सरकारकै कमजोरीले कोरोना संक्रमण भयावह हुने खतरा

शुक्रबार एउटा खबर आयो। सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका ३४ वर्षीय एक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि। उनी केही दिनअघि मात्रै दुबईबाट नेपाल फर्किएका थिए।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको संख्या चार पुगेको छ। विश्वव्यापी महामारीका अघिल्तिर यो संख्या केही नहोला। तर, पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाको भनाइमा ‘यो राष्ट्रका लागि राम्रो सङ्केत पटक्कै होइन।’

सरकारको गतिहीन कार्यशैली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको गैरजिम्मेवार अभिव्यक्ति र अत्यावश्यक सामग्रीको अभावमा सिङ्गो समाज प्रताडित छ। कति बेला, कहाँ, के हुने हो, यो कसैको बसमा छैन। भरोशा केबल पशुपतिनाथमा।

राज्यको लाचारीकै परिणाम स्वरुण सरकारले देशमा पूर्णरूपमा ‘लकडाउन’ गरे पनि आममानिस गम्भीर मनोवैज्ञानिक त्रासमा छन्। अत्यावश्यक सामग्रीको अभाव र कालोबजारीको आतङ्कले अर्को पीडा थपिएको छ।

लकडाउनभन्दा पहिल्यै कतारको दोहाबाट कतार एयरवेज र युनाइटेड अरब इमिरेट्स (युएई) को शारजाहबाट एयर अरेबियाको जहाजमा आएका ३ सयभन्दा धेरै यात्रुमध्ये दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिए पनि अन्यको खोजीका लागि सरकारले गम्भीर पहलकदमी लिएकै छैन।

कोरोना परीक्षण र संक्रमितको पहिचान

लकडाउन र अन्तर्राष्ट्रिय हवाइ उडान रोक्न ढिलाई गरेपछि आलोचित सरकार अहिले कोरोना भाइरसको नियन्त्रणका लागि गर्नुपर्ने मूलभूत कामहरू गर्नेतर्फ केन्द्रित देखिँदैन। कोनोरा भाइरसको परीक्षण र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत दिनभर सेवामा खटिनेहरूका लागि पनि आवश्यक सामग्री उपलब्ध गराइएको छैन।

डेढ महिना लकडाउन लम्ब्याएपछि सरकारले कोरोना संक्रमित खोज्न समय पुग्ने थापाको भनाइ छ। ‘यति गरेपछि सरकारले डेढ महिना समय पायो, डेढ महिनाको सरकारले संक्रमित मान्छेलाई खोज्ने हो, खोजेर परीक्षण गर्ने हो। र, संक्रमण भएमा उनीहरूलाई छुट्टै राखेर उपचार गर्ने हो,’ उनले भने।

पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा जोखिम कम गर्न तत्काल दुई वटा काम गर्न सरकारलाई सुझाव दिएका छन्।

कोरोना भाइरसको परीक्षण गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाउनुपर्ने थापालेको धारणा छ। ‘पछिल्लो समय बाहिरबाट आएका सबैलाई खोजेर उनीको स्वास्थ्य परीक्षण गर्नैपर्छ, र उनीहरू संक्रमित भएमा तत्कालै क्यारेन्टाइनमा पठाउनुपर्छ,’ थापाले भने।

सरकारको काम गराइ प्रभावकारी नभएको टिप्पणी गर्दै पूर्व स्वास्थ्य मन्त्री थापाले संक्रमित पत्ता लगाउन भइरहेको ढिलाइले भयावह स्थिति आउन सक्ने धारणा राखे। त्यसैले सरकारले यो विषयलाई विशेष प्राथमिकता दिनुको विकल्प नै नरहेको बताए।

‘केही दिनअघि मलेशियाबाट फर्किएका एक व्यक्तिको कुनै परीक्षण भएन, अहिले उनी आफूलाई ज्वरो आयो भनिरहेका छन्, दुल्लु पुगेपछि आजसम्ममा उनले कति मानिस भेटे, उनको सम्पर्कमा पुगेका सयौं मान्छे गाउँमा पुगेका छन्, ज्वरो आएपछि उनको स्वास्थ्य परीक्षण गर्ने र कोरोना भाइरसको संक्रमण भएको छ–छैन पत्ता लगाउने सरकारको जिम्मेवारी हो,’ थापाले भने।

एक जनाले ८–१० जनामा र ती ८–१० जनाले २–३ सय जनामा कोरोना भाइरसको संक्रमण पुर्‌याउन सक्ने तर्क गर्दै थापाले त्यस्ता मान्छेलाई कसरी खोज्ने र कसरी क्वारेन्टाइनमा ल्याउने भन्ने विषय अहिले सबैभन्दा महत्त्वपूर्ण रहेको बताए।

‘अर्को कुरा, हाम्रो स्वास्थ्य प्रणालीलाई रातारात प्रभावकारी बनाइएन स्थिति जटिल हुनसक्छ, किनभने संक्रमण पत्ता लगाउने काम पनि हेल्थ सिस्टमले नै गर्छ,’ थापाले भने, ‘त्यसैले एउटा संक्रमितसँग को–को आए, कति जनालाई संक्रमण भयो भन्ने बारेमा राज्यले खोजी गरिहाल्नुपर्छ।’

नेपाल लकडाउन के गर्ने?

नेपाली कांग्रेसका नेता तथा सांसद थापाले आगामी दुई महिनाका लागि सरकारले विस्तृत कार्यक्रम ल्याउनुपर्ने बताए। त्यस कार्यक्रमभित्र लकडाउन, आपूर्ति व्यवस्थाको सहजता, कोरोना परीक्षणको व्यवस्था आदि विषय समेट्नु पर्ने उनले बताए।

‘लकडाउन अर्को एकदेखि डेढ महिना लानुपर्छ, हामीलाई घरमै बस्नका लागि राज्यले केही पनि गर्दैन, आपूर्ति सहज बनाइदिए पुग्छ, आपूर्ति सहज बनाइदिए हामी घरमै बस्छौं,’ थापाले भने, ‘तर, आपूर्ति सहज हुँदा पनि बजारमा गएर सामान किन्न नसक्नेलाई राज्यले हेर्नुपर्छ, यति भए पुग्छ।’

मन्त्री ढकालले हेल्थपोस्टसँगको कुराकानीमा आफूहरु काम गरिरहेको दावी गरे। ‘हामी काम गर्दैछौं, दिनैपिच्छेको डेभलपमेन्ट पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिरहेका छौं, सरकारले अरू के गर्नुपर्ने?,’ ढकालले प्रतिप्रश्न गरे। अनि फोन काटे।

डेढ महिना लकडाउन लम्ब्याएपछि सरकारले कोरोना संक्रमित खोज्न समय पुग्ने थापाको भनाइ छ। ‘यति गरेपछि सरकारले डेढ महिना समय पायो, डेढ महिनाको सरकारले संक्रमित मान्छेलाई खोज्ने हो, खोजेर परीक्षण गर्ने हो। र, संक्रमण भएमा उनीहरूलाई छुट्टै राखेर उपचार गर्ने हो,’ उनले भने।

कतार र दुबईबाट आएका सबै यात्रुलाई परीक्षण गरेर कोरोनाको फैलावट रोक्नेतर्फ केन्द्रित हुन स्वास्थ्यमन्त्रीलाई नेता थापाले सुझाव दिएका छन्।

चैत ४ गते काठमाडौंका लागि कतार एयरवेजका तीनवटा उडान भएका थिए। सबै उडान ‘ए३३०’ सिरिजका वाइड बडी जहाजबाट भएका थिए। सबै जहाज ३ सय सिट क्षमतायुक्त भए पनि यात्रु डेढ सयहाराहारी मात्र आएका थिए। तीन जहाजबाट झण्डै पाँच सय यात्रु आएका थिए।

हामी गर्दैछौंः स्वास्थ्यमन्त्री ढकाल

कोरोना चार जना बिरामी फेला परे पनि सरकार ढुक्कसँग बसेको छ। त्यसमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अभिव्यक्ति जनतालाई आहत पुग्ने किसिमको छ।

मन्त्री ढकालले हेल्थपोस्टसँगको कुराकानीमा आफूहरु काम गरिरहेको दावी गरे। ‘हामी काम गर्दैछौं, दिनैपिच्छेको डेभलपमेन्ट पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिरहेका छौं, सरकारले अरू के गर्नुपर्ने?,’ ढकालले प्रतिप्रश्न गरे। अनि फोन काटे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय