‘इम्युनिटी पावर’ बढाउन साइक्लिङ गर्दै प्रचण्ड

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ चैत ९ गते १५:०३

कोरोना संक्रमणको उच्च जोखिममा परेपछि नेपालका ठूला नेताहरू ‘सेल्फ क्वारेन्टाइन’मा बसेका छन्।

नेताहरूले आकस्मिक कामबाहेक कसैलाई भेटेका छैनन्।

दुई तिहाइ सरकारको दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल केही दिनयता घरमै बसिरहेका छन्।

उनकी स्वकीय सचिव गंगा दाहालका अनुसार अत्यावश्यकबाहेक प्रचण्डले कसैलाई भेटेका छैनन्।

उनी परिवारका सदस्यसाथ खुमलटारस्थित निवासमा दिन काटिरहेका छन्। यसैक्रममा दाहाल आइतबार निवासभित्रै साक्लिङमा देखिएका छन्। उनका ज्वाइँ जीवन आचार्यका अनुसार दाहालले कोरोनासँग लड्न ‘इम्युनिटी पावर’ बढाउन भन्दै साइक्लिङ गरिरहेका छन्।

निवासको पार्किङ क्षेत्रमा दाहालले साइक्लिङ गरेको भिडियो आचार्यले फेसबुकमा सार्वजनिक गरेका छन्।

दाहाल आफन्त, नातिनातिना तथा परिवारका अन्य सदस्यका साथ साइक्लिङमा देखिएका थिए। दाहाल कालो भादगाउँले टोपी र ट्रयाकसुटमा साइकल चलाइरहेको देखिन्छन्।

उनी पार्किङ क्षेत्रलाई फन्को मारिरहेको देखिन्छन्।

आचार्यका अनुसार दाहाल बिहान पाँच बजे नै उठ्छन्।  हातमुख धोएर उनी टेबलटेनिस खेल्छन्। त्यसपछि साइक्लिङ गर्छन्। निवासभित्रै उनी दैनिक साइक्लिङ गरिरहेका छन्।

‘प्रधानमन्त्रीसँग भेट्नुपर्‍यो भने मात्रै निस्किनुहुन्छ, नभए घरमै बस्नुहुन्छ,’ आचार्यले भने। उनी अहिले परिवारका सदस्यसँग बढी हुन्छन्। त्यसबाहेक पढ्न र लेख्न बसिरहेका हुन्छन्।

पत्नी सीताको स्वास्थ्य अवस्था राम्रो नभएकाले उनी बढी सीताको रेखदेखमा रहने गरेका छन्।

कोरोनाको जोखिमका कारण सरकारले देशभरका ठूला दुरीका सवारीसाधन बन्द गरेको छ भने नेपाल भित्रिने अन्तर्राष्ट्रिय उडान रोकेको छ। २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम सरकारले लगाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय