भारतबाट गौरीफन्टा नाका पुगे सयौं नागरिक : कता राख्ने अलमलमा स्थानीय प्रशासन, सकसमा युवा

मोहन जोशी/धनगढी
प्रकाशित
२०७६ चैत ११ गते १०:३८

आज विहानै धनगढीसँग सीमाना जोडिएको भारतको गौरीफन्टा नाका तनावग्रस्त बन्न पुग्यो। सरकारले देशभर लकडाउन गरेको अवस्थामा भारतबाट एकै पटक पाँच सयभन्दा बढी युवा गौरीफन्टाबाट नेपाल भित्रिन खोजेपछि तनाव उत्पन्न भएको हो।

एकै पठक ठूलो संख्यामा नेपाल भित्रिन खोजेपछि स्थानीय प्रशासनले कोरोनाको जोखिम बढ्ने भन्दै उनीहरूलाई रोक लगाइएको थियो। पछिल्लो समय उनीहरूसँग भएको सहमति अनुसार धनगढीसँगै जोडिएको कन्चनपुरको पुनर्वास नगरपालिका- १० डोकेबजारस्थित शिवमन्दीरमा उनीहरूलाई राखिएको छ।

कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्षकुमार बस्नेले अहिले त्यत्रोमान्छेलाई राख्ने कुरा क्वारेन्टाइनको समस्या रहेकाले एकै पटक व्यवस्थापन गर्न गाह्रो भएको बताए। ‘उनीहरूको स्वास्थ्य परीक्षण गरेर कसैमा कोरोनाका आशंका गरिए क्वारेन्टाइनमा राखिने छ’, हेल्थपोष्ट नेपालसँग कुरा गर्दै उनले भने, ‘कुनै जोखिम नदेखिएका व्यक्तिलाई बसको व्यवस्था गरेर स्थानीय तहको समन्वयमा घर-घरमा पुर्‍याइने र १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिइने छ।’

उनीहरू कतै नभागुन भनेर प्रहरीले घेरा हालेर राखेको प्रहरीले जनाएको छ। उनीहरूलाई अहिले धनगढीका केही व्यवसायी र युवाक्लवहरूले जुस, पानी, चिउरालगायत खाने कुरा दिइरहेका छन्।

डिएसपी बस्नेतले दिएको जानकारी अनुसार त्यहाँ रहेका युवा सुदूरपश्चिमका मात्र नभएर कर्णाली प्रदेश र प्रदेश पाँचका समेत रहेका छन्। तिनीहरूलाई सम्बन्धित प्रदेशसँग समन्वय गरेर पठाउने तयारी भइरहेको उनले बताए।

भारतबाट आउँदा बाटोमा निकै सास्ति खेप्नु परेको र आफ्नो भूमिमा पुग्दासमेत सरकारले सौतेलो व्यवहार गरेको भन्दै युवाहरूले दु:ख व्यक्त गरेका छन्। आफ्नो देशमा आउन पाउनु पर्ने सबै नागरिकको जन्मशिद्ध अधिकार रहेको बताउँदै उनीहरूले आफूहरूको सहज र सुरक्षित रुपमा व्यवस्थापन गर्न माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय