मृतक बाबुरामको उपचार यात्रा : दुबईबाट आएपछि मेडिकलको औषधि, ‘कोराना विशेष’ अस्पतालमा मृत्यु

बुटवलको धागो कारखानामा बनाइएको अस्थायी अस्पतालमा उपचारत एक बिरामीको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ सिसौडाँडाँका ३७ वर्षीय बाबुराम थापाको आइसोलेसनमा उपचार क्रममा मृत्यु भएको हो ।

उनको उपचारमा स्वास्थ्यकर्मीबाट लापरबाही भएको देखिएको छ । यद्यपि उनको स्वाबको रिर्पोट आइसकेको छैन् । स्वाबको रिर्पोट नेगेटिभ नआउको अवस्थामा त्यसले जटिल अवस्था ल्याउने हो कि भन्ने बुटवल र सैनामैना क्षेत्रमा चिन्ताको बिषय बनेको छ । दुबईबाट आएपछि काठमाडौंदेखि बसमा, स्वास्थ्य चौकी हुँदै आइसोलेसन

स्थानीय मेडिकलमा उपचार गर्दा सञ्चो नभएपछि उनी मुर्गिया स्थास्थ्य चौकीमा हुदै लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए । उनलाई उनको स्वास्थ्य चेकजाँच र यात्रा विवरण लिएपछि उनलाई बुटलको धागो कारखानामा स्थापना गरिएको कोरोना बिशेष (अस्थायी) अस्पतालमा चिकित्सकहरुले पठाएका थिए ।

त्यसअघि उनी काठमाण्डौंबाट बसबाट बुटवल र बुटवलबाट सैनामैना पनि बसबाटै पुगेका थिए । घर आउँदा बाटोमा नै ज्वरो आएका उनी मुर्गियामा रहेको आचार्य मेडिकलमा स्वास्थ्य चेकजाँच गराएका थिए । चैत्र ७ गते घर आइपुगेका थापा कहिले उक्त मेडिकलमा उपचारका लागि पुगे भन्ने भने खुलेको छैन् । उनका छिमेकीका अनुसार आएको दुईदिनपछि गएका हुन् ।

त्यहाँको औषधी उपचारले सञ्चो नभएपछि उनी १३ गते बिहीबार मुर्गिया स्वास्थ्य चौकी पुगेका थिए । श्रीमतीसँगै उपचारका लागि बिहान ११ बजे स्वास्थ्य चौकी पुगेका उनले स्वास्थ्यकर्मीसँग स्वास फेर्न गाहे भएको, स्थानीय मेडिकलमा चेकजाँच गरी ज्वरो बढी देखिएपछि निम्स दिइएको थियो।

उनको आज बिहान मात्रै स्वाब संकलन गरेर काठमाडौं पठाएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

उनको पत्नी र दुई छोरा छन् । उनीहरू पाल्पाको कुसुमखोलाबाट केही समयअघि सैनामैनामा भाडामा बस्दै आएका थिए ।

यहाँ आएपछि उनी आफन्तलाई भेट्ने, परिवारको सम्पर्कमा रहने गरेका थिए । उनी काम लिएर सैनामैना नगरपालिका समेत पुगेको बताइएको छ । तर यसको पुष्टि भने भएको छैन् । ज्वरो आइरहेपनि उनले वास्ता नगरीकन मेडिकलको औषधी खाई घरमै बसेका थिए । चैत्र १३ गते ज्वरोले चापेपछि मात्रै उनी मुर्गिया स्वास्थ्य चौकी हुदै बुटवलमा रहेको आइसोलेसनमा गएका थिए ।

आज बिहानैदेखि सिरियस रहेको कुरा आएपछि उनकी पत्नी रीता थापा बुटवल गएकी थिइन । उनलाई पनि हल्का ज्वरो आएको बताइएको छ। उनी पनि केही समयदेखि स्थानीय पाउरोटी उद्योगमा काम गर्दै आएकी थिइन ।

घरपरिवारदेखि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु पनि क्वारेन्टाइनमा

श्रीमानको मृत्युपछि उनका श्रीमतीलाई बुटवल कारोना अस्पतालमा र दुई छोराहरु र घर बेटीलाई टोल विकास संस्था र वडाका जनप्रतिनिधीको निगरानीमा होम क्वारेनटाइनमा राखिएको सैनामैना नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकराज पन्थीले जानकारी दिए। मुर्गिया स्वास्थ्य चौकीकी एक नर्स र एक अहेबलाई होम क्वारेन्टाइनमा बस्नका लागि भनिसकिएको उनले बताए ।

स्थानीय आचार्य मेडिकलको ल्याबमा काम गर्ने महिला टेक्निसियनलाई पनि आजदेखि होम क्वारेन्टाइनमा राखिएको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । उनले मृत्युले धेरै आंशकाहरु जन्माएको बताए ।

डा. प्रकाश खरेल
मुर्गीया स्वास्थ्य चौकी, सैनामैना, रुपन्देही
– बिहीबार ११ बजेतिर स्वास्थ्य चौकी आउनुभएको थियो । उहाँको साथमा श्रीमती पनि हुनुहुन्थ्यो ।
– उहाँले स्वास फेर्न गाहे भइरहेको, ज्वरोको औषधी स्वरुप मेडिकलले दिएको निम्स खाएको, विदेशबाट हप्तादिन आएको बताउनुभयो ।
– निम्स खाएकोले हुनसक्छ उहाँको ज्वरो त्यति बढी थिएन् ।
– हामीसँग पिपिई नभएको हुदा दुरी कायम राखेर हामीले उहाँको स्वास्थ्य चेकजाँच र यात्रा विवरण लिएका हौं । श्रीमान र श्रीमतीले नै मास्कको प्रयोग गर्नुभएको थियो ।
– एम्बुलेन्सले बिरामी बोक्न नमानिरहेको अवस्थामा प्रहरीको समन्वयमा इरिक्सा खोजेर हामीले बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएका हौं ।
– स्वास फेर्न गाहे भएको, ज्वरो आएपछि निम्स आइरहेको र यात्रा विरणमा दुबईबाट हप्तादिन अघि मात्र आएको हुदा हामीले बिरामीलाई बुटवल पठाएका हौं ।
– हामीसँग आइपुग्दा उहाँको स्वास्थ्य त्यस्तो जटिल भइसकेको थिएन ।

‘स्वास्थ्यकर्मीकै लापरबाही’
बाबुराम थापाको मृत्यु हुनुमा स्वास्थ्यकर्मीकै लापरबाही देखिएको छ । मुर्गियाका आचार्य मेडिकलले यात्रा विवरण र विरामीको लक्षण थाहा हुँदा समेत स्थानीय सरकार र कोरोना अस्पताल वा क्वारेन्टाइनमा जानका लागि सल्लाह नदिएको देखिएको छ ।

घर आएको एक हप्तापछि मात्र उनी मुर्गिया स्वास्थ्य चौकी गएको देखिन्छ । त्यहाँबाट बुटवल पठाइएका उनीलाई १३ गते भर्ना भएपछि १४ वा १५ गते स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइएन।

त्यसैगरी उनलाई स्वास्थ्यकर्मीले ख्याल गरेनन्। १३ गते भर्ना भएपछि उनलाई क्वारेन्टाइनमा मात्र राखिएको र आज मात्र आइसोलेसन बेडमा सारिएको पारिवारिक स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय