प्रहरीले राख्यो काठमाडौंका १६ ठाउँमा हात धुन पानीट्याङ्की

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ चैत ९ गते १७:१८

विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) रोकथामको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका बढी भिडभाड हुने १६ ठाउँमा सर्वसाधारणलाई हात धुनको लागि साबुनसहित पानीट्याङकी राखेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले वित्तीय संस्थासँगको सहकार्यमा काठमाडौं, ललितपुर र भक्तपुरका बढी भिडभाड हुने स्थानहरूमा आइतबारदेखि पानीट्याङकी राखिएको बताए। सरकारले कोरोना भाइरस रोकथामको लागि अत्यावश्यकबाहेक अन्य सेवाहरू बन्द गरी बढी भिडभाड हुन नदिने भनेपछि प्रहरी कार्यालयले नागरिकको सहजताको लागि उक्त व्यवस्था गरेको उनले बताए।

साबुन पानीले हात धुने, स्यानीटाइजरको प्रयोग र माक्स लगाएर हिँडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विशेषज्ञको राय अनुसार उपत्यकामा सर्वसाधारण नागरिकहरूको सहजताको लागि उक्त कार्य गरिएको पोखरेलले बताए।

कोरोना भाईरसको महामारी नियन्त्रण नभएसम्म बढी भिडभाड हुने स्थानहरू रत्नपार्क, बानेश्‍वर, गौशाला, केएमसी अस्पताल सिनामंगल, महाराजगन्ज चोक, शिक्षण अस्पताल लगायतका स्थानहरूमा आइतबारदेखि पानिट्याङ्की राखिएको छ। प्रसूति गृह थापाथली, टेकु अस्पताल, पाटन अस्पताल लगायत ललितपुर र भक्तपुरका बढी भिडभाड हुने र जोखिम बढी हुने स्थानहरूमा सोमबारभित्र राखिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय