सरकार, ‘कोरोना’ परीक्षणमा जोड गर

कोरोनाको नेपालमा सम्भावित महामारी जोखिम ध्यानमा राखेर प्रधानमन्त्रीले राष्ट्र«को नाममा सम्बोधन गर्दै अत्यावश्यकबाहेक सेवा १० दिन बन्द गर्ने घोषणा गरे।

शुक्रबार उपप्रधानमन्त्री स्तरीय उच्चस्तरीय कार्यदलले पनि उपचारलगायत स्वास्थ्य सेवा तयारीबारे १५ बुँदे निर्णय गर्यो।

प्रधानमन्त्रीको सम्बोधनदेखि उपप्रधानमन्त्री स्तरीय उच्चस्तरीय कार्यदलको निर्णयमा समेत परेन प्रयोगशालाजन्य अनुसन्धान र विस्तारको विषय।

सम्भावित महामारीलाई लिएर सरकारले जति फराकिलो सोचसाथ तयारीमा जुटिरहे पनि प्रयोगशाला क्षमता विस्तारमा ध्यान नदिनुले उपचार केन्द्रीकृतमात्रै नभई रोग नियन्त्रण र उपचारसमेत चुनौतीपूर्ण हुने देखिएको छ।

कोरोना भाइरस उपचारको तयरीमा जुटिरहँदा हाम्रो स्वास्थ्य सेवा प्रणालीका कमजोरी साथै नीति निर्माणमा रहेको खाडल उदाङ्गो भएको छ। यो समयमा प्रयोगशालाको क्षमता विकास, मेडिकल प्रोटोकलको निर्माण, बिरामीको रेफरजस्ता जस्ता विषयमा बर्षौदेखि गर्नुपर्ने तयारी अहिले रातारात गर्नुपर्ने अवस्था छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का क्लिनिकल माइक्रोबायोलोजिस्ट डा. जीवन शेरचन सरकारले प्रयोगशालाजन्य परीक्षण विस्तार र अनुसन्धानमा कम ध्यान दिएको बताउँछन्।

उनले काठमाडौं बाहिर पनि महामारी देखिन सक्नेतर्फ ध्यान दिएर परीक्षणका सन्दर्भमा तत्कालै थप तयारी गर्नुपर्न सुझाव दिए।

‘सुदूरपूर्व वा सुदूरपश्चिमका कुनै पहाडी जिल्लामा संक्रमणको आशंका भयो भने नमुना कसरी ल्याउने हो, त्यो प्रोटोकल के हो?,’ डा. शेरचनले भने, ‘यस्तो समयमा जहाँसुकै वा जस्तोसुकै परिस्थितिसँग पनि जुध्ने तयारी चाहिन्छ, त्यो देखिएन।’

एउटा प्रयोगशालाले थेग्ला महामारी ?

अहिले पनि सरकारले काठमाडौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) मा मात्रै परीक्षण गरिरहेको छ। कोरोना भाइरस परीक्षणका लागि सबैभन्दा प्रभावकारी मानिएको परीक्षण भनेको पिसिआर प्रविधिबाट नाक वा घाँटीबाट स्वाब (नमुना) लिएर परीक्षण गर्नु हो।

त्यो नमुना कसरी संकलन गर्नेदेखि टाढा–टाढाबाट ल्याउँदा कोल्डचेन मेन्टेन, त्यसको पठाउने विधिलगायत फरक पर्छ।

‘तराईमा तापक्रम बढिसकेको छ, यस्तो अवस्थामा सबै ठिक अवस्थामै स्वाब ल्याइन्छ भन्ने के आधार छ?,’ डा. शेरचनले भने।

जनस्वास्थ्य विज्ञ अमित अर्यालले इटाली र दक्षिण कोरियाका पछिल्ला अवस्थाको तुलनात्मक अध्ययनबाट संसारले पाठ सिकिरहँदा वा पछुताइरहँदा नेपाल सरकारले त्यसतर्फ ध्यान नै दिनुपर्ने बताए ।

‘संसारका धेरै देश महामारीसँग जुधिरहँदा हामीले तयारी गर्ने अवसर पाएका छौं, यो ठूलो सौभाग्य हो। तर, प्रयोगशालाको क्षमता बढाएर जतिसक्यो धेरै परीक्षण गरिएन भने भयावह अवस्था आउँदा के गर्ने ?।’

अहिलेको सन्दर्भमा नेपाल सरकारले काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै ‘कोभिड–१९’ परीक्षण गर्दै आएको छ।

प्रयोगशालाकी निर्देशक डा. रुना झाले आवश्यक परेको अवस्थामा सरकारले वीर र टेकु अस्पतालमा भएका उपकरणसमेत प्रयोगशालामा ल्याएर परीक्षण क्षमता बढाउने तयारी गरिरहेको बताउँदै आएकी छिन्।

डा. शेरचनले हाल आवश्यक परेको अवस्थामा दैनिक १ हजार ५ सय जनासम्मको परीक्षण गर्न सक्ने सामथ्र्य प्रयोगशालाको छ भनिए पनि त्यसको विश्वासिलो आधार नदेखिएको बताए।

अर्यालले पनि सरकार प्रयोगशालाको विकल्प बनाउन, नमुना संकलन प्रोटोकल वा विधि बनाउनमा नलाग्नुले महामारी आइहालेको अवस्थामा नियन्त्रण गर्न कठिन हुनसक्ने चेतावनी दिए।

‘अहिले बीसवटा नमुना परीक्षण गरिरहेको प्रयोगशालाले पन्ध्र सयको परीक्षण गर्छ भनेर कसरी पत्याउने? महामारीको अवस्थामा एउटै प्रयोगशाला राखेर नमुना लिएर, भीडभाड छिचोलेर पनि कसरी प्रयोगशाला पुग्ने, कसरी रिपोर्ट पाउने?,’ अर्यालको प्रश्न छ।

उनले रिपोर्ट पोजिटिभ आएको सन्दर्भमा पनि संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गर्ने र परीक्षण गर्ने प्रणालीसमेत विकास नभएको बताए।

‘सरकार अन्य सहजै गर्न सकिने काम गरिरहेको छ तर गाह्रो र प्राविधिक काममा पछाडि छ,’ अर्यालले भने, ‘हामी युद्धमा छौं तर काम गर्ने तरिका र पूर्वसावधानी (प्रिकसन) तरिका अपनाइरहेजस्तो मात्रै छ।’

सरकारले पछिल्लोपटक गत शुक्रबार कोभिड–१९ समुदायमा फैलावटको अवस्था पत्ता लगाउन परीक्षणको दायरा बढाउने निर्णय गरेको छ। त्यसैगरी समुदायमा फैलावटको अवस्था पत्ता लगाउन थप २० हजार परीक्षणका लागि किट तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ।

त्यस्तै शंकास्पद नमुना संकलन तथा प्रेषणका लागि ‘फोकल पर्सन’ तोक्नेलगायत निर्णय गरे पनि परीक्षणका दायराका सन्दर्भमा सरकार अझै संकुचित देखिएको छ।

कम्तिमा काठमाडौंभित्र त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालले परीक्षण गर्ने क्षमता राख्ने भएपनि विस्तारमा चासो नै नगएको उनको भनाइ छ।

उनका अनुसार उपत्यकाबाहिर पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखराजस्ता ठाउँमा केही क्षमता विस्तार गर्दा केही दिनमा परीक्षणको व्यवस्था मिलाउन सकिन्छ। अहिले कम्तिमा ७ लाखको खर्च गर्दा प्रदेश तहका प्रयोगशालामा कोरोना परीक्षणकोलागि योग्य बनाउँन सकिने प्रयोगशालाकै प्राविधिकहरु बताउँछन् ।

डा. शेरचनका अनुसार सबै प्रदेशमा कोरोना जाँच्ने क्षमता बढाउन चाहे राष्ट्रिय क्षयरोग केन्द्रमा पर्याप्त मात्रामा पिसिआर मेसिन छ। त्योबाहेक विद्यमान प्रयोगशालाहरूमा बायोसेफ्टी क्याबिनेट बनाउनुपर्छ।

प्रयोगशालामा यस्ता संवेदनशील भाइरस हुने भएका कारण त्यहाँको हावा बाहिर जाँदा जीवाणु नबाहिरियोस् भन्ने उदेश्यले हावा छानेर वा जीवाणुलाई निष्क्रिय गराएर बाहिर पठाउन हेपाफिल्टर जडान गर्नुपर्छ।

यसतर्फ ठोस काम नै नभएको आरोप विज्ञहरुको छ। प्रयोगशालाका अधिकारीहरूले समेत अनौपचारिक रूपमा आफूहरूले प्रदेशतहमा क्षमता विस्तार गर्न सिफारिस गरे पनि स्वास्थ्य मन्त्रालय तयार नभएको आरोप लगाउँदै आएका छन्।

सरकारी अधिकारीहरूले काठमाडौंका सन्दर्भमा निजी क्षेत्रका प्रयोगशालाको क्षमता भए पनि सकेसम्म परीक्षण गर्न नदिने रणनीति लिएका छन्।

विज्ञहरूले काठमाडांै केन्द्रित परीक्षण महामारीका हिसाबले पूर्णअव्यावहारिक र जोखिमपूर्ण समेत भएको टिप्पणी गरेका छन्। चीनपछि महामारी फैलिएको कोरियामा मृत्युदर कम हुन्, संक्रमण दर नियन्त्रण गर्न सक्नुको पछाडि र इटालीमा मृत्यु र संक्रमण दर बढ्नुको पछाडिका कारण पनि प्रयोगशाला परीक्षणसँग सम्बन्धित भएको विज्ञहरू बताउँछन्।

न्युयोर्कमा कार्यरत संक्रमण नियन्त्रण विशेषज्ञ केन्ट सेप्कोविचले सिएनएनमा प्रकाशन गरेको महामारीको तुलनात्मक अध्ययनसम्बन्धी लेखमा कोरियामा मृत्युदर कम हुन र संक्रमण कम फैलिनुको कारणमध्ये एउटा कोरोनाको व्यापक परीक्षण पनि भएको बताएका छन्।

कोरोना भाइरसलाई फैलिनबाट रोक्न सकेका देशहरुले पनि परीक्षणसँगै आइसोलेसनकै विधिबाट फैलिने क्रम रोकेका छन्।

‘हाम्रो परीक्षण को क्षमता बढाउनुको विकल्प छैन’ अर्यालले भने, ‘करिव ५ करोड कजनसंख्या भएको दक्षिण कोरियाले दिनहुँ १० हजार नमूना परीक्षण गरेर कोरोना भाइरस माहामारी नियन्त्रण गरिसक्यो, ३ करोड हाराहारी जनसंख्या भएको नेपालमा टेकुको एउटा प्रयोगशाला कसरी धान्छ’ अर्यालको प्रश्न छ ।

सरकारी अधिकारीले जेजस्तो दावी गरेपनि एनपिएचएलको अहिलेको सेटअपमा दिनमा ७० नमूना टेस्ट गर्न सक्ने आंकलन गरिएको छ । अहिले पनि प्रयोगशालाले अधिकतम २० नमुना मात्रै परीक्षण गरेको देखिन्छ।

विज्ञहरूका अनुसार समयमा परीक्षण गर्दा संक्रमितले समयमा उपचार पाउँने हुँदा मृत्युदर कम हुनुका साथै समयमै रोग पहिचानले संक्रमण दर पनि घटाउन सकिन्छ।

भाइरसले गराउने बिरामी दर र मृत्युदर दुवै घटाउन संसारभर परीक्षणमा जोड दिएरै विश्व स्वास्थ्य संगठनले पनि ‘परीक्षण! परीक्षण! परीक्षण!’ मा जोड दिएको छ।
विज्ञहरुका अनुसार हाम्रो संभावित आवश्यकतालाई एनपिएचएल एक्लैले धान्न नसक्ने निश्चित भइसक्दा पनि सरकार अन्य प्रयोगशालाको क्षमताको प्रयोगमा ध्यान दिएको छैन् । अहिलेकै अवस्थामा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, नेपाली सेनाको अस्पताल, नेपाल प्रहरीको अस्पतालालाई तुरुन्त अस्थायी अनुमति दिन ढिला गर्न नहुने विज्ञहरु बताउँछन् ।

तर, नेपालमा भने प्रयोगशालाका अधिकारीले निजी क्षेत्रमा मात्रै होइन प्रदेश तहमा समेत परीक्षण विस्तार रोक्न खोजेको देखिन्न ।

छिमेकी भारतको नेपालसँग सहज पहुँच भएका सिमानाका उत्तरप्रदेश, लखनउमा समेत कोरोना देखिइसकेको अवस्थामा जोखिममा रहेका धनगढी, नेपालगन्ज क्षेत्रबाट पनि परीक्षणका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ। जुन गम्भीर महामारीको सन्दर्भमा अव्यावहारिक र जोखिमपूर्ण हो।

किन उठिरहेछ परीक्षणमा प्रश्न ?

यही सन्दर्भमा कतिपय प्रतिष्ठित चिकित्सक एवं माइक्रोबायोलोजिस्टले समेत नेपालमा भइरहेको नमुनाको परीक्षणमा प्रश्न उठाउँदै आएका छन्। यद्यपि प्राविधिक तहमा हुने एनपिएचएलको परीक्षणलाई विश्वासीलो बनाउँन विश्वस्वस्थ्य संगठनको निरन्तर सुपरीभिजनसँगै अन्तराष्ट्यि प्रयोगशालामा क्रस परीक्षणसमेत भइरहेको छ । तर, विज्ञहरुले नमूना संकलन, नमूना प्रेषणसँगै कीट पनि हाम्रो सन्दर्भमा कामयवी हुनेनहुने अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।

‘अहिले नेपालमा यो भाइरसको स्ट्रेन्थ के हुन सक्छ अर्थात् हाम्रो देशमा यो भाइरसको पोजेटिभ कन्ट्रोल परीक्षण हुनुपर्छ,’ डा. शेरचनले भने, ‘अहिले आएका किटहरू खासगरी युरोप र चीनलगायतका देश लक्ष्य गरेर आएका हुन्, ती हाम्रो सन्दर्भमा काम नलाग्ने पो छन् कि भनेर पनि शंका गर्नुपर्छ।’

संसारभर महामारीको रूप लिएको रोगमा नेपालमा सबै नेगेटिभ आइरहनु राम्रो भए पनि त्यसका सन्दर्भमा पनि शंका गरेर थप अनुसन्धान आवश्यक पर्छ।

डा. शेरचनले अहिले भइरहेको परीक्षण रोकथाम तरिकाबाट ठिक भए पनि त्यसको सन्दर्भमा विस्तृत अनुसन्धान हुनुपर्ने बताए।

‘प्रशासनिक र प्राविधिक भएर नेगेटिभ–पोजेटिभ हेरेर मात्रै हुन्न, भाइरसको साइन्टिफिक अध्ययन हुनुपर्छ,’ उनले भने।

वतावरण, भूगोल र समाज भिन्न हुँदा भाइरसको सेन्सिटिभिटी र स्ट्रेन्थ फरक हुन सक्ने भन्दै डा. शेरचनले अनुसन्धानमा जोड दिए। अहिले न्यु कोरोना भनिएको भाइरस पनि सुरुमा सन् १९३६ मा न्युजिल्यान्डमा सात महिने शिशुमा भेटिएको थियो। उक्त भाइरस सन् २०१२ मा साउदी अरबबाट ऊँटमा आएको र २०१५ मा चीनमा देखिएको थियो।

यस अघि देखिएको कोरोना भन्दा यसपटकको भाइरस निकै भिन्न र शक्तिशाली छ । २०१५ मै चीनमै देखिएको भन्दा फरक भएका कारणले अहिलेको भाइरसलाई न्यु कोरोना कोभिड– १९ नामकारण गरिएको थियो।


अहिले देखिएको भनिएको भाइरस फरक भूगोल र समाजमा पुग्दा पुरानो स्टे«न्थ शिथिल भएर नयाँ स्टे«न्थ बनिसक्ने र फरक देशको सन्दर्भमा काम गरेको किटले अर्कोमा परीक्षण गर्दा वास्तविक नतिजा नदिन पनि सक्ने हुन्छ।

रोटा भाइरसको सन्दर्भ अहिले हाम्रा लागि पाठ हुनसक्छ । सरकारी स्तरको आइओएममा रहेको अनुसन्धान प्रयोगशालाले रोटा भाइरसको नयाँ स्टे«न्थ हाम्रो सन्दर्भमा पत्ता लगाएको थियो । सोही आधारमा अन्यत्र चलेका भ्याक्सिन प्रभावकारी नभएरै नेपालका बालबालिकाका लागि ककटेल भ्याक्सिन बनाएर प्रयोग गरिएको छ ।

रोटा र कोरोना एउटै आरएनए समूहका भाइरस भएको विज्ञहरू बताउँछन्।
कोरोना फोक्सोमा पुगेर श्वासप्रश्वास प्रणालीमा असर गर्छ भने रोटा पेट तथा पाचन प्रणालीमा गएर असर गर्छ। यो आधारमा पनि नेपालमा यो भाइरसको प्रभाव कति पर्नसक्छ भनेर अनुसन्धान हुनुपर्ने विज्ञहरु बताउँछन् ।

के गर्नुपर्छ ?

विज्ञहरूले एकातिर अहिले भएको प्रयोगशालाको परीक्षण विस्तार र अर्कोतिर भाइरसको स्टे«न्थसँगै किटको सान्दर्भिकतासमेत परीक्षणमा जोड दिएका छन्।

प्राविधिकहरूका अनुसार अहिले नेपालमा प्रयोगशालामा रियलटाइम बेस पिसिआर परीक्षण भइरहेको छ। त्यसका लागि नेपालसँग १ हजार ५ सय हाराहारीमा मात्रै किट छ। सुरुमै सरकारले प्रयाप्त कीटको प्रवन्ध गर्नुपर्छ ।

‘रोगको रोकथाम र महामारी फैलिसकेको अवस्थामा पनि सबैभन्दा पहिलो आवश्यकता एक दिनमा हजारौको संख्या टेस्ट गर्न सक्ने क्षमता तुरुन्त बिकास गर्नुपर्छ’ अर्यालले थपे, ‘यो सजिलो काम होईन, सबै काम अहिले आएर रातारात विकास गर्न परेको छ। कोरोना भाइरसको माहामारीलाई पार लगाउँन सबैले एक नयाँ गति चाहिन्छ । ’

अर्यालका अनुसार परीक्षण क्षमता, कीटको प्रवन्धसँगै परीक्षण नमूना प्रेषण प्रणाली विकास गर्न ढिला गर्नुहुन्न । अहिले पनि स्वास्थ्य मन्त्रालयदेखि, अस्पतालहरु, चिकित्सक, प्रयोगशाला र बिरामीबीचमा प्रभावकारी संचारको प्रणाली चाहिन्छ ।

‘हरेक डाक्टर र अस्पताललाई आफ्नो बिरामीको नमूना कहाँ पठाउने, परीक्षणको नतिजा कहिले र कसरी आउछ, आएन भने ल्याबलाई कसरी सम्पर्क स्थापित गर्ने, आएपछि बिरामीलाई कसरी थाहा दिने, यदि पोजेटिभ आयो भने अस्पताल र डाक्टरले के गर्ने लगायतका कुरा स्पष्ट सञ्चार चाहिन्छ ।’

डा. शेरचनले नेपालमा क्लिनिकल भाइरोलोजिस्ट, प्याथोलोजिस्ट अभाव नभए पनि सरकारले प्रिभेन्टिभ र साइन्टिफिक समूह बनाएर अनुसन्धान र रोकथाममा लाग्नुपर्ने बताए।

कसरी हुन्छ परीक्षण ?

२०१९ डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोना केही दिनमै अर्थात् माघ ९ मा नयाँ केस भेटिएको थियो । सुरुको परीक्षण डब्लुएचओको थाइल्याण्डस्थित प्रयोगशालाबाट गरिएको थियो भने, त्यसको केही दिनभित्रै नेपालमा परीक्षण सुरुवात गरिएको थियो । कोरोना लक्षण र संक्रमित व्यक्ति वा ठाउँको सम्पर्कका आधारमा शंकास्पद देखिएमा नमूना लिएर रियालटाइम बेस पिसिआर विधिबाट परीक्षण गरिन्छ ।

प्राविधिकहरूले नमुनाबाट पहिला भाइरसको आरएनए छुट्ट्याएर त्यसपछि सिडिएनए बनाउने र रियालटाइम पिसिआर (प्राइम र प्रोभ) का आधारमा कोरोनाको पोजिटिभ नेगेटिभ छुट्ट्याउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय