मन्त्रालयको दाबी : कतार एयरवेजबाट फर्किएका ‘सबै’ सेल्फ क्वारेन्टाइनमा

संक्रमित नेपाली युवती चढेको जहाजमा आएका लगभग सबैजना सम्पर्कमा आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ।

फ्रान्सबाट फर्किएकी ती युवतीलाई कोरोना भाइरस संक्रमण भएको शनिबार मन्त्रालयले पुष्टि गरेको थियो।

त्यसपछि सरकारले उक्त जहाजमा आएका सबैजनाको खोजी सुरु गरेको थियो।

चैत ४ गते फ्रान्सबाट कतार ट्रान्जिट भएर कतार एयरवेजबाट ती युवती नेपाल आएकी थिइन्।

सोमबार मन्त्रालयको मिडिया बिफ्रिङमा प्रवक्ता विकास देवकोटाले भने ‘उहाँहररू सबै सेल्फ क्वारेन्टाइनमै हुनुहुन्छ। सबैजना सम्पर्कमा आइसक्नुभएको छ। सबैले सम्पर्क गर्नुभएको छ।’

प्रवक्ता देवकोटाले ती यात्रु धेरैजसोले आ-आफ्नो ठाउँका अस्पतालमा सम्पर्क गरेर क्वारेन्टाइनमा बसिसकेको र केहीको खोजी भइरहेको जानकारी दिए।

उनका अनुसार अहिलेसम्म ६ सय १० जनाको नमुना परीक्षण गरिएको छ। तीमध्ये दुईजनालाई पोजेटिभ देखिएको छ। एकजना धेरै पहिला चीनबाट फर्किएकालाई देखिएको थियो। उनी अहिले निको भइसकेका छन् भने फ्रान्सबाट फर्किएकी एक युवतीलाई भाइरस संक्रमण भएको शनिबार पुष्टि भएको हो। उनी अहिले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन्।

त्यस्तै सरकारले स्थापना गरेको क्वारेन्टाइनमा १० जना निगरानीमै रहेको, पाँचजना आइसोलेसनमा रहेको पनि उनले जानकारी दिए।

डा। देवकोटाले संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको र सबैजनाले सरकारको यो आदेश पालना गर्न पनि अनुरोध गरे। ‘सबैजना घरभित्रै बसौं। केही असहज त हुन्छ तर पनि भाइरससँग जुध्नका लागि योभन्दा अर्को उपाय छैन,’ उनले भने, ‘विदेशबाट आएकाहररू पनि सबैजना कम्तिमा १४ दिन घरभित्रै बस्नुहोस्। यो एकदमै जरुरी छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय