कोरोनाको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराउन माग

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७६ चैत १४ गते १६:००

विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसबाट संक्रमण भएका विरामीहरूको उपचारमा संलग्न चिकित्सका लागि आवश्यक पर्ने सामग्रीको माग गरिएको छ। नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरू संक्रमणको जोखिम बढी हुने बताउँदै सरकारसँग उक्त आग्रह गरेको हो।

‘सरकारले भने अनुरुप सुरुदेखि नै चिकित्सकहरू यस संक्रमणसँग जुध्न विगतका महामारी तथा भूकम्पमा झै तयारी अवस्थामा रहेका छन्’, संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘त्यसैले नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिम अनिवार्य रुपमा उपचार प्रक्रियामा आवश्यक पर्ने आधारभूत सुरक्षाका सामग्रीहरू उपलब्ध गराउन जोडदार माग गर्दछौं।’

‘यस्तो आपतकालिन अवस्थामा आफ्नो ज्यानको बाजी लगाउँदै अहोरात्र खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सौखिनको रुपमा नभई आधारभूत सामग्रीहरुको माग गर्दासमेत जिम्मेवार निकायका व्यक्तिहरूले आफै पिपिईका बारेमा हल्का रुपमा टिका टिप्पणी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने खालको अभिव्यक्ति दिएकोप्रति संघ दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

संक्रमणसँग जोखिम मोल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको जीवन बिमा, स्वास्थ्य बिमा र विशेष बिमाको व्यवस्था गरी मनोबल बढाउनसमेत संघले सरकारसँग माग गरेको छ।

विश्वको स्वास्थ्य क्षेत्र नै संकटमा परेका बेला नेपालका सरकारी, निजी अस्पताल वा मेडिकल कलेजहरूले नियमित ओपिडी सेवालाई तत्काल बन्द गरी नेपाल सरकारको अनुरोध बमोजिम आकस्मिक सेवा तथा ज्वरो क्लिनिक संचालन गर्दै कोरोनालाई रोगलाई फैलिनबाट रोक्न सामूहिक प्रयास गर्नुपर्ने महासंघले जनाएको छ।

सरकारका तीनवटै तह संघ, प्रदेश र स्थानीय निकायबीच समन्वयकारी भूमिका निर्वाह गर्दै कोरोना भाइरस सम्बन्धी अभियानलाई सहज बनाउन नेपाल सरकारले अझबढी ठोस कदम चाल्नु पर्ने संघको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय