कोरोना कोष : नर्भिक र बसन्त फाउन्डेसनको १ करोड, एक महिनाको तलब जम्मा गर्न गगनको प्रस्ताव

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले खडा गरेको कोषमा नर्भिक अस्पताल तथा बसन्त चौधरी फाउन्डेशनले १ करोड सहयोग गरेका छन्।

नर्भिक अस्पतालका अध्यक्षसमेत रहेका चौधरीले ट्वीट गर्दै उक्त्त सहयोगको घोषणा गरेका हुन्। उनका अनुसार कोषका लागि ५० लाख बराबरको मेडिकल सामग्री तथा ५० लाख नगद हुनेछ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कोष खडा गर्ने र त्यसमा ५० करोड रुपैयाँ राख्ने निर्णय गरेको थियो।

कोरोनासम्बन्धी जोखिम फैलिरहेको अवस्थामा अर्थतन्त्रमा पर्न सक्ने केही न केही सङ्केतहरू देखिन थालेकाले पूर्वाधारमा पनि लगानी गर्नुपर्ने, खर्च गर्नुपर्ने भएकाले त्यसका लागि सहयोगी तत्पर भएर अघि बढिरहेको अवस्थामा सरकारले उक्त निर्णय गरेको हो ।

त्यसमा सङ्घीय सरकारका मन्त्रीहरूले एक महिनाको तलब राख्ने र यो कोषमा राष्ट्रसेवक कर्मचारी, व्यवसायी, समाजसेवी, सङ्घसंस्था र व्यक्तिलाई उक्त कोषमा सहयोगका लागि आह्वान गर्ने निर्णय भएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

यो कोषको रकम कोरोनासँग सम्बन्धित क्षेत्रमा पूर्वाधार तयार, स्वास्थ्य सामग्रीको आपूर्ति र सम्भावित स्वास्थ्यसम्बन्धी जोखिम निराकरण गर्ने गरी प्रयोग गर्ने गरी कार्यविधि बनाउने निर्णय गरेको छ ।
यसैबीच कांग्रेस नेता तथा सांसद गगन थापाले प्रत्येक सांसदको एक महिना बराबरको तलव कोषमा जम्मा गर्न आह्वान गरेका छन्।

‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौं’ ट्वीट गर्दै उनले भनेका छन् ‘संगै सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय