‘लकडाउन’ : घरमै बसेका रोजगारविहीनलाई दैनिक उपभोग्य सामग्री दिइने, गृह मन्त्रालयले सक्रिय गरायो स्थानीय निकाय

कोरोनाका कारण जारी ‘लकडाउन’मा रोजगारी अभावले गुजारा चलाउन नसक्ने व्यक्तिहरूलाई वडास्तरीय समितिले दैनिक उपभोग्य सामग्री दिने भएको छ।

आइतबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको आपूर्ति व्यवस्थापन बैठकले कोरोनाको कारण लकडाउनको अवधिभर घरमै बसिरहेका मजदुरी गर्ने व्यक्तिलाई वडाबाट उपभोग्य सामग्री दिने निर्णय गरेको हो।

गृहमन्त्रीनिकट स्रोतका अनुसार अब आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले गर्नेछन्। वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिने छ।

वडास्तरीय समितिले सुरूमा आफ्नो वडाभित्र रहेका हाल रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरूको लगत संकलन गर्ने छ।

गृहका अनुसार त्यस्ता व्यक्तिहरूलाई वडास्तरीय समितिले सहयोगस्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तुहरूको प्याकेज उपलब्ध गराउने छ।
सहयोगको प्याकेज बनाउँदा चार जनासम्म सदस्य भएको परिवार र चार जनाभन्दा बढी सदस्य भएको परिवारलाई पुग्ने गरी दुई प्रकारको बनाइने छ।

‘देशभरिका स्थानीय निकायलाई निर्देशनस्वरूप यो निर्णय तत्काल कार्यान्वयन गर्न भनिएको छ,’ गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले भने।

कुनै निकाय/संघ/संस्था/व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुयपर्ने गृहको निर्णय छ।

स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरू भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समितिमार्फत वितरण गरिने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउने गृहले जनाएको छ।

सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफूखुसी सहायता वितरण गर्न नपाउने, वितरणमा दोहोरोपना हुन नदिने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुहरुको मौज्दात नियमित रुपमा अद्यावधिक गरी सार्वजनिक गर्ने निर्णय गृहले गरेको छ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, महानगरपालिका तथा नगरपालिकाका प्रमुखलगायत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय