एउटा डाक्टरको मनाेवाद : कोभिड-१९ ले देखाएको हाम्रो धरातल

समयले जेठ महिना २०७७ मा टेकेको छ। एउटा सुक्ष्म भाइरसले विश्वलाई जिस्काइरहेको छ। कतै तड्पाइरहेको छ । कतै आजित बनाएको छ। कतै भने छोड्ने क्रममा छ । कोभिड-१९ नामक त्यो भाइरस विश्व भ्रमणमा निस्किएर नेपालमा पनि प्रवेश गरेको पनि ३ महिना बितिसकेको छ । मान्छेहरुको आवतजावत कम देखिन्छ बाटोमा ।

लकडाउन भन्ने गरेका छन् जतासुकै भाइरसबाट बच्नलाई। गाडी चलेका छैनन् । हवाइ सेवा पनि बन्द छन् । हतास देखिन्छन् प्रशासनिक निकायहरु। त्रसित देखिन्छन् आम मानिस। लड्दैछन् स्वास्थ्यकर्मी। चुनौतीपूर्ण अवस्था छ सम्पूर्ण विश्वलाई। स्वास्थ्यकर्मी पूरै तनावग्रस्त छन्। कतिलाई त भाइरसले समातिसकेको पनि छ। कोही अरुको लागि युद्ध गर्दैछन् । कोही आफ्नै जीवन धान्नका लागि युद्ध गर्दैछन्, आइसीयुमा।

स्वास्थ्यको विज्ञता एकै दिनमा खोजेर पढेर सिकेर ल्याउन सकिने कुरो भएन । जति स्वास्थ्यकर्मी कार्यरत छन् त्यो भन्दा रातारात बढी उत्पादन हुने कुरा पनि भएन । साह्रै अभाव खट्किएको छ स्वास्थ्यकर्मीको । हुन त विश्वभर नै अवस्था उस्तै छ। इटली स्पेनमा जस्तै अभाव छ । पहिले पहिले राष्ट्रले स्वास्थ्यकर्मीलाई माया गर्न कहिल्यै जानेनन्। पेशागत सुरक्षा आदिको कुरामा सधैं नाइनास्ती नै गरिरह्यो। माया गरेर राख्न कहिल्यै सकेन। त्यसैले त हो धेरै जना पलायन भए। कति रहरले त कति बाध्यताले । देशलाई माया गरे देशले माया गर्छ भन्ने कथन पुराणमा मात्रै रहेछ !

उपलब्ध साधन, श्रोत र ज्ञानले सकेसम्म स्वास्थ्यकर्मी अहिले लड्दैछन् भाइरससँग । तर अभाव छ सुरक्षा सामग्रीको। अभाव छ हस्पिटलको । अभाव छ आइसियु, भेन्टिलेटर आदिको । पहिले पनि अभाव नै थियो। बेड खालि नभएर निजी अस्पतालमा पठाउन पर्दाका हरेक एमर्जेन्सी ड्यूटी मेरा स्मृतिमा ताजा नै छन् । मनमनै साइत परेनछ बिरामीको भनेर चित्त बुझाउन पर्यो । दुई चार शब्द कोर्न र लेख्न बाहेक केही गर्न सकिनँ।

त्यो हरेक दिन झेलेका अभावहरु अहिले कोभिडले छर्लङ्ग पारेको न हो । सम्पूर्ण स्वास्थ्य प्रणाली इतिहासले कहिल्यै नदेखेको नाङ्गो बनेको छ । कमजोर स्वास्थ्य ब्यबस्थापन र अपरिपक्व बिपत् ब्यबस्थापन सबैसामु उदाङ्ग बनेको छ। सरकारी अस्पताल बाहेक अरु अस्पताल पन्छिने रहेछन् बिपतमा। अरु बेला त निजि कलेज सम्बन्धन दिन होडबाजी नै थियो जस्तो लाग्छ हरेक सरकारलाई ! रष्ट्रलाई समस्या पर्दा मुसो जस्तै दुलोमा पस्ने रहेछन् । धर्म नभएका निजि अस्पताल र नियन्त्रण गर्ने खुबी नभएको सरकार भएपछि कसको के लाग्थ्यो र ! तर पनि होस खुल्दैन कसैको ।

सरकारी अस्पताललाई गाली गर्ने नै हुन् सबैले । बेलामौकामा त्यहाँका समस्यालाई कसैले चासो लिएको भए पो समस्या समाधान हुन्थे । अस्पतालको उपचारात्मक सेवा सधैं कुपोषित नै थियो । स्वाथ्यकर्मिको अभाव छ । अस्पताल बेडको अभाव छ । औषधि सलाइन आदिको अभाव छ । बाटोमा सम्म उपचार गर्नुपर्ने बाध्यता छ । साधनहरुको अभाव छ । पिपिईको अभाव छ । खाना खाने सामग्रीको अभाव छ ।

एक शब्दमा भन्नुपर्दा ” अभाव ” मात्र छ। अभाव नभएको त केवल सामाजिक सन्जालको प्रयोग होला । स्वास्थ्यकर्मी आफ्ना घर जान डराएको अवस्था छ। भाइरस घर पुग्ने हो कि भन्ने डर छ उनिहरुलाई । उनीहरुका घरमा सबै चिन्तित छन् । मुटु काप्ने गर्छ सधैँ परिवारजनको । एक किसिमले भन्नुपर्दा आँखाले नदेखिने जीवाणुसंगको युद्धमा पठाइएको मानसिकता छ।

कसैका श्रीमान , कसैका बाउ ,आमा कसैका छोरा ,छोरी । सबैको मनमा कोभिडको डढेलोको पिरलो छ । अहिल्यै जागिर छोड्न भनी भावनात्मक ब्ल्याकमेल सबैलाई हरेक दिन हुने गर्छ । अग्रपंक्तिमा खटिनुपर्दा भरखरै डाक्टर हुन पुगेका जुझारु डाक्टर पनि आतिएका छन् । संसारको क्रूर स्वरुपबाट छिटो अवगत हुँदै छन् । घरमा बस्न भनेर लकडाउन गरेपनि अटेरी मान्छे हिँड्न छोडेनन् । विदेशबाट स्वदेश फर्किनेहरु क्वारेन्टाइनमा बस्न हस्ताक्षर गरेपनि आफ्नो वचन तोडेर समाजमा भाइरस फैलाए । घरमा बस्न अल्छी लागेर बाहिर निस्किने साहासीहरुले भाइरसलाई लिएर घर पुगे। समाजमा सारे । घरमा पनि सारे। सुरक्षासामग्रीको अपुग हुनाले काम गर्ने स्वास्थ्यकर्मीबाट अरुलाई पनि नचाहँदा पनि सर्न पुग्यो ।

अब त केवल आशा छ कुनै भ्याक्सिनको कि त प्रकृतिको नियन्त्रणको । समयमा सचेत नहुनाको परिणाम त हो । कर्म अनुसारको फल । मास्क पन्जा लगाएर बिरामी जाँच्नुस् र खाना पकाउन पनि PPE माग्ने मानसिकता छ भनेर वक्तव्य दिने र राता रात स्वास्थ्यविद हुन पुगेका जिम्मेवार मानिएका ब्यक्ति पनि अहिले पुर्पुरोमा हात राख्दै पाछुताउँदै छन् ।

मान्छेहरु घरमा बस्दा बस्दै आजित भएर लकडाउनको अवज्ञा गर्दै सरकारको बिरोध गर्न थाले। बाटोमा हिड्न थाले । तर के थाहा उनिहरुलाई ? सल्केको आगोलाई रोकिएन भने डढेलोको रुप लिन्छ भन्ने कुरा । सरकारले पनि लक्डाउनलाई फितलो छोड्यो । त्यसैले त भाइरसले धेरै भन्दा धेरैको शरीरमा प्रबेश गर्ने मौका पाउँछ । कोभिड १९ र सामाजिक दूरि भनेको कुनै नेताको भाषण हैन । बैज्ञानिक सत्यतथ्य हो भन्ने कुरा पनि बुझ्न सकेनन् । एक पछि अर्को गर्दै भाइरस संक्रमितको संख्या जङ्गलमा आगो फैलिएजस्तै फैलियो ।

अन्त्यमा त्यो डढेलोले देशको अर्थतन्त्र देखि स्वास्थ्य प्रणाली सबै तहसनहस बनाउन पुग्यो । दिर्घायु आर्थिक मन्दी कति समय हुने हो त्यो अनुमान छैन । हरेक दिन सन्क्रमितको संख्या गुणात्मक तरिकाले बढ्दै गएको छ । मिनेट मिनेटको तथ्यांक बासी हुने गरेको छ । मृत्यु हुनेको संख्या पनि दिनानुदिन उकालो लाग्दै छ । यो उकालो लागेको संख्याले सामाजिक र आर्थिक स्वास्थ्य दुबै ओरालो लाग्दै गरेको छ । संक्रमणको ग्राफ ओरालो लाग्न नसकेर पुरै देश डिप्रेसनमा छ ।

अब त केवल आशा छ कुनै भ्याक्सिनको कि त प्रकृतिको नियन्त्रणको । समयमा सचेत नहुनाको परिणाम त हो । कर्म अनुसारको फल । मास्क पन्जा लगाएर बिरामी जाँच्नुस् र खाना पकाउन पनि PPE माग्ने मानसिकता छ भनेर वक्तव्य दिने र राता रात स्वास्थ्यविद हुन पुगेका जिम्मेवार मानिएका ब्यक्ति पनि अहिले पुर्पुरोमा हात राख्दै पाछुताउँदै छन् । तर निकै ढिला भैसकेको छ । हाम्रा आवाजहरु सधैं बेवास्ता गरेका थिए । सधैं प्रशासनले दबाउन खोज्ने मानसिकता मात्रै देखियो । लागेको बानी कत्ति छुट्ने रहेनछ । मास्क खरिदमा पनि राम्रै भ्रास्टाचार गरेको खबर फैलिन्छ

त्यो कुरा सत्य हो भने त कसैले बचाउन सक्दैन । पशुपतिनाथ पनि आफ्नो हात झिक्नेछन् । इटली स्पेन अमेरिकाको अवस्था आउन सक्ने कुरामा दुबिधा हुनेछैन । यो सबै भबिस्यको नमिठो सपना मात्रै हो भन्ने आश गर्दै समयमा सबैले आफ्नो योगदान गरौं भन्ने आश छ । व्यापक टेस्ट गरौं । कन्ट्याक्ट त्रेसिङ गरौं । क्वारेन्टाइन बसेर जिम्मेवार नागरिक बनौं । स्वास्थ्य सन्देश पालना गरौँ । लकडाउनलाई मजबुत बनाउन सरकार नडगमगाओस्। यो युद्ध जित्न राष्ट्र सफल हुनेछ । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय