प्रहरी विदेशबाट आएका खोज्दै पठाउने, बिपी प्रतिष्ठान परीक्षण नगरी फर्काउने

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७६ चैत १७ गते ८:३८

कोरोना भाइरसको परीक्षण सुरू थालेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ज्वरोका बिरामीलाई फर्काउने गरेको छ। ज्वरो, खोकी लागेपछि शंका लागेर परीक्षण गराइदिन माग गर्दै गएका बिरामीलाई बिपीले भर्ना लिएर परीक्षण गर्न मानिरहेको छैन।

सरकारले जारी गरेको लकडाउनपछि इटहरी प्रहरीले विदेशबाट आएका व्यक्तिहरूको खोजी तीव्र पारेको छ। ज्वरो र रूघाखोकीका बिरामी खोज्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइरहेको छ।

प्रहरी स्रोतका अनुसार हालसम्म बिपी प्रतिष्ठानले पठाइएकामध्ये दुई जना विदेशबाट फर्केकालाई क्वारेन्टाइनमा पठाएको छ। बाँकी आ७ जनालाई परीक्षण नै नगरी घर फर्काएको छ।

विदेशबाट फर्केका अन्य ६४ जना प्रहरीको सम्पर्कमा छन्। तर, अस्पतालले भर्ना लिन नमानेपछि ती बिरामीलाई कतै पठाउन नसकिएको इलाका प्रहरी कार्यालय इटहरीका एक अधिकृतले बताए।

‘निजी अस्पतालले लिनै मान्दैनन्, सरकारी अस्पतालमा पठाउँदा पनि फर्काएकाले हामीले सम्पर्कमा ल्याएका तथा परीक्षण गर्न आफैं उत्सुक भएका मान्छेहरू अस्पताल जान पाएका छैनन्,’ ती अधिकृतले हेल्थपोस्ट नेपालसँग भने।

उनका अनुसार परीक्षण गराउन गएकालाई बिपीका डाक्टरले कोरोनाको लक्षण हैन भन्दै भर्ना लिन मान्दैन। ‘कतार, दुबईजस्ता खाडी मुलुकबाट आएका मान्छे छन्, उनीहरूलाई परीक्षण गराउन भन्यौं, उनीहरू तयार भए पनि अस्पतालले फर्काइदिँदा समस्या भएको छ,’ ती अधिकृतले भने।

बिपीमा पुगेका हालसम्म बिरामीमध्ये १० जनालाई आइसोलेसन वार्डमा राखिएको छ। जसमध्ये ६ जना डिस्चार्ज भइसकेका छन्। परीक्षण गर्न पुगेका ९८ जनामध्ये ९ जनालाई क्वारेन्टाइन पठाएको छ भने ७९ जनालाई सेल्फ क्वारेन्टाइनमा पठाएको छ।

परीक्षण गर्न गएकालाई स्वाव लिने, क्वारेन्टाइनमा पठाउने वा आवश्यकताअनुसार आइसोलेसनमा राख्न सकिन्छ। कोरोनाको महामारी चलिरहेका बेला प्रदेश १ कै ठूलो सरकारी अस्पतालले परीक्षण गर्न नमान्ने परिस्थिति सिर्जना हुनुलाई आश्चर्यजनक रूपमा लिइएको ती अधिकृतले बताए।

‘उहाँहरूसँग पिपिई सामग्री नभएर हो वा डर-त्रासले गर्दा हो, हामी खोजी-खोजी पठाउने, डाक्टरले हेर्दै नहेरी पठाउने समस्या भयो,’ ती अधिकृतले भने।

बिपी प्रतिष्ठानमा आइतबारदेखि कोरोना परीक्षण थालिएको छ। राजधानीबाहिर बिपीमा पहिलोपटक कोरना परीक्षण थालिएको हो।
यसबीच सरकारले चीनबाट चिकित्सकलाई चाहिने पिपिई लगायत सामग्री पनि अस्पतालहरूमा पुर्‍याउन थालिएको बताएको छ। आइतबार मात्रै चीनबाट चिकित्सकलाई चाहिने सामग्री नेपाल ल्याइएको थियो।

रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिको आइतबारको बैठकले निजी तथा सरकारी सबै अस्पताललाई ज्वरो तथा खोकी लागेर आएका बिरामीलाई नफर्काउन निर्देशन नै जारी गरेको छ।

बिपीमा कोरोना विशेष उपचारमा संलग्न डाक्टर विकास साहले आफूलाई यस्तो विषयमा थाहा नहुने बताए। ‘इमर्जेन्सी वार्डतिर कुरा गर्नुहोला, यो विषयमा मलाई त्यति थाहा भएन,’ साहले भने।

बिपीमा पुगेका हालसम्म बिरामीमध्ये १० जनालाई आइसोलेसन वार्डमा राखिएको छ। जसमध्ये ६ जना डिस्चार्ज भइसकेका छन्। परीक्षण गर्न पुगेका ९८ जनामध्ये ९ जनालाई क्वारेन्टाइन पठाएको छ भने ७९ जनालाई सेल्फ क्वारेन्टाइनमा पठाएको छ।

स्वाव लिइएका १९ मध्ये १६ जनामा कोरोना नेगेटिभ देखिएको र ३ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय