निजीले ‘कोरोना’ लेखेर धपाउँछन्, सरकारीले छिर्नै दिँदैनन्

धनुषाको धनुषाधाम नगरपालिकास्थित मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदा जनकपुरको गोदवरी मोडर्न अस्पतालमा भर्ना भएकी थिइन्।

सुरुदेखि मुटुरोगी सदालाई उच्च ज्वरो थियो भने सास फेर्नसमेत समस्या भइरहेको थियो।

अनि अस्पतालले सदालाई कोरोना भाइरस ‘कोभिड–१९ संक्रमण’ भनेर लेखिदियो।

र, उपचारको लागि ‘रेफर टु बेटर सेन्टर’ लेखेर प्रादेशिक अस्पताल जनकपुर लैजान सुझायो।

बिहान १० बजे छोरा कारी सदा आमालाई टेम्पोमा चढाएर जेनतेन प्रादेशिक अस्पताल पुगे। अस्पतालको आकस्मिक कक्षले मरनीलाई तत्काल आइसीयूमा भर्ना गराउन भन्यो । तर, निजी अस्पतालको रिपोर्टमा कोरोना संक्रमण लेखेको देखेपछि मरनीलाई आईसीयूले भर्ना गरेन मानेन् ।

यहाँसम्म कि मरनी कोरोना संक्रमित हुनसक्ने भन्दै यसअघि आईसीयूमा भर्ना भएका अन्य ६ जना बिरामीसमेत त्यहाँबाट अन्यत्र गए । आमाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको देखेपछि छोरा कारी सदाले चिकित्सकहरुलाई गुहार लगाए । तर, कसैले छुन समेत मानेनन्।

त्यहीबेला प्रादेशिक अस्पतालका प्रमुख डा.नागेन्द्र यादव पनि त्यहाँ पुगे । तर प्रमुख यादवले पनि मरनीलाई क्वारेन्टाइनमा राख्नुपर्ने बताए । डा.यादवले मरनीलाई जनकपुरभन्दा करिब ७ किलोमिटर दक्षिण नगराइन नगरपालिकास्थित क्षेत्रीय क्वारेन्टाइनमा राख्न सुझाव दिए।

आमालाई क्वारेन्टाइनसम्म पुर्‍याउन छोरा कारी एम्बुलेन्स खोज्न केहीबेर भौतारिए तर कोही तयार भइरहेको थिएनन्। पछि एकजना एम्बुलेन्स चालक तयार भएपछि मरनीलाई क्वारेन्टाइनसम्म पुर्‍याइयो । मरनी अहिले नगराईन नगरपालिकाको गंगुलीस्थित क्वारेन्टाइनमा छिन् ।

काठमाडौंको टेकुबाहेक अन्य स्थानमा कोरोनाको जाँच गरेर प्रमाणित गर्न मिल्दैन। अहिले त्यस्तो कुनै प्रयोगशाला काठमाडौंबाहेक अन्यत्र छैन। तर, यहाँका अस्पतालले सामान्य बिरामीलाई पनि ‘कोरोना संक्रमण’ लेख्दै प्रादेशिक अस्पतालमा पठाउँदै गरिरहेका छन्।

काठमाडौंको टेकुबाहेक अन्य स्थानमा कोरोनाको जाँच गरेर प्रमाणित गर्न मिल्दैन। अहिले त्यस्तो कुनै प्रयोगशाला काठमाडौंबाहेक अन्यत्र छैन। तर, यहाँका अस्पतालले सामान्य बिरामीलाई पनि ‘कोरोना संक्रमण’ लेख्दै प्रादेशिक अस्पतालमा पठाउँदै गरिरहेका छन्।

अर्कोतर्फ कोरोना संक्रमणको शंका लागेमा प्रदेश सरकारले प्रादेशिक अस्पताल पुगेर जाँच गराउन भनिरहेको छ । तर, प्रादेशिक अस्पतालले भने सामान्य ज्वारो, रुघाखोकी लागेको बिरामी जाँच्न मानिरहेको छैन् ।

यहाँसम्म कि कोरोनाको संकास्पद बिरामीलाई एम्बुलेन्सबाट झर्नसमेत नदिएर प्रादेशिक अस्पतालले सोझै काठमाण्डौं जान बताउँदै आइरहेको छ ।

अस्पताल प्रमुख डा. यादव चिकित्सकसहित यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई पीपीइ, मास्क, पञ्जालगायतका उपकरणहरु उपलब्ध हुन नसकेपछि कोही जोखिम मोल्न नचाहेको बताउँछन्। ‘बिरामीको जाँच गर्न स्वास्थ्यकर्मी सुरक्षित हुनु पर्‍याे,’ यादव भन्छन्,‘स्वास्थ्यकर्मीले नै सुरक्षित उपकरण पाउन सकेको छैन्, त्यसैले बिरामी जाँच्न समस्या भएको हो ।’

यता अस्पतालमा कार्यरत नर्सहरु समेत आफूहरुलाई सुरक्षित उपकरण उपलब्ध नगराएसम्म काम नगर्ने चेतावनी दिइएका छन् । पञ्जा, गाउन, मास्क, स्यानिटाइजरलगायतका आवश्यक सामग्रीसमेत अस्पतालले उपलब्ध गराउन नसक्दा कामगर्न जोखिम बढेको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय