएका छौं। समग्र सरकारले कोरोना भाइरसको संक्रमण नहोस् भनेर उच्च सतर्कता अपनाएको छ। हामी सबै सचेत बने नेपाल राष्ट्रमा कोरोना भाइरस सहजै रोकथाम हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय