नेपाल प्रवेशको पूर्वीद्वार सुनसान, झापामा ७० जनालाई क्वारेन्टाइनमा राखियो

सुनसान छन् सडक। एम्बुलेन्स, पानी बोक्ने गाडी, प्रहरी भेनसहित अत्यावश्यक बाहेकका सवारी साधन गुडेका छैनन्। सरकारले घोषणा गरेको लकडाउनमा नागरिकको साथ छ।

अत्यावश्यक काम र बिरामीहरूको उपचारका लागि जानेलाई प्रहरीले सहयोग गरिरहेको छ। राज्यका सबै निकायहरू उच्च सतर्कताका साथ कोरोना भाइरसको संक्रमण नभित्रियोस् भनेर जुटिरहेका छन्।

यसैबीच, मेचीनगरले ५० लाखको कोरोना कोष घोषणा गरेको छ। प्रदेश–१ सरकारले १० लाख पठाइसकेको छ। तत्काल ६० लाख रकम कोरोना नियन्त्रण तयारीका लागि छुट्याएको छ।

यद्यपि, ४० जनासम्म राख्न सकिने ठाउँ भएको धाइजन स्वास्थ्य चौकीको क्वारेन्टाइनमा २० जनाभन्दा बढी राख्न सकिने गरी नगरपालिकाले आवश्यकीय सामग्री पुर्‍याएको छैन। स्वास्थ्यकर्मीको उपस्थिति छैन। यसले काम र तयारी फितलो भएको दुखेसो स्थानीयले गरेका छन्।

मेचीनगर–७ सतिघट्टाकामा तयार गर्ने भनिएको क्वारेन्टाइनमा अहिलेसम्म केही सामाग्री पुगेको छैन। मानिस राख्ने कुरा त परको र कल्पना बाहिरको भएको स्थानीय नवराज बस्नेतले बताए। उनले भने, ‘क्वारेन्टाइनमा राख्नु पर्ने मान्छे दैनिक बढिरहेका छन्, त्यसैले नगरले ध्यान आफ्नो ध्यान त्यसतर्फ पुर्‍याउनु पर्छ।’

मेचीनगर–१० को धुलाबारी स्वास्थ्य केन्द्रमा तयार गर्ने भनिएको आइसोलेशन वार्डको तयारी कुरामा नै सीमित भयो। आइसोलेशन वार्डमा भेन्टिलेटर नै चाहिन्छ भन्ने होइन। संक्रमित पुष्टि भए अलग्गै राखेर उपचार गर्ने भन्ने नै आइसोलेशन वार्ड हो। तर नगर नेतृत्व अहिले पनि अलमलमा रहेको स्थानीय भुमा कन्दङ्वाले बताइन्।

अहिलेसम्मको विश्वको अवस्थालाई हेर्दा ५ प्रतिशत मानिसलाई मात्र भेन्टिलेटर आवश्यक पर्छ। तर, भेन्टिलेटरको पर्खाइमा अरु ९५ प्रतिशत मानिसको उपचार नहुने खतरा छ मेचीनगरमा रहेको स्थानीयको दुखेसो छ।

नगरपालिका अब आइसोलेशन वार्डको तयारी तीव्र गतिमा अघि बढ्नु पर्ने धुलाबारी माविका शिक्षक रमेश दाहालको माग छ। एकै पटक धेरै संक्रमित देखिए भने झापाका अस्पतालमा राख्ने ठाउँ नहुने स्पष्ट देखिएको उनको ठम्याइँ छ। नगर नेतृत्व बेलैमा सचेत बन्नु पर्ने उनले सुझाए।

मेचीनगरले बैठक होइन परिणाममा देखिने काम गर्नुपर्ने धुलाबारी क्याम्पसका प्रमुख पुष्पराज पौडेलको भनाइ छ। कोरोनाविरुद्धको लडाइँमा मैदानमा जानुभन्दा पहिल्यै गम्भीर तयारी गर्नुपर्ने उनको मत छ।

झापामा के छ तयारी, कस्तो छ सुविधा?

झापामा ७० जना क्वारेन्टाइनमा र एक जना आइसोलेशनमा छन्। कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन झापामा मात्रै ७० जनालाई क्वारेन्टाइनमा राखिएको छ।

मेचीनगर–११ स्थित धाइजन स्वास्थ्य चौकीमा तयार गरिएको क्वारेन्टाइनमा १९ जनालाई नगरपालिकाको व्यवस्थापनमा राखिएको मेचीनगरका विपद व्यवस्थापन समिति संयोजक टिकाराम मंग्रातीले जानकारी दिए।

त्यस्तै मेचीनगर–४ को व्यवस्थापनमा तयार गरिएको सरस्वती माविको क्वारेन्टाइनमा ५ जनालाई राखिएको मेचीनगर–४ का वडा अध्यक्ष नवीन बरालले बताए।

त्यसैगरी जिल्लाका विभिन्न स्थानमा ४१ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ। झापाको बिर्तामोड नगरपालिका, गौरादह, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति र झापा गाउँपालिकामा स्थानीय प्रशासनको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको झापा जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए।

ढकालका अनुसार चैत ४ गते कतारबाट नेपाल आएका गौरादह–९ बैगुनधुराका एक व्यक्तिलाई मेची अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार सुरु गरिएको छ।

ती व्यक्ति कोरोना संक्रमित युवती आएको जहाजमा आएका व्यक्ति हुन्। झापाका ११ जना व्यक्ति उक्त जहाज आएको बताइएको छ। सोही जहाजमा आएका बुद्धशान्तिका एक व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष रमेश भुजेलले बताए।

सभापति ढकाल अनुसार क्वारेन्टाइनमा राख्नु पर्ने मानिसहरुको संख्या दैनिक बढ्ने सम्भावना भएकाले अहिले जिल्लामा तयार गरिएका क्वारेन्टाइनले नपुग्ने भएको छ।

तत्काल अन्य स्थानहरुमा ठूलो मात्रामा मानिस राख्न सकिने गरी क्वारेन्टाइन तयार गर्न स्थानीय सरकारहरु आपसमा सल्लाह गरिरहेकको ढकालले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय