बुटवलको धागो कारखानामा आइसोलेसन अस्पताल बनाइँदै

कोरोना भाइरस सक्रमणको साबधानी स्वरुप बुटवल धागो कारखानामा आइसोलेसन अस्पतालको तयारी सुरु भएको छ।

बुटवल उपमहानगरपालिकाको अगुवाईमा रामनगरस्थित औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको धागो कारखानामा आइसोलेसन अस्पताल सञ्चालन गर्न लागिएको हो। २४ घण्टाभित्र सञ्चालनमा ल्याउने गरी एक सय बेडको आइसोलेसन अस्पताल सञ्चालनका लागि तिव्र गतिमा काम सुरु गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक सहयोग र प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयसँगको सहकार्यमा नगरपालिकाले आइसोलेसन अस्पताल निर्माणको काम सुरु गरेको हो।

ज्वरो, रुघाखोकी जस्ता लक्षण लिएर आउने विरामीलाई अस्पतालहरूले कोरोना संक्रमणको आशंकामा भर्ना लिन नमानेपछि बुटवलमा छुट्टै आइसोलेसन अस्पताल सञ्चालन गर्न लागिएको उनको भनाई छ।

बुटवल भित्रकै सरकारी तथा निजी अस्पतालहरूमा कोरोना संक्रमणका विरामीहरूको उपचारका लागि डेढ दर्जन बढी आइसोलेसन बेड तयार रहेको भनिएपनि कोरोनासँग मिल्दो लक्षण लिएर आउने विरामीलाई अस्पतालहरूले अन्यत्र पठाउने गरेको गुनासो आएको छ। यो अस्पताल बनेपछि त्यस्ता बिरामीका लागि सहयोग पुग्ने देखिएको छ।

धागो कारखानाका भवनमा खाली अवस्थामा रहेका हलको प्रयोग गरी बेड राखेर आइसोलेसन अस्पताल सञ्चालन गर्न लागिएको उपमहानगरपालिकाले जानकारी दिएको छ।

अस्पताल सञ्चालनका लागि आवश्यक बेड यहाँका निजी अस्पतालहरूले समेत उपलब्ध गराउने छन् भने आवश्यक प्राविधिक सहयोग लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले गर्नेछ।

फलामका तिसवटा भन्दा बढी बेड धागो कारखानामा त्यतिकै रहेकोले त्यसलाई मर्मत गरेर बेडको रुपमा प्रयोग गर्न सकिने अध्ययनबाट देखिएको छ।

सनिबार साँझसम्म सञ्चालनमा ल्याउने तयारी स्वरुप अहिले धागो कारखाना परिसरमा शौचालय निर्माण, विद्युत जडान तथा रङरोगनको काम भइरहेको छ। निर्माण व्यवसायी संघ रुपन्देहीले अस्पतालको लागि ३० वटा अस्थायी शौचालय निर्माण गरिदिने भएको छ।

त्यस्तै विरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि एक सय थान सुरक्षित एप्रोन काठमाडौंबाट ल्याउँदै गरिएको छ।

बुटवलमा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएको कुनै पनि विरामी नभेटिए पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चार/पाँच जना विरामी आउने गरेकोले ति विरामीहरूको ल्याब परीक्षणको रिपोर्ट नआउँदासम्म आइसोलेसन अस्पतालमै राखी उपचार गरिने उपमहानगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय