कोरोनासँग जुध्ने तयारी : चीनबाट ल्याइने ३० प्रकारका सामानको सूची तयार, शनिबार वाइडबडी उड्दै

कोरोना संक्रमणसँग लड्न सरकारले चीनबाट अत्यावश्यक सामग्री ल्याउने भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट ३० प्रकारका सामग्री ल्याउन कोटेसन तयार भएको छ।

सरकार र खरिदकर्ताबीच औपचारिक रूपमा सम्झौता भइसकेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए।

‘कोरोनासँग लड्नका लागि अत्यावश्यक सामग्री आयात गर्ने कोटेसन तयार भइसकेको छ,’ उनले भने, ‘सम्झौता भइसकेकाले ल्याउने प्रक्रिया मिलाउँदैछौं।’

उनका अनुसार शनिबार नेपालले सामान लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन पठाउँदैछ।

आइतबारभित्र वाइडबडीले नेपालमा सामान झारिसक्ने मन्त्रालयले जनाएको छ।

‘कतिबेला उड्ने भन्ने टुंगो लागिसकेको छैन, तर जाने भोलि नै हो,’ ढकालले भने, ‘यसबारे पर्यटन मन्त्रालयसँग सहकार्य भइरहेको छ।’
पर्यटन मन्त्रालयका अनुसार शनिबार वाइडबडी चीन उडाउने तयारी छ। ‘कतिबेला भन्नेबारे टुंगो लागेको छैन,’ पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भने, ‘१० बजेपछि उड्ने भन्ने छ।’

उनका अनुसार खरिदकर्ताले उडान अनुमति मागेको छ। मन्त्रालयले चार्टर्ड गरेर विमान पठाउने तयारी गरिरहेको छ।

‘सामान ल्याउने, उड्ने भन्नेमा कुनै शंका भएन, आवश्यक प्रक्रिया मिलाउने क्रममा भएकाले समयको टुंगो नलागेको हो,’ अधिकारीले भने।

अधिकारीका अनुसार वाइडबडी चीनको ग्वान्झाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। र, खरिद भएका सामान लोड गरेर फर्किने छ।
सरकारले खरिदकर्ता कम्पनीबारे खुलाएको छैन। सरकारले तयार पारेको कोटेसन भने हेल्थपोस्ट नेपाललाई प्राप्त भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा पिपिई र रेजेन्ट (ल्याब)का सामग्रीको सबैभन्दा ठूलो समस्या छ। चीनबाट ल्याइने पिपिई र रेजेन्टका सामग्रीलाई छुट्टाटुट्टै वर्गीकरण गरेर सरकारले तीस प्रकार छुट्याएको छ।

‘समग्रमा भन्दा अहिले जति सामग्रीको लिष्ट तयार भएको छ त्यो पिपिई र ल्याबकै हो,’ मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भने।
कोरोना भाइरस चीनको वुहान सहरबाट फैलिँदै विश्वव्यापी भएको हो। तर, वुहान भने कोरोनाबाट मुक्त भइसकेको छ।

नेपालमा कोरोना संक्रमणका तीन जना बिरामी अहिलेसम्म फेला परेका छन्। कोरोना संक्रमण फैलिन नदिन सरकारले देशलाई ‘लकडाउन’ गरेर नियन्त्रण प्रयास गरे पनि त्यसले आकार लिन सकेको छैन। बरू, आवश्यक सामग्री नभएकाले कोरोनासँग जुध्न कठिन भएको चिकित्सा क्षेत्रले गुनासो गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय