कोरोना सन्त्रास : नरैनापुरतर्फका सबै भारतीय नाका सिल

गुरमुरत यादव/नेपालगञ्ज
प्रकाशित
२०७६ चैत ९ गते ९:२०

विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई मध्य नजर गर्दै बाँकेको सीमावर्ती ग्रामीण क्षेत्र नरैनापुर गाउँपालिकाले भारतसँग जोडिएका सबै नाका शनिबार १० बजेबाट सिल गरेको छ। भारतीय क्षेत्रमा कोरोना संक्रमण तीब्र रुप लिँदै गएपछि भारतीय क्षेत्रबाट हुने सबै आवागमन अनिश्चित समयका लागि रोकिएको बताइएको छ।

नरैनापुर गाउँपालिका भारतीय क्षेत्र श्रावस्ती र बहराईचसँग जोडिएको र सो क्षेत्रमा कोरोना संक्रमित विरामी फेला परेको सूचना भारतीय स्वास्थ्य संस्थाले जारी गरेपछि सिमा क्षेत्रमा निगरानी र सतर्कता बढाइएको गाउँपालिकाले जनाएको छ।

‘नागरिकको आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ’,  हेल्थपोस्ट नेपालसँग कुरागर्दै सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज विरेन्द्र बहादुर जिसीले भने, ‘सीमा सुरक्षा कार्यालयबाट प्राप्त भएको निर्देशन बमोजिम कोरोनाविरुद्ध सतर्कता अपनाइएको हो।

नरैनापुर गाउँपालिकाको सुइया, बनियागाउँ, रोशनपूर्वा, घोडदौरिया, ककरदरी, रामपुर, शोनवर्षासहितका नाकामा स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी परिचालित छन्। यसअघि स्वास्थ्य जाँच गरेर मात्र आवागमन गर्ने ब्यवस्थालाई हटाउँदै थप सतर्कताका लागि आवागमनमै रोक लगाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मान बहादुर बिसीले बताए।

‘भारतीय क्षेत्रको आवागमनले नागरिक स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्य नजर गरी सीमा क्षेत्रमा आवागमन ठप्प पार्नु परेको हो’, नरैनापुर स्वास्थ्य संयोजक मोइन खाँले भने, ‘नागरिक स्वास्थ्यसँग कुनै सम्झौता गर्न मिल्दैन।’

विश्वनै कोरोनाविरुद्धको संघर्षमा गरिरहेका बेला नरैनापुर गाउँपालिकाका स्वास्थ्यकर्मीले गाउँ–गाउँमा माइकिङ्ग गरी संक्रमणबाट बच्ने तरिका बारे सुझाव दिइरहेका छन्। गाउँपालिकाले स्थानीय अवधि भाषामा ब्राउसर र पम्पलेट जारी गरी नागरिकलाई सचेत बनाउँदैछ।

समयमै सचेत रहेर सावधानी अपनाए भाइरसको संक्रमणबाट जोकिएर ठूलो क्षेतीबाट बच्न सकिन स्वास्थ्य उपचारमा लखनउ रहेका नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताए।

उत्तर प्रदेश राज्य सरकारले पनि चीनमा कोरोना देखा परेसँगै भारतका हरेक नाकामा स्वास्थ्यकर्मी परिचालन गरी आवागमन गर्ने नागरिकको स्वास्थ्यस्थिति जाँच गर्दै आएको छ। भारतीय पक्षले पनि शनिबार विहानबाट नै सीमा क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरि आवागमन ठप्प पारेको छ।

नरैनापुर क्षेत्रमा कोरोना संक्रमित विरामीका लागि क्वारेन्टाइन नभएपनि तत्कालै ब्यवस्थित स्थानसम्म प-याउन एम्बुलेन्ससहितको ब्यवस्था मिलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय