विदेशबाट आउनेहरू खोज्दै क्वारेन्टाइनमा राख्दै स्थानीय सरकार

कोरोना भाइरस सतर्कताका लागि प्रदेश ५ का स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापन गर्दै शंकास्पद बिरामी राख्न थालेका छन्। यी क्वारेन्टाइनमा भारतसहित तेस्रो मुलुकबाट हालै नेपाल आएका नेपाली नागरिक वा अन्य मुलुकका शंकाष्पद व्यक्तिलाई राख्ने गरिएको छ। स्थानीय जनप्रतिनिधि विदेशबाट को आयो, कहिले आयो र स्वास्थ्य अवस्था के छ भन्दै सोधीखोजी गर्दै गाउँगाउँ पुगेका छन्।

प्रदेश ५ मा यसरी विदेशबाट आउने करिब पाँच सयजना क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयको अनुमान छ । रुपन्देहीमा मात्रै स्थानीय तहले बनाएका क्वारेन्टाइनमा ५२ जना रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार विदेशबाट पछिल्लो समय नेपाल आएका सबैजसो स्थानीय तहहरुले बनाएका क्वारेन्टाइनमा र कतिपय आफ्नै घरमा ‘होम क्वारेन्टाइन’ मा बसेका छन् । १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्दा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएमा उनीहरुलाई सरकारले तोकेको आइसोलेसन अस्पतालमा सुरक्षित तरिकाले लगेर उपचार गरिने स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरीले बताए ।

नवलपरासीको सुनवल नगरपालिको १ सय बेडको क्वारेन्टाइन बनाएको नगर प्रमुख भीमबहादुर थापाले बताए । उनका अनुसार नगरको वडा नं. ११ को प्रहरीयुक्ति महाविद्यालयको चौरमा नरपालिकाले क्वारेन्टाइन बनाएको हो । जहाँ ४ जना दुबई र १६ भारतबाट आएका गरी २० जना क्वारेन्टाइनमा छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिकामा सबै वडामा ५ बेडको दरले र पालिकामा २५ बेडको क्वारेन्टाइन बनाएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषि अर्यालले जानकारी दिए । अहिले भारतबाट आएका २ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनका अनुसार गाउँपालिकाले लिएको तथ्यांकमा १२५ भारतबाट र २० जना अन्य जिल्लाबाट आएका व्यक्ति भेटिएका छन् । उनीहरुलाई वडाअध्यक्ष र सदस्यहरुलाई खटाएर होम क्वारेन्टाइनमा बस्नका लागि कडाई गरिएको छ ।

रुपन्देहीको कंचन गाउँपालिकाको २५ बेड क्वारेन्टाइन बनाएको छ । रुद्रपुरको लुम्बिनी ज्ञान निकेतन माविमा बनाएको क्वारेन्टाइनमा अहिले ९ जनालाई राखिएको गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताए । उनिहरु सबै भारतबाट गाउँ फर्केकाहरु हुन् ।

कुन जिल्लामा कति बेडको क्वारेन्टाइन

रुपन्देहीमा १६ वटै स्थानीय तहमा तीन सय ५४ वटा क्वारेन्टाइन बेड तयार भएका छन् । अधिकांश क्वारेन्टाइन स्थल विद्यालयलाई बनाइएको छ। कपिलवस्तुमा १६ स्थानमा क्वारेन्टाइन र एक सय ६६ बेड, बर्दियामा १९ स्थानमा २ सय २१ बेड, बाँकेमा ८ स्थानमा एक सय ५५ बेड, दाङमा १६ स्थानमा एक सय ६६ बेड, रोल्पामा एक स्थानमा ५ बेड र रुकुम पूर्वमा २ स्थानमा ४१ बेड रहेको छ । नवलपरासी पश्चिममा १४ स्थानमा दुई सय चार बेड छन् । पाल्पामा २३ स्थानमा क्वारेन्टाइन र दुई सय ९३ बेड छन् । गुल्मीमा २६ स्थानमा २ सय ९० बेड,अर्घाखाँचीमा ३४ स्थानमा ३ सय २७ वेड, प्युठानमा १६ स्थानमा एक सय ४५ वेड तयार भएका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए ।

कहाँ कहाँ छन् आइसोलेसन अस्पताल?
प्रदेश सरकारले प्रदेशका चार सरकारी अस्पतालमा आइसोलेशन वार्ड खोल्ने निर्णयसंगै सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवास्थित भीम अस्पताल, दाङको बेलझुण्डीस्थित केन्द्रीय आर्युवेद विद्यापीठ र बाँकेको खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशन वार्डका रुपमा सञ्चालनमा आइसकेका छन् ।

मन्त्रालयका महाशाखा प्रमुख चौधरीका अनुसार बुटवलको धागो कारखानामा निर्माण गरिएको आइसोलेशन अस्पतालमा ५० शैया, भीम अस्पतालमा ३० शैया, दाङको बेलझुण्डीस्थित आयुर्वेद विद्यापीठमा ३० शैया र बाँकेको सुशील कोइराला अस्पतालमा ३० शैयाको आइसोलेशन वार्ड निर्माण गरी सेवा सञ्चालन गरिएका छन् ।

स्वाब परीक्षणमा कठिनाईः
कोभिड १९ को संक्रमण नियन्त्रणका लागि लकडाउन भएपछि हवाइसेवा बन्द हुँदा बिरामीको स्वाब जाँचका लागि गाडीबाट काठमाडौँ पठाउनुपर्ने भएकाले केही ढिलाइ हुने गरेको छ ।

प्रदेश नम्बर ५ मा ५२ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २५ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए । चौधरीका अनुसार रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको छ । २५ जनाको रिपोर्ट आउन बाँकी रहेको चौधरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय