खाना, कसरत, ध्यान, आराम र तनाव व्यवस्थापनले बढाउँछ रोगसँग लड्ने क्षमता

संसारभरि कोरोना भाइरस प्रभाव र संक्रमण बढिरहँदा तपाईंलाई आफू कसरी सुरक्षित रहने भन्ने चिन्ताले पक्कै पनि गाँजेको होला। कोरोना संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्ने, बारम्ंबार साबुनपानीले हात धुने वा अल्कोहल बेस्ड स्यानिटाइजरले हात सफा गर्ने, हाच्छ्यु गरिरहेका वा खोकिरहेका व्यक्तिभन्दा कम्तीमा तीन मिटर दूरीमा रहने, आफूले हाच्छ्युँ गर्दा वा खोक्दा कुइनाले नाक र मुख छोप्ने वा सफा टिस्यु प्रयोग गर्ने लगायत स्वास्थ्यसम्बन्धी जानकारी तपाईंले विभिन्न माध्यमबाट पाइरहनु भएको छ।

यी त भए संक्रमणबाट जोगिन अपनाउनपर्ने केही प्रत्यक्ष कदम। तर, के कोभिड–१९ वा अन्य कुनै पनि रोगबाट जोगिन यति नै पर्याप्त होला? पटक्कै हुँदैन।

हामीले बुझ्नुपर्ने के हो भने, चाहे त्यो अहिले संसारलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस होस् वा मानिसलाई लाग्न सक्ने अन्य जुनसुकै रोग नै किन नहोस्, यी सबैबाट जोगिन सबैभन्दा महत्वपूर्ण कुरा भनेको रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता नै हो।

जब तपाईंले आफ्नो प्रतिरोधात्मक क्षमता बलियो बनाउनुहुन्छ, तब तपाईं कुनै पनि रोगको सजिलो शिकार हुनबाट जोगिन सक्नुहुन्छ। त्यसोभए तपाईंलाई लाग्न सक्छ प्रतिरोधात्मक क्षमता कसरी बढाउने? तपाईंको यही जिज्ञासा मेटाउन हामीले प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने केही सजिला उपायको सूची यहाँ प्रस्तुत गरेका छांै ः

सन्तुलित र पौष्टिक खाना

मानिसमात्र नभएर यस चराचर जगतमा भएका सम्पूर्ण जीव एवं जिवाणुका लागि खाना अत्यावश्यक वस्तु हो। खानाबिना जीवनको कल्पनासम्म पनि गर्न सकिँदैन। तर, हामीले यहाँ चर्चा गर्न खोजेको खाना भनेको भोक मेट्न खाने खाना होइन, बरु तपाईंलाई तन्दुरुस्त र निरोगी राख्ने पौष्टिक एवं सन्तुलित खाना हो।

त्यसो त तपाईंलाई आवश्यक पौष्टिक एवं सन्तुलित खाना कस्तो हो भन्ने कुरा तपाईंको उमेर, शरीरको बनावट, भूगोल, रोग वा स्वास्थ्य अवस्थालगायत धेरै पक्षमाथि निर्भर रहन्छ। तर, पौष्टिक विज्ञ वा चिकित्सकको सल्लाहमा तपाईंले आफू र आफ्नो उमेर र अवस्थाअनुसार नियमित उपभोग गर्ने पौष्टिक एवं सन्तुलित खानाले स्वस्थ, फुर्तिलो र क्रियाशील राख्नमात्र नभई कोरोना भाइरस तथा भविष्यमा देखापर्न सक्ने विभिन्न किसिमका रोग तथा प्रकोपविरुद्ध लड्ने प्रतिरोधी क्षमता विकास गर्न प्रभावकारी साबित हुन्छ।

व्यायाम

शरीरमा रोगविरुद्ध लड्ने क्षमता विकास गर्न खानापछि व्यायामको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ। व्यायामले शरीरको आलश्यता क्षीण गर्नेमात्र नभई तपाईंलाई शारीरिक रूपमा सक्रिय राख्ने, शरीरका विभिन्न अंगलाई सहज रूपमा काम गर्ने क्षमता प्रदान गर्ने, पाचन प्रणााली बलियो बनाई खानाप्रति रुची जगाउने तथा शरीरलाई आन्तरिक रूपमा बलियो बनाई रोगसँग सहजै लड्ने क्षमता विकास गराउँछ। यसका साथै निरन्तर गरिने व्यायाम तथा अन्य विभिन्न शारीरिक गतिविधिले तनाव व्यवस्थापन गरी जीवनको गुणस्तर वृद्धि गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ।

त्यसो त विभिन्न अनुसन्धानले के देखाएका छन् भने नियामित रूपमा कुनै न कुनै किसिमका व्यायाम गर्ने ‘फिट’ व्यक्तिमा व्यायाम नगर्ने तथा शारीरिक रूपमा निष्क्रिय रहने व्यक्तिमा भन्दा संक्रमण जोखिम निकै कम हुन्छ। यसैगरी यस्ता फिट व्यक्तिमा मुटु, चिनी रोग, मोटोपना, कोलेस्टेरोेल लगायत समस्याका साथसाथै अन्य विभिन्न दीर्घरोग लाग्ने सम्भावना पनि निकै न्यून हुन्छ।

त्यसोभए कसरतले स्वस्थ रहन कसरी मद्दत गर्छ त? एक अध्ययनअनुसार शारीरिक अभ्यासले विभिन्न किसिमका ब्याक्टेरियालाई फोक्सोमार्फत् शरीर बाहिर ल्याउन मद्दत गरी रुघा, खोकी तथा अन्य विभिन्न मौसमी फ्लुहरूको संक्रमणबाट जोगाउँछ ।

ब्राउनी फिटनेसकी संस्थापक म्यारियन ब्राउनीका अनुसार व्यायामले एड्रेनालिन र कोर्टिसोलजस्ता शरीरमा तनाव उत्पन्न गराउने हर्मोन उत्पादनलाई कम गर्दछ भने तनाव उत्पन्न गराउने हर्मोनको मात्रामा आएको कमीले मानिसलाई विभिन्न रोगबाट बचाउँछ।

‘व्यायामले शरीरभित्रको प्राकृतिक पेनकिलर र मुडलाई सुधार गर्ने रसायनको रूपमा लिइने इन्डोर्फिन नामक हर्मोन उत्पादनमा पनि योगदान गर्दछ,’ उनी भन्छिन्।

ध्यान

यदि तपाईंले आजसम्म ध्यान गर्नुभएको छैन भने अहिलेको क्वारेन्टाइनको समय यो अभ्यास सुरु गर्न उपयुक्त अवसर हुन सक्छ। करिब १ हजार ६ सयजना माथि गरिएको हालैको एक अनुसन्धानबाट ध्यानले रोग प्रतिरोधात्मक क्षमता प्रणालीमा अधिक सुधार ल्याउने देखिएको छ।
‘हामीले अहिले भोगिरहेको जस्तै अन्य विभिन्न तनावपूर्ण परिस्थितिले हाम्रो प्रतिरोधात्मक क्षमतालाई नकारात्मक रूपमा असर गर्दछ तर निरन्तर गरिने ध्यानको अभ्यासले यस्तो परिस्थितिमा उपयुक्त तरिकाले प्रतिकार्य गर्न सहज बनाउँछ,’ वैदिक ध्यान प्रशिक्षक एलिबुरोज ग्लुक भन्छन्।

‘जीवन आफंैमा भद्रगोल छ। ध्यानले यी सबैको समाधान नगरे पनि यसले हामीलाई हाम्रो स्वासप्रश्वास कायम राख्न सिकाउँछ,’ उनी थप्छन्।
ध्यान कसरी गर्ने भनेर सोचिराख्नुभएको छ भने आँखा बन्द गरेर वा खुलै राखेर पनि ढाडलाई सोझो बनाई आरामदायी रूपमा पलेटी कसेर बस्नुहोस्। आफ्नो सम्पूर्ण ध्यान स्वासप्रश्वासमा केन्द्रित गर्नुस्। अब तपाईंको दिमागमा विभिन्न विचार आउन थाल्नेछन् जस्तो कि ‘कोरोना भाइरस प्रकोप कहिले अन्त्य होला?’ वा ‘आज के खाजा खाने होला?’। यी र यस्ता जुनसुकै विचार आए पनि आफ्नो ध्यान फेरि पनि स्वासप्रश्वासतर्फ नै ल्याउनुहोस् र त्यसैतर्फ अडिग राख्नुहोस्।

ग्लुकका अनुसार जब तपाईंले केही समय ध्यानको अभ्यास गर्नुहुन्छ र दिमागमा चलेको विचारबाट आफ्नो ध्यान श्वासमा केन्द्रित गर्न सिक्नुहुन्छ। यही सिकाइले तनावग्रस्त परिस्थितिमा तपाईंलाई सहयोग गर्दछ, जस्तो कि परिस्थिति जति नै प्रतिकूल किन नहोस्, तपाईं त्यसप्रति चिन्तित नभई आफ्नो सम्पूर्ण ध्यान आफू र आफ्नो स्वासप्रश्वासमा सीमित गराउन सक्नुहुन्छ।

तनाव व्यवस्थापन

करिब २५ वर्षअघि गरिएको एक अध्ययनले मनोवैज्ञानिक दबाब वा तनावले रोगप्रतिको संवेदनशिलता बढाउने देखाएको थियो।
चिकित्सकीय मानसिक स्वास्थ्य परामर्शदाता एलिसन फोर्टीले लामो समयसम्मको वा दीर्घतनावले प्रतिरोधी शक्तिमा ह्रास ल्याई विभिन्न भाइरस तथा ब्याक्टेरियासँग लड्ने क्षमता कमजोर गराउँदछ।

यसकाअतिरिक्त अल्पकाल वा तत्कालका लागि तनाव व्यवस्थापन उपायका रूपमा अधिकांशले अपनाउने अस्वस्थ बानी एवं क्रियाकलाप, जस्तै मदिरापान, धुमपान, खानामा हेलचेक्र्याइँ वा अपर्याप्त निद्रालगायतले प्रतिरोधी क्षमता थप कमजोर बनाउने अध्ययनले देखाएका छन्।
‘आफ्नो पीर र चिन्ता कम गर्न पहिला यो कुरालाई आत्मसात गर्नु जरुरी छ कि यस्तो तनावपूर्ण अवस्थामा त्रसित हुनु, तनाव बढ्नु वा चिन्तित हुनु स्वभाविक हो,’ उनी भन्छन्, ‘तब आफ्नो र आफ्नो भय एवं चिन्ताको उचित व्यवस्थापन गर्न अरूलाई हानी नगर्ने खालका सुरक्षित तथा स्वस्थ तरिका पहिचान गर्नुहोस्।’

आफ्नो मन मिल्ने साथी, दम्पती वा आफ्नो विश्वासिलो व्यक्ति तथा मेन्टरसँग आफ्नो तनाव वा चिन्ता तथा सोको स्राोतबारे छलफल गर्ने, उपयुक्त आहारविहार, व्यायाम, योग तथा ध्यानको अभ्यास, नयाँ ठाउँ भ्रमण, सकारात्मक चिन्तन तथा सत्संग, प्रेरणादायी पुस्तक अध्ययनलगायत तनाव व्यवस्थापनका तत्कालका उपाय हुन्। यदि सोहि समस्या तपाईंले दीर्घकालसम्म भोगिरहनुभएको छ भने चिकित्सकसँगको परामर्श अत्यावश्यक हुन्छ।

पर्याप्त आराम वा निद्रा

अन्त्यमा, पर्याप्त आराम वा निद्रा। अमेरिकी नेसनल स्लिप फाउन्डेसनका अनुसार अपर्याप्त आराम वा निद्राले मानिसको प्रतिरोधी क्षमता कमजोर बनाउने गर्छ।

आफ्नो प्रतिरोधी क्षमता बलियो र चुस्त राख्न माथि उल्लेखित विभिन्न तत्वमा ध्यान दिनुका साथै हरेक रात कम्तिमा सातदेखि आठ घन्टा राम्रोसँग निदाउनुपर्ने फाउन्डेसनले उल्लेख गरेको छ। तथापि, कुनै काम विशेष वा केही कारण सो अवधिको निन्द्रा पूरा गर्न नसक्नुभएको अवस्थामा तपार्इंले छोटो समयका लागि न्याप लिएर (उँगेर) पनि निद्राको कमी पूरा गर्न सक्नुहुन्छ।

फाउन्डेसनका अनुसार बिहान र दिउँसो ३० मिनेटजतिको छोटो सुताइले पनि तनाव कम गर्न र निद्रा अभावका कारण प्रतिरोधी क्षमतामा परेको नकारात्मक असर कम गर्न सघाउँछ।

विभिन्न साेध तथा अनुसन्धानहरुकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय