कतार एयरवेज र एयर अरेबियाबाट नेपाल आएका ३ सय यात्रुको छैन अत्तोपत्तो

सरकारले पूरै देश पूर्णरूपमा ‘लकडाउन’ गर्नुअघि कतारको दोहाबाट कतार एयरवेज र युनाइटेड अरब इमिरेट्स (युएई) को सारजहाँबाट एयर अरेबिायको जहाजमा आएका ३ सयहाराहारी यात्रुमध्ये दुईजनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखियो।

ती दुइ जनाको अहिले काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

धन्य, ती दुवै यात्रु काठमाडौंमै थिए। पोजेटिभ देखिएकी एक युवती काठमाडौं निवासी नै हुन्। उनी दोहा ट्रान्जिट बनाएर चैत ४ गते यहाँ आएकी थिइन्। अर्का एकजना चाहिँ सारजहाँबाट एयर अरेबियाको जहाजमा चैत ६ गते यहाँ आएर काठमाडौंकै एउटा होटेलमा साथीहरूसँगै बसेका थिए।

तर, उनीहरूसँगै ती दुई जहाजमा आएका ३ सयहाराहारी यात्रु देशभरि छरिइसकेका छन्। सरकारले उनीहरू सबैको पहिचान खुलिसकेको र सबैलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको दाबी गरिरहेको छ। तर, सबैजसोको न यकिन पहिचान भएको छ न पहिचान भएजति सबै अस्पताल वा प्रहरीको सम्पर्कमा आएका छन्।

फ्रान्सबाट दोहा हुँदै फर्किएकी काठमाडौंकी ती युवतीसँगै डेढ सयभन्दा बढी यात्रु थिए। उनीसँगै आएकी अर्की एकजना भियतनामी युवतीलाई पनि त्यहाँ कोरोना पोजेटिभ देखिएको थियो।

अर्को अचम्म के छ भने यतिविधि हल्लाखल्ला भइसक्दा र कोरोनाले महामारीको रूप लिने अवस्था आइसक्दा पनि सरकारले भने कतार एयरवेजसँग ती यात्रुको पहिचानबारे आजसम्म औपचारिक हिसाबमा कुराकानी गरेको छैन।

‘नेपाल सरकारले कोरोना भाइरस संक्रमित सवार उडान र अन्य यात्रुबारे हामीसँग औपचारिक हिसाबमा कुनै जानकारी मागेको छैन,’ कतार एयरवेजको काठमाडौंस्थित एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बिहीबार साँझ हेल्थपोस्ट नेपालसँग भने, ‘नेपाल सरकारले अध्यागमन विभागसँग यात्रु सूची लिएर लगेको हो। हामीसँग केही मागेको छैन।’

ती अधिकारीका अनुसार चैत ४ गते काठमाडौंका लागि कतार एयरवेजका तीनवटा उडान भएका थिए। सबै उडान ‘ए३३०’ सिरिजका वाइड बडी जहाजबाट भएका थिए। सबै जहाज ३ सय सिट क्षमतायुक्त भए पनि यात्रु भने डेढ सयहाराहारी मात्र आएका थिए।

‘कोरोना भाइरस संक्रमित यात्रु सवार जहाज कुन हो र उनको परिचयबारे हामीलाई समेत थाहा छैन,’ उनले भने, ‘सरकारले अध्यागमनबाट यात्रुसूची लगेपछि ती यात्रु को थिए भन्ने हामीले थाहा पाएनौं। त्यसमाथि तीन जहाजबाट झन्डै पाँच सय यात्रु आएका थिए।’

सरकारी अधिकारीहरूले कतार एयरवेजको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित म्यानेजरसँग यसबारे अनौपचारिक कुराकानी भने गरेको उनले बताए।

महामारी फैलिन धेरै दिन कुरिरहनुपर्दैन। यदि एकजना संक्रमित व्यक्तिमात्रै निर्वाध हिँड्ने हो भने कोरोना भाइरस केही घन्टामै फैलिन सक्छ।

झन् संक्रमितसँगै एउटै उडानमा साढे चार घन्टा बिताएर फुत्किएका ती सयौं यात्रुबारे अहिले पनि सरकार बेखबर नै छ।

स्वास्थ्य मन्त्रालय सामान्य व्यवस्थापनमा अल्झिरहेका बेला यो बेवास्ताले निम्त्याउने जोखिम अझै अकल्पनीय हुने विज्ञहरूको भनाइ छ।

कतारबाट फर्किएकामध्ये २० जना प्रदेश १ का छन्। तीमध्ये ताप्लेजुङ र मोरङमा एक–एकजना क्वारेन्टाइनमा छन् भने एकजना बिपी कोइराला मेमोरियल अपस्तालको सम्पर्कमा छन्।

त्यस्तै बाँकेका चारजना मध्ये तीनजना सम्पर्कमा आएका छन् भने चितवनमा पाँचजना प्रहरी–प्रशासनको सम्पर्कमा आएका छन् भने एक युवती सम्पर्क बाहिर छिन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मन्त्रालयले विभागअन्तर्गत छुट्टै समूह खटाएर संक्रमितको सम्पर्कमा आएकाहरूको खोजी भइरहेको छ।

‘उनीहरूको खोजी भइरहेको छ। हामीले सबै लिस्ट पाएपछि सम्बन्धित जनप्रतिनिधिलाई तरुन्त पठाउँछौं र उहाँहरूलाई सम्पर्कमा ल्याएर सेल्फ क्वारेन्टाइनको तरिका सिकाउँछौं अनि लक्षण देखिए तुरुन्त अस्पतालमा भर्ना गर्छाैं,’ देवकोटाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय