आधा दर्जन सहर ‘लकडाउन’

काठमाडौं, चैत १०/ कोरोना भाइरस संक्रमणबाट जोगिन सम्बद्ध स्थानीय प्रशासन तथा उद्योगी व्यवसायीले विराटनगर, जनकपुर, कैलाली, नेपालगन्ज, दाङलगायत आधा दर्जन सहर ‘लकडाउन’ गर्ने घोषणा गरेका छन्।

कोरोना संक्रमण नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। विराटनगर महानगरका मेयर भीम पराजुलीले मंगलबारदेखि लागू हुने गरी अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए।

सोमबार पत्रकार सम्मेलन गरी पराजुलीले कोरोनाबाट बच्न लकडाउनबाहेक अर्को विकल्प नदेखिएको बताए। पराजुलीले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन नगरबासीलाई आह्वान गरेका छन्।

‘जनताको स्वास्थ्य जोखिममा पर्नसक्ने भएकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी गराइन्छ,’ पराजुलीले भने। महानगरसँग जोडिएको सिमावर्ती नाका जोगबनी सोमबार बिहानैदेखि सिल गरिएको छ। लकडाउन गर्ने निर्णयपूर्व सबै पक्षका सरोकारवालासँग छलफल गरिएको पराजुलीले बताए।

कोरोनाका कारण सरकारले लामो तथा छोटो दूरीका सबै सवारीसाधन बन्द गरिसकेको छ। सोमबारबाट भारतसँग जोडिएका सबै नाका सरकारले बन्द गराएको छ।

कैलालीमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना भाइरसबाट बच्न आज दिउँसो २ बजेबाट अर्को आदेश नभएसम्मका लागि पूरै जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

जनकपुर बजार बन्द गर्ने वाणिज्य संघको निर्णय
विश्वभर कोरोना भाइरस संक्रमणको त्रास बढ्दै गएपछि जनकपुर बजार बन्द हुने भएको छ । जनकपुर उद्योग वाणिज्य संघले कोरोना संक्रमण भित्रिन नदिन पूर्व सावधानीस्वरुप भोलिदेखि बजार बन्द गर्ने निर्णय गरेको हो ।
जनकपुर उद्योग वाणिज्य संघको सोमबार बसेको बैठकले भोलिदेखि चैत १६ गतेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण व्यवसायीक प्रतिष्ठानहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण भित्रिन नदिने उद्देश्यले अत्यावश्यकबाहेक अन्य सम्पूर्ण पसलहरु बन्द गर्ने निर्णय भएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले जानकारी दिए ।
बजार क्षेत्रमा भीडभाड कम गर्न यस्तो निर्णय गरिएको अध्यक्ष साहले बताए । यसअवधिमा दैनिक उपभोग्यवस्तुहरु खाद्यान्न, किराना, दुधजस्ता अत्यावश्यकबाहेक अन्य सम्पूर्ण पसलहरु बन्द गरेर यस संकटको समयमा सहयोग गर्न अध्यक्ष साहले सम्पूर्ण व्यवसायीहरुसँग आग्रह समेत गरेका छन् ।
यसअघि आइतबार बसेको वाणिज्य संघको बैठकले कोरोना भाइरसको महामारीका कारण कुनै समयपनि बजार बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै सम्पूर्ण सबैलाई तयार भएर बस्न आग्रह गरेको थियो ।
कोरोना त्रासका कारण जनकपुर बजार क्षेत्रमा मानिसहरुको चहलपहल पातलिएको छ । मानिसहरुको चहलपहलमा कमी भएपछि स्थानीय रुटमा चल्ने सार्वजनिक यातायातका साधनहरु समेत न्यून संख्यामा गुडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय