‘ज्यान जोगाउन घरै फर्कियौं’

हेल्थपोस्ट नेपाल

बझाङ देउरकी बसन्ती रावल परिवारसहित तीन बर्षदेखि भारतमै बस्दै आएकी थिइन्। श्रीमान र उनका दुई छोरा केरलामै भारतकै केरलामा काम गर्थे।

तर दुई सातादेखि भारतमा फैलिएको कोराना भाइरसको संक्रमण फैलिएपछि उनीहरु घर फर्किएका छन्।

‘नेपालमा कोरोना लाग्दैन होला भनेर हामी त फर्कियौं’ बुधबार परिवारसहित गौरीफण्टा नाका आइपुगेकी उनले भनिन्– ‘ज्यान त जोगाउनै प¥यो, अनि उताबाट जागिर छोडेर आयौं।’
उनका श्रीमान र छोराहरुको कमाइ पनि राम्रै थियो। उनी पनि डेराको काम सम्हाल्थिन्।

‘तीन बर्ष अघि घरमा परेको ऋण चुक्ता गरेर तराईमा जग्गा जोड्ने योजना थियो, कोरोनाले सवै सपना उडाइदियो’ उनले भनिन्।
भारतको केरला राज्यमा भाइरसको संक्रमण सबैभन्दा बढी छ।

उनीहरुमात्रै होइन, यतिबेला भारतमा भएका नेपाली धमाधम नेपाल फर्किन थालेका छन्।

नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपछि सबै छोडेर देश फर्किएको उनीहरु बताउँछन्।

‘हामी सँगै काम गरिरहेका एक सयभन्दा धेरै नेपाली घर फर्केका छन्’ उनले भनिन् ‘अन्य ठाउँका मान्छे पनि आउने भन्दैछन्।’

बझाङको देउराका पबित्र भण्डारीले पनि भारतमा कोरोनाको त्रास बढेपछि सुरक्षित हुन सुदूरपश्चिम भित्रिएको बताए । उनी दुई वर्षदेखि भारतमै थिए।

‘स्वदेशमा काम नै नभएपछि उता गएको हो’ उनले भने ‘तर, अहिले भारतमा कोरोनाको उस्तै डर छ, धेरै समय त्यस्तै भए त भोकै मरिन्छजस्तो छ।’

उनले भारतबाट फर्केका नेपालीलाई प्रदेश सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्दा राम्रो हुने बताए।

धनगढीको भन्सारस्थित त्रिनगर प्रहरी चौकीका अनुसार पछिल्लो समय दैनिक कम्तीमा दुई हजार नागरिक गौरिफण्टा नाका हुँदै सुदूरपश्चिम भित्रिएका छन्।
अरु समयमा दैनिक एक हजारदेखि एक हजार पाँच सयको हाराहारीमा नेपाल प्रवेश गर्ने दर अहिले बढेर दुई हजारदेखि चार हजारसम्म पुगेको त्रिनगर प्रहरी चौकीका इन्चार्ज महादेव भट्टले बताए।

उनले गौरिफण्टा नाका हुँदै भारत जानेको संख्या भने शुन्य जस्तै भएको बताए।

गौरिफण्टा नाका हुदै सुदूरपश्चिम भित्रिने सवै नेपालीको विहान ५ बजेदेखि राति ९ बजे सम्म स्वास्थ्य चेकजाँच गर्ने गरेको उनले बताए।

प्रदेश सरकारले सुदूरपश्चिमका लागि कैलालीको गौरिफण्टा, खक्रौला र कञ्चनपुरको गड्डा चौकी नाकाबाट आवत जावत गर्न छुट दिएको छ । यीबाहेक सुदूरपश्चिमबाट भारतसँग जोडिएका छोटी नाकाहरु भने बन्द गरेको छ ।

भारतमा नाका बन्द गरेको हल्लाले नेपाली अन्याेलमा 

भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका मुख्य तीन नाकामा बन्द गरिएको अफवाह फैलिँदा कतिपय नेपाली भने फर्किन सकेका छैनन्।

भारत सरकारले तेस्रो मुलुकका नागरिकलाई सुदूरपश्चिमबाट आवागमन बन्द गरिदिएको छ।

तर नेपाली नागरिकका लागि गड्डा चौकी, गौरिफण्टा र खक्रौला खुल्ला छ।

‘उता त नेपालीलाई आउन पनि नदिने जान पनि नदिने भन्ने हल्ला फैलिएको छ’ डोटी जोरायलका भुवनेश्वर शाहीले भने।

कोरोना त्रासकै कारण केरलाबाट काम छोडेर नेपाल आएका उनले आफुपनि दोधारकी बीचमा नेपाल आइपुगेको बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *