मान्छे निस्किन नदिन बारामा स्थानीय प्रशासनको निषेधाज्ञा
काठमाडौं, चैत ११
कोरोना भाइरस नियन्त्रणका लागि बारा जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि १८ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ।
सरकारले ‘लकडाउन’ गरेको घोषणा गरे पनि उल्लंघन हुने सम्भावनालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले बताए।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकारी प्रयोग गरी निषेधाज्ञा जारी गरिएको उनले बताए। निषेधाज्ञा पालना नगर्नेलाई नियन्त्रणमा लिई कडा कारबाही गरिने पण्डितले बताए।
निषेधाज्ञाअनुसार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म नागरिकहरू घरबाहिर निस्कन पाउने छैनन्।
जिल्लाभर मालबाहक सवारीसाधन (खाद्यान्न, तरकारी, फलफूल, दुध, पानी, इन्धन, एम्बुलेन्स र औषधीबाहेक) सबै सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। भारतसँग जोडिएका सबै सीमा नाकाहरू बन्द गरिएको छ।
अत्यावश्यक दैनिक उपभोग्य वस्तुबाहेक अन्य सबै पसल र व्यवसाय बन्द गरिएको छ।
पण्डितका अनुसार उपभोग्य सामग्रीको अभाव वा कुनै समस्या परे जनताले प्रहरी-प्रशासनको सहयोग लिन सक्नेछन्।