रसायन-मेडिकल आपूर्ति संघले भन्यो- ‘मेडिकल सामग्री खरिद गर्न सरकार नजिकका व्यवसायी खोजियो’

सरकारले पिपिईलगायत सामग्री खरिदमा आफूनिकट व्यवसायी खोजेको रसायन तथा मेडिकल आपूर्ति संघले दाबी गरेको छ। संघले सरकारले निश्चित व्यापारीलाई फाइदा पुग्ने गरी चीनबाट पिपिईलगायत सामग्री खरिद गरेको आरोप लगाएको हो।

आइतबार विज्ञप्ति जारी गरी संघले प्रचलित बजारभाउभन्दा अधिक मूल्यमा आधिकारिक स्रोत नखुलेका र गुणस्तरको थाहा नलागेका सामग्री खरिद गरिएको जनाएको छ।

यसरी पोस्यो सरकारले पिपिई खरिदमा ओम्नी समूहलाई, चस्माको मूल्य बजारभन्दा १८ गुणा महँगो

खरिद प्रक्रियाको अन्तिम चरणमा आफूहरूलाई संलग्न नगराई सरकारले सीमित व्यवसायीलाई खरिदको जिम्मा दिएको संघले जनाएको छ।

१९ जना व्यवसायीले आवश्यक सामग्री खरिदको कोटेसन आह्वानमा निवेदन दिएको तर अन्तिममा उक्त प्रक्रिया पूरा नगरी सरकारले अर्कै व्यवसायी खोजेको संघले जनाएको छ।

‘स्वास्थ्य सेवा विभागको महाशाखाबाट उक्त सामग्रीको कोटेशन पठाउन आग्रह भएर विभिन्न व्यवसायीले इमेलबाट पठाएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसका प्रमाणहरू हामीसँग सुरक्षित छन्।’ उक्त निवेदन माग गरेर सरकारले कन्ट्रयाक्टका लागि व्यवसायीलाई बोलाउने भनेको थियो।

‘तर, नबोलाइकन सीमित व्यवसायीसँग मात्र प्रचलित बजारभन्दा अधिक मूल्यमा आधिकारिक स्रोत नखुलेका र गुणस्तरको बेवास्ता गरी खरिद गरिएका सामानको नतिजा के हुने?,’ विज्ञप्तिमा उल्लेख छ। संघले आफ्नो तर्फबाट राष्ट्रलाई आवश्यक पर्ने सबै सामग्री उपलब्ध गराउन सक्षम रहेको बताएको छ। सरकारले चीनबाट कोरोनाबाट जोगिनका लागि १ करोड ३ लाख ३८ हजार ४ सय ४४ अमेरिकी डलरबराबरमन सामान आयात गरेको छ।

कोरोना उपचार सामग्री खरिदमा अनियमितताको गन्ध, विवादित ओम्नी समूहबाट रातारात सवा अर्बको खरिद

उक्त सामान आयात गर्ने पाटन मंगलबजार कृष्णगल्लीमा कार्यालय रहेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल हो। यो समूह ओली सरकारनिकट मानिन्छ। कोरोना महामारीको मौकामा सरकारले निजी कम्पनीमार्फत् रातारात चीनबाट सामग्री ल्याउँदा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चार्टर्ड गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय