भरतपुर अस्पतालले विस्तार गर्‍यो आइसोलेसन वार्ड

चितवन स्थित भरतपुर अस्पतालले कोरोना संक्रमण फैलनसक्ने सम्भावनालाई मध्यनजरगर्दै आइसोलेसन वार्ड विस्तार गरेको छ।

अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि यसअघि १९ शैयाको आइसोलेसन वार्डको व्यवस्था गरेको थियो। अहिले ११ शैया थप गर्दै ३० शैयाको आइसोलेसन वार्ड बनाएको हो।

अस्पतालमा गठित नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिले हाल अस्पतलामा सञ्चालनमा रहेको सर्जरी वार्डको क्याविनमा ११ शैयाको आईसोलेसन बनाउने निर्णय गरेको हो। यसअघि आकस्मिक कक्ष माथिको पुरानो क्याविनलाई आइसोलेसन बनाइसेको छ।

त्यस्तै कोभिड १९ संक्रमित विरामीहरूलाई व्यवस्थापन तथा उपचार गर्नका लागि हाल सञ्चालनमा रहेको न्यूरो वार्डलाई आवश्यक उपकरणहरू थपगरी १० बेडको आइसियू सञ्चालन गर्ने निर्णय भएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीले बताए।

कोरोना नियन्त्रण गर्नको लागि १३ सदस्यीय समितिसमेत बनाएको छ। पछिल्लो १० दिनभित्र रुघाखोकी तथा ज्वरो आएका, दुई हप्ताभित्र कोरोना जोखिम देशको भ्रमण गरेका वा ती व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिलाई आईसोलेसनमा राखेर सेवा दिइने अस्पतालले जनाएको छ। अस्पतालमा हालसम्म १७ जनाको कोरोना संक्रमण परीक्षण गरेको र सवैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले बताएको छ।

कोरोना संक्रमितहरुको लागि सञ्चालनमा ल्याईने आईसियूमा भेन्टिलेटर आवश्यक रहेकाले १० वटा भेन्टिलेटर र पिपिई उपलब्ध गराईदिन स्वास्थ्य मन्त्रालयलाई अस्पतालले अनुरोध गरेको छ। साथै अस्पतालले कोरोना भाईरसका विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको पुर्ण विमा गरिदिन सरकारसँग माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय