‘मास्क छैन, सल र गल्बन्दीले मुख छोप्न भनिरहेका छौं’

हेल्थपोस्ट नेपाल

काठमाडौं । विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र त्रासले आक्रान्त बनेको छ। नेपालले पनि कोरोनाको संक्रमणलाई रोक्न विभिन्न उपायहरू अपनाई रहेको छ। एसईई परीक्षा पनि सरकारले महामारी रोक्न पूर्व तयारी भन्दै स्थगित गरेको छ।

सरकारले एकै ठाउँमा २५ जना भन्दा बढी जम्मा नहुन, भिडमाड नगर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह गरिरहेको छ। हेल्थपोस्ट नेपालले गाउँस्तरमा कोरोनाको सम्भावित महामारीबारे जनचेतना र तयारीका बारेमा बुझ्ने कोसिस गरेको छ।

सोलुखुम्बुको नेचासल्यान्ड गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोताले मंगलबार आफूहरूले विपद् व्यवस्थापन समितिको बैठक बोलाएर जनचेतनामूलक कार्यमा जुटिरहेको बताए। ‘यहाँका धेरै जनताले कोरोनाको जोखिमबारे, यसको संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे नै बुझेका छैनन्’, उनले भने, ‘त्यसैले हामीले उहाँहरूलाई सावधानीका बारेमा बुझाइरहेका छौं।’

गाउँपालिकामा नयाँ मास्कको समस्या रहेकाले आफूसँग भएका सामग्रीलाई नै प्रयोग गर्न वा सल, गल्वन्दीलगायत कपडाले मुख छोप्न भनिरहेको उनले बताए। ‘विभिन्न देश र स्थानबाट मान्छे आइरहेका हुन्छन्। त्यसैले हामीले गाउँपालिकाका दुई सिमाना वडा नम्बर ५ स्थित गौरी र वडानम्बर २ स्थित खाल्पामा हेल्थ डेस्क राखेका छौं’, उनले भने।

उनले जनचेतनामुलक पर्चा बनाएर विद्यालय मार्फत प्रत्यक अभिभावकको घरघरमा पु¥याइएको बताए। बजार क्षेत्रमा गाउँपालिकाले सावधानी अपनाउन आग्रह गर्दै जनचेतनासहितको माइकिङ गरिरहेको जानकारी दिए ।

यस्तै जुम्लाको पातारासी गाउँपालिका पनि कोरोनाको जोखिम न्युनिकरणको पूर्वतयारीमा जुटेको छ। गाउँपालिका अध्यक्ष लछिमन बोहराले बुधबार मात्रै पालिका स्तरीय बैठक बसेर पूर्व तयारीमा जुटेको बताए। हामीले समाचार तयार पार्दा पनि आफूहरू एक नम्बर वडामा जनतालाई कारोनाको जोखिम र सावधानीका बारेमा जनचेतना जगाइरहेको बताए। उनले तीन दिनसम्म प्रत्येक जनताको घरघरमा पुगेर सचेत गराइने बताए।

‘हामीले आइसोलेसनका लागि वडा नम्बर ४ मा रहेको कर्णाली इन्स्टिच्युटको भवन लिइसकेका छौं। जसमा विद्युत लगायत आवश्यक उपकरण जडान कार्य भइरहेको छ’, उनले भने, ‘पालिकामा हेल्थ डेस्क राख्ने निर्णय भएको छ। पालिकाका सात÷आठ स्थानमा जनचेतना मुलक बोर्ड टाँसेका छौं।’

अछामको मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले पनि गाउँपालिकाले कोरोना रोकथामका लागि जोडतोडका साथ तयारी गरिरहेको बताए। उक्त क्षेत्रमा भारतबाट रोगारी गर्न गएका नेपालीहरूको आवागमन बाक्लो रहेकाले जोखिम रहेको भन्दै गाउँपालिकाले सावधानी अपनाएको बताए। उनले भारतबाट आउने मान्छेको अनिवार्य चेकजाँच गर्न थालिएको बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *