कोरोना कहर : त्रिविका सबै शैक्षिक कार्यक्रम बन्द

त्रिभुवन विश्वविद्यालयका सबै आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पस चैत मसान्तसम्म बन्द हुने भएका छन्।  विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरसरको जोखिमका कारण चैत ७ गतेदेखि सबै क्याम्पस बन्द गरिने त्रिवि सभा तथा कार्यकारी परिषदको सचिवालयले जनाएको छ।

सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गरी सबै शैक्षिक कार्यक्रम बन्द गरिएको र शिक्षक(कर्मचारीलाई बिदा दिइएको जनाएको छ।  रक्षामन्धी ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समिति बैठकले चैत ५ गते विश्वविद्यालयको पठन(पाठन बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि त्रिवि परिषदले बिदा दिने निर्णय गरेको हो।

विश्वविद्यालयले स्कुल, कलेजका शिक्षक र कर्मचारी सबैलाई बिदा दिएको छ। हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको परिषदका प्रवक्ता सूर्यप्रसाद अधिकारीले बताए।

यस्तै, चैत ७ गतेदेखि सञ्चालन हुने परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गर्न परिषदले केन्द्रीय परीक्षा सञ्चालक समिति तथा सम्बन्धित डिन कार्यालयलाई निर्देशन दिएको छ। विश्वविद्यालय सेवा आयोगका सबै अन्तर्वार्ता र परीक्षाका कार्यक्रम पनि रोकिने भएका छन्।  विश्वविद्यालयको नियमित प्रशासनिक काम भने यथावत् सञ्चालन हुने परिषदको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय