कोरोना महामारीविरुद्ध स्टार अस्पतालको तयारी : स्थानीय सामग्रीबाटै पिपिई

ललितपुर सानेपास्थित स्टार अस्पतालले स्थानीय सामग्री प्रयोग गरी अत्यावश्यकीय व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट-पिपिई) बनाएको छ।

कोरोना भाइरसको बढ्दो विश्वव्यापी महामारीसँगै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीका लागि पिपिईको विश्वव्यापी अभाव टार्न अस्पतालले यस्तो सामग्री बनाएको जानकारी दिएको छ।

अस्पतालमा खपत हुने सेनिटाइजरसमेत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुझाएको विधिअनुसार ब्याचलर अफ मेडिकल ल्याब टेक्नोलोजी पढाइ हुने भगिनी संस्था मोडर्न टेक्निकल कलेजको प्रयोगशालामा अस्पताललाई चाहिने मात्रामा उत्पादन सुरु गरिसकेको छ।

अस्पतालले रोग सर्ने जोखिमबाट सकेसम्म विशेषज्ञ र कर्मचारीलाई जोगाउन सोसिअल डिस्ट्यान्सको अवधारणा अवलम्बन गरेर प्रविधि प्रयोगबाट वृहत विशेषज्ञ मिटिङको अभ्याससमेत सुरुवात गरेको जनाएको छ।

प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीका अनुसार मंगलबार अस्पतालका अध्यक्षसहित ४२ विशेषज्ञको भिडियो मिटिङ गरेर सम्भावित विपदको थप तयारी विषयमा वृहत छलफल गरिएको थियो। प्रविधि विपत्तिका समयमा विशेषज्ञ परामर्शका लागि प्रयोग गर्ने अस्पतालको तयारी छ।

चीनको उहान सहर कोरोनामा आक्रान्त भएसँगै अस्पतालले महामारीको सामना गर्न तयारी सुरु गरेको थियो। जसअन्तर्गत फिजिसियन तथा कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. अनिल पोखरेल तथा आकस्मिक विभाग प्रमुख डा. विनिता प्रधानसहितको १० सदस्यीय र्‍यापिड कोरोना रेस्पोन्स टिम बनाएको थियो।

त्यसलाई लागू गर्न इमर्जेन्सी कोरोना ट्रायल सिस्टम लागू गरेर डब्लुएचओले बनाएको मापदण्डअनुसार प्रश्नावली सोधेर शंकास्पदलाई आइसोलेट गर्न सुरु गरेको थियो।

 

सय शैयाको जनरल अस्पताल भएकाले अन्य सेवाका लागि आउने बिरामीलाई पनि जोखिम कम होस् र कोरोनाकै बिरामी आएको अवस्थामा पनि उपचारमा संलग्न जनशक्तिलाई पनि जोखिम कम होस् भनेर यस्तो तयारी गरिएको डा। पोखरेल जानकारी दिए।

अस्पतालले कोरोना र मौसमी फ्लुका बिरामीलाई लक्षित गरी फिजिसियन डा. फिलिपश्याम रञ्जितको नेतृत्वमा ज्वरो क्लिनिक सुरु गरेको र उक्त क्लिनिकमा बस्ने चिकित्सक एवं स्वास्थ्यकर्मीले पनि पिपिई प्रयोग सुरुवात गरिसकेका छन्।

डब्लुएचओको मापदण्डअनुसार बनेका पिपिई सेटमा हुनेजस्तै शरीर पूरै ढाक्नका लागि रेनकोट बनाउने वाटरप्रुफ कपडा प्रयोग गरिएको छ। त्यसैगरी टाउको र अनुहार ढाक्न मास्कबाहेक मोटरसाइकल प्रयोगकर्ताले लगाउने गगल्स, हेल्मेटको अगाडि प्रयोग गरिने भाइजरलाई परिमार्जन गरेर प्रयोग गरी पिपिई बनाइएको छ।

त्यसैगरी खुट्टा ढाक्नका लागि घुँडा नजिकसम्म ढाकिने प्लास्टिकका विशेष गमबुट र पन्जासमेत अन्य घरायसी काममा प्रयोग हुेन बाक्लो खालको पन्जा प्रयोग गरिएको छ।

‘हामीले तयार गरेको डिजाइन र जुटाएको सामग्री प्रयोग गरी स्थानीय टेलरबाटै यो सामग्री बनाइएको हो,’ डा. पोखरेलले भने, ‘ बजारमा सहज रूपमा नपाइए मात्रै यस्तो बनाउने हो। यदि उपलब्ध भएको अवस्थामा डब्लुएचओले सिफारिस गरेकै पिपिई प्रयोग गर्छौ।’

अस्पताल प्रशासनले करिब २ हजार २ सय रुपैयाँहाराहारी खर्चमा तयार हुने विशेषखालको पिपिई सेट सहीरूपमा निर्मलीकरण गरेर पुनः प्रयोग गर्न सकिने र त्यसले गर्दा झन् किफायती हुने विश्वास लिएको छ।

डा. पोखरेलले अहिले बनाएको पिपिई वैज्ञानिक रूपमा प्रमाणितभन्दा पनि आपतमा विकल्पविहीन हुन नदिनका लागि गरिएको विशेष तयारी भएको बताए।

कोरोना मुखबाट निस्किने र्‍याल, सिँगानमात्रै नभई शरीरबाट निस्किने अन्य तरल विकारका माध्यमबाट पनि सर्नसक्ने भएकाले वाटर प्रुफ कपडाको प्रयोग गर्दा भाइरस पनि छिर्न नसक्ला भन्ने सामान्य अवधारणामा आधारित भएरै बनाइएको हो।

‘अस्पतालसँग महामारी फैलिनुपूर्व जम्मा १० सेट पिपिई थियो, सबै विकल्प लगाउँदा पनि एक सेट पनि थप्न सकिएन,’ डा. पोखरेलले भने, ‘त्यसपछि यो विकल्प खोजेर अहिले सय सेट मौज्दात राखिसकेका छौं।’

 

यसकारण चाहिन्छ पिपिई 

डा. अनिल पोखरेल, फिजिसियन, कन्सल्ट्यान्ट नेफ्रोलोजिस्ट, स्टार अस्पताल

कोरोनाजस्तो अति संक्रामक भाइरसबाट बच्नका लागि सुरुमा स्वास्थ्यकर्मीलाई नै सुरक्षित राख्नुपर्ने हुन्छ। कुनै पनि संस्थाको पहिलो उद्देश्य पनि पहिला सेवा प्रदायकलाई नै जोगाउनु हो।

पहिला उपचारमा संलग्न जनशक्तिलाई सुरक्षित छौं भन्ने विश्वास दिलाउन पनि हामीले यी तयारी गर्नुको विकल्प थिएन। हामीले कोरोना महामारीपछि बजारमा खोजी गर्दा एक सेट पनि पिपिई पाएनौं। सरकारले पनि पर्याप्तमात्रामा ल्याउन सक्ने र ल्याए पनि हामीजस्ता निजी क्षेत्रका संस्थालाई दिने अवस्था धेरै टाढाको कुरा हुनसक्थ्यो।

कोरोना कहरजस्तो समस्या हामीजस्तो पेसाकर्मीले पनि जीवनमा पहिलोपटक भोग्दै छौं। यस्तो अवस्थामा थोरैथोरै टिमले मात्रै काम गर्दा पनि डाक्टर, नर्स र हाउसकिपिङलाई यस्तो सेट चाहिन्छ। यस्तो अवस्थामा हामीसँग मात्र भएका १० सेट त केही दिनमै सकिन्थे। त्यतिबेला कल्पनै नगरेको अवस्था आउन सक्छ।

चाइनाको सन्दर्भमा उनीहरूको देशमै उत्पादन हुन्थ्यो। उनीहरूले बाहिर पठाउन रोक्नासाथ उनीहरूका लागि चाहिने जोहो भयो। हाम्रोमा त उत्पादन छैन र बाहिरबाट पनि आएको छैन भनेपछि त विकल्प खोज्न परेन त!

साँच्चै भन्ने हो भने अहिले हामीले गरेजस्तो स्थानीय तहमै पिपिई बनाउने काम विश्वमै गरिएको छैन। हाम्रोजस्तो गरिब र आफ्नै उत्पादन नभएको देशले महामारीको सामना गर्न पनि कि अरूको आश गर्नुपर्‍यो कि आफ्नै ढंगको तयारी गर्नुपर्‍यो।

यो रोग निकै भयावह छ। सबैभन्दा डरलाग्दो कुरा बिनालक्षण पनि सर्नसक्छ। अर्कोतिर अन्य रुघाखोकी, निमोनियामा पनि श्वासप्रश्वासमा अप्ठ्यारो हुन्छ, सुरुमा मानिस लक्षण लिएर आए पनि रोग यकिन नहुँदै सरिसक्छ। त्यसकारणले पनि यो उपचारमा पिपिई निकै महत्वपूर्ण छ।

चाइनाको सन्दर्भमा उनीहरूको देशमै उत्पादन हुन्थ्यो। उनीहरूले बाहिर पठाउन रोक्नासाथ उनीहरूका लागि चाहिने जोहो भयो। हाम्रोमा त उत्पादन छैन र बाहिरबाट पनि आएको छैन भनेपछि त विकल्प खोज्न परेन त!

यो एक प्रकारको युद्धको अवस्था हो। मोर्चामा खटिने सैनिकसँग हतियार भएन भने उसले दुस्मनलाई हराउन सक्दैन आफैं हार्छ। अन्य युद्धमा सैनिकलाई कि मार्ने कि मर्ने भन्ने तालिम दिइएको हुन्छ।

तर, चिकित्साकर्मीलाई त जसरी पनि बचाउने भनेर मात्रै ट्रेन्ड गरिएको हुन्छ। त्यसका लागि स्वास्थ्यकर्मी त्रासमा रहेर काम गर्न सक्दैन। विशेष सेवा दिने चिकित्सक, एनेस्थेसिया, डाइलासिसजस्तो विशेष सेवा दिने नर्स, बिरामी भयो भने त्यो सेवा अररूले ह्यान्डल गर्न सक्दैन।

नयाँ हाउसकिपिङ ल्याएर अस्पतालको सिस्टम बुझाएर सेवा दिइरहन पनि गाह्रो पर्छ। यो सम्भावित विपत्तिको सामना गर्ने सिस्टम बनाउनकै लागि हाम्रो यो आपतको तयारी हो।

यो चिकित्सकीय र वैज्ञानिक हिसाबले के होला समयले बताउँछ। तर यो विपत्तिमा विवेक लगाएर गरिएको निर्णय हो। स्तरीय भनिएको पिपिई एकपटक प्रयोग गरेपछि फाल्नुपर्ने हो।

यसलाई निर्मलीकरण गरेर पुनः प्रयोग गर्न सकिन्छ भने हाम्रो विश्वास हो। महामारीमा के ठिक के बेठिकभन्दा पनि विवेक प्रयोग गरेर सिक्ने हो।

यो रोगबारे चाइनाबाट सिकेर अहिले सरकारले लकडाउन गरिरहेको छ। त्यसरी नै भोलि केही नपाएको अवस्थामा यसरी नै आ-आफ्नै आवश्यकताअनुसारका मोडल बनाएरै पनि उपचारलाई सुचारु गर्नुपर्ने अवस्थाका लागि पनि तयार हुनुपर्छ।

 

अहिले मास्कको धेरै अभाव छ। सरकारले लकडाउन गर्दा पनि मनिसहरू मास्क लगाएर बाहिर हिँडिरहेका छन्। मास्कको यति चरम अभाव छ भने घरमा बस्नुपर्ने मान्छेले एउटा मास्क पनि किन खर्च गरेर सिध्याउने भन्ने सोच आवश्यक छ। भोलि एउटा चिकित्सक वा नर्स एउटा मास्क नपाएर उपचार गर्न नसक्ने र एकजनाको ज्यान जाने अवस्था आउन पनि सक्छ।

सरकार घरमा बस भनिरहेको छ तपाईंहररू मास्क खर्च गरेर किन हिँडिरहनु भएको छ? म सकेसम्म घरमै बस्न, अत्यावश्यक नपरी अस्पताल नजान, चिकित्सकका लागि अत्यावश्यक सामग्री जोहो गर्न सहयोगका लागि आग्रह गर्छु।

हेर्नुस् भिडियो

स्थानीय सामग्रीबाट आफै पिपिई बनाउँदै स्टार अस्पताल

4 thoughts on “कोरोना महामारीविरुद्ध स्टार अस्पतालको तयारी : स्थानीय सामग्रीबाटै पिपिई

  1. निजी क्षेत्रको अस्पताल ले सकंतको समयमा कोरोना बिरुद्ध उपचार गर्न तयारी गरेको मा अस्पताल ब्यबस्थापन को ‌‌‌‌‌‌प्रशंशा गर्न र्योग्य छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय