पोखराबाट ५८ फ्रान्सेली उद्धार गर्न बुद्धको जहाज जाँदै
फ्रान्सबाट नेपाल घुम्न आएर पोखरामा अलपत्र परेका ५८ जना फ्रान्सेली पर्यटकको उद्धार गर्न बुद्ध एयरको जहाज अहिले ११ बजे जान लागेको छ।
काठमाडौंस्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकको उद्धारका लागि परराष्ट मन्त्रालय, गृह मन्त्रालय र त्यहाँबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरेपछि उद्धार उडान गर्न निजी वायुसेवा कम्पनी बुद्ध तयार भएको हो।
‘ती पचास फ्रान्सेलीलाई पोखराबाट उद्धार गर्न हाम्रो ७२ सिटे जहाज अहिले ११ बजे काठमाडौंबाट पोखरा उड्दै छ,’ बुद्धका एक उच्च अधिकारीले हेल्थपोस्ट नेपालसँग भने, ‘उनीहरू कोरोना भाइरस संक्रमित भएर उद्धार गर्न लागिएको होइन तर कतै भवितव्य नहोस् भनेर उद्धार गर्न लागिएको हो।’
हाँबाट ११ बजे उड्ने जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा रहेको उनले जानकारी दिए। पोखरा पुग्न आधा घन्टा लाग्ने र अर्को आधी घन्टामा यात्रु तथा सामान हालेर उडेर काठमाडौं आइपुग्दा बढीमा डेढ घन्टाजति लाग्ने उनले बताए।
उनका अनुसार अहिले सबै फ्रान्सेली यात्रु पोखरा विमानस्थलमा जम्मा भइसकेका छन्। बुद्धको ७२ सिट क्षमतायुक्त एटिआर७२५०० सिरिजको जहाज उद्धार उडानमा जान लागेको हो।
सुरुमा फ्रान्सेली कम छन् भनेर ४७ सिटको जहाज पठाउने तयारी थियो। तर, पछि यात्रु पनि थपिएको र सामान पनि बढी परिमाणमा रहेको भन्ने जानकारी फ्रानसेली दूतावासबाट आएपछि ७२ सिटे जहाज पठाउन लागिएको हो।