परीक्षण, परीक्षण अनि परीक्षण, नत्र जितिँदैन कोरोना

जति जति तथ्यांकहरु हेर्छु, विश्लेषण गर्छु, उति उति नेपालमा एउटा मात्र कोभिड-१९ पोजिटिभ देखिएको हो भनेर पत्याउनै सक्दिनँ। विश्वभरका देशहरुमा यो भाईरस फैलदै गर्दा नेपाल मात्र हरियो भयो, अर्थात सबै संक्रमण निको भएको, नयाँ संक्रमण नदेखिएको भनेर खुसी हुँदै ढुक्क रहन सक्दिनँ।

४७० जनामा कोरोना परिक्षण गरिएकोमा १ जनालाई छोडेर सबै नेगेटिभ रिपोर्ट आएको छ। कुरा राम्रो हो। तर प्रश्न उठ्छ के यो ‘हाम्रोमा कोभिड-१९’ को थप विरामी देखिएको छैन वा यसको प्रकोप छैन’ भन्नका लागि पर्याप्त छ?

कसलाई कोभिड-१९ शंका गर्नुपर्छ, विश्व स्वास्थ्य संगठनले भने अनुसार शंकास्पद विरामी भनेको को को हुन्?

१. ज्वरो र कम्तीमा स्वासप्रश्वाससम्बन्धी लक्षण जस्तै खोकी, सास फेर्न गार्हो हुने देखिएको नयाँ श्वासप्रश्वासको समस्या भएको विरामी जुन लक्षणहरु अरु कुनै कारणबाट भएको हो भनेर ठम्याएर भन्न सकिदैन र यी लक्षण देखिनु भन्दा १४ दिनअघिसम्ममा कोभिड-१९ भाईरस समुदायमा फैलिएको रिपोर्ट गरिएको क्षेत्र वा देशमा गएको वा बसेको हुनुपर्छ।
अथवा

२. नयाँ देखिएको श्वासप्रश्वासको समस्या भएको विरामी जो कोभिड-१९ पोजिटिभ वा सम्भावित विरामीसँग लक्षण देखिनु भन्दा १४ दिन अघिसम्ममा सम्पर्कमा आएका छन्
अथवा

३. ज्वरो र खोकी, सास फेर्न गार्हो हुने जस्ता श्वासप्रश्वास सम्बन्धी कुनै एक लक्षण देखिएका अस्पताल भर्ना गर्नुपर्ने नयाँ श्वासप्रश्वासको सिकिस्त विरामी र जुन समस्या यो कारणले गर्दा हो भने ठम्याएर भन्न नसकिने विरामी।

कोभिड-१९ भाईरस समुदायमा फैलिएको रिपोर्ट गरिएको क्षेत्र भनेर कुन कुनलाई मान्ने? कहाँकहाँबाट आएको श्वासप्रश्वासका विरामीलाई कोभिड-१९ शंका गर्ने?

विश्वमा १६५ भन्दा धेरै देशमा पोजिटिभ देखिएको र दिनदिनै यसको प्रकोप फैलिंदै गएको अवस्थामा कुन देश, क्षेत्रलाई समुदायमा फैलेको मान्ने भन्ने पनि हरेक दिन फेरिएको छ, बढ्दो छ। सुरुमा चीनलाई मात्र मानिएकोमा अहिलेको अवस्थामा ईरान, दक्षिण कोरिया, युरोपमा अधिकांश देशहरु इटाली, स्पेन, जर्मनी, फ्रान्स, स्वीजर्लेन्ड, बेलायत, नेदरल्यान्ड, नर्वे, स्वीडेन, बेल्जियम, अष्ट्रिया, अमेरिका आदि देशमा १००० भन्दा बढी संख्यामा पोजिटिभ केस देखिइसकेको छ।

यी बाहेक अन्य विभिन्न देशहरुमा पनि पोजिटिभ केसहरु देखिने संख्या बढ्दै गएको छ। मार्च १८ को तथ्यांक अनुसार नेपालीहरु प्रशस्त आवतजावत हुने देशहरु मध्ये जापानमा ८८२ पोजिटिभ (२९ मृत्यु), क्यानडामा ५९८ पोजिटिभ (८ मृत्यु), अष्ट्रेलियामा ४५२ पोजिटिभ (२ मृत्यु), पोर्चुगल ४४८ पोजिटिभ (१ मृत्यु), कतारमा ४४२ पोजिटिभ, साउदी अरबमा १७१ पोजिटिभ, हंङकङमा १६८ पोजिटिभ, कुवेतमा १३० पोजिटिभ, युएईमा ११३ पोजिटिभ देखिएको छ। छिमेकी देश भारतमा १४७ मा पोजिटिभ देखिएको र ३ जनाको मृत्यु भईसकेको छ। पाकिस्तानमा २४७ जनामा देखिएको छ।

यी देशहरुमा समुदायमा कोभिड-१९ फैलिएको मान्ने कि नमान्ने? हरेक देशको जनस्वास्थ्यको अवस्था सही तरिकाले मूल्यांकन गर्न गार्हो होला, त्यसैले यसको ठयाक्कै सही उत्तर दिन नसकिएला, फरक फरक देशले आफ्नो अनुसार मानेर नियम बनाउन सक्छ। तर निर्देशिका अनुसार काम गर्ने हो भने ती देशहरुबाट आएका व्यक्ति वा तिनको सम्पर्कमा आएका व्यक्तिहरुलाई ज्वरो, खोकी आए कोभिड-१९ को शंका गरेर

परिक्षण गर्नुपर्ने हो कि हैन? के यसो गरिएको छ त?

नेपालमा अहिलेसम्म ४७० जनाको परिक्षण गरेको छ, जसमा १९५ त चीनबाट उद्दार गरेर ल्याएको १७५ जना र उद्दार गर्ने टोली नै हुन्। ती बाहेक अरु २७५ जनाको मात्रै परिक्षण भएको छ। के माथिका विभिन्न संक्रमित देशबाट आएका, ज्वरो आएको, नआएको संभावित कोभिड-१९ का व्यक्तीहरु यत्ति नै हुन् त? अरु बाँकीको परिक्षण किन भएको छैन?

ल परिक्षण त भएन भएन, ती सेल्फ क्वारान्टाइनमा बस्दा के समस्या आयो आएन, तीनले कती सही तरिकाले क्वारान्टाइनमा बसेका छन्, घुम्दै अरुलाई सार्दै पो हिंडेका छन् कि त्यसको केही जानकारी सम्बन्धित सरकारी निकायसँग छ? सरकारले मात्र यसको नियमन गर्न सक्दैन भने अरु प्राइभेट निकाय, समूहहरुसँग के कती समन्वय गरेको छ? अझै ढिलो भएन र?

‘पोर्चुगलमा एक नेपालीलाई कोभिड-१९ पोजिटिभ देखिएको र ७४ जना क्वारान्टाइनमा छन्’ भन्ने समाचार आएको छ। पोर्चुगलबाट ती नेपालीको सम्पर्कमा रहेर नेपाल फर्केका कति जना छन्? के ति सबै क्वारान्टाइनमा छन्? तिनमा केही लक्षण देखियो कि देखिएन? ति क्वारेन्टाइनमा नबसेको भए तिनले अरु आफन्त भेटघाट कति गरे? तिमध्ये कोही विरामी भए भएनन्? ति विरामीको कोभिड-१९ जाँच गरिएको छ कि छैन?

नेपालमा ति देशहरुबाट आएका लक्षण नदेखिएका व्यक्ति सम्भावित कोभिड-१९ संक्रमण भएको मानेर आउन बन्द गरिने वा आएको भए ‘सेल्फ क्वारान्टाइन’मा बस्न कडाई गरिने काम भएको छ कि छैन? न्यूजहरुमा आए अनुसार, विभिन्न व्यक्तीहरुले हाम्रो त्रिभुवन विमानस्थलको अनुभव बताए अनुसार जुन सुकै देशबाट आएको भए पनि ज्वरो नापिन्छ, ज्वरो छैन भने ‘सेल्फ क्वारान्टाइन’मा बस्न भनिन्छ। ति व्यक्ति

सही तरिकाले ‘सेल्फ क्वारान्टाइन’मा बसेका छन् कि छैनन् भनेर कसैले हेर्न भ्याएको छ कि छैन? के यो कोभिड-१९ को प्रकोप रोक्न पर्याप्त छ?
(हुन त केहीलाई विमानस्थलबाट फर्काइयो भनेर पनि न्यूज आएको छ तर, यो कडाइ भर्खरै मात्र सुरु गरिएको हो।)

हाम्रोमा परिक्षण प्रविधि नहुँदा, निर्देशिका र त्यसलाई मान्ने चलन नहुँदा धेरै ‘Definite Diagnosis, डेफिनेट डायग्नोसिस’ हुँदैन, यो पनि समस्या हो । हाम्रोमा धेरैजसो रोगको माइक्रोबाइलोजिकल्ली यही ब्याक्टेरिया वा भाईरसले संक्रमण गरेर विरामी भएको हो, निमोनिया भएको हो, ज्वरो आएको हो भनेर कन्फर्म गर्ने चलन छैन, संयन्त्र पनि पर्याप्त छैन। धेरैजसो डायग्नोसिस ‘फिभर अन्डर इभ्यालुएसन/ Fever Under Evaluation’, ‘भाइरल फिभर/ Viral Fever’, एई सिओपिडी AE of COPD’, ‘बाइलेटरल निमोनिया/ Bilateral Pneumonia’ आदी भनेर गरिन्छ। भाईरल फिभर हो भने कुन भाईरसले गरेको हो भन्ने छुट्ट्याइन्न, निमोनिया कुन भाईरस, ब्याक्टेरियाले गरेको हो थाहा नै हुन्न। अहिलेको कोभिड-१९ को बढ्दो प्रकोपमा माथिका देशहरुबाट आएका मान्छेसँग १४ दिनभित्र संपर्कमा आएर श्वासप्रश्वास सम्बन्धी विरामी भएकाहरुको कि अरु ब्याक्टेरिया भाईरस ले हो भनेर किटान हुनुपर्यो कि कोभिड-१९ हैन भनेर जाँच हुनुपर्यो।

अहिले ज्वरोको विरामी बढ्ने सिजन नै हो, तर यी धेरै देखिएका ज्वरोका विरामी कुन भाईरस वा ब्याक्टेरियाका संक्रमणका कारणले गर्दा भएका हुन् भनेर ठम्याउने न चलन छ न सम्भव छ। धेरैजसो हामी विरामीको लक्षण र कति सिकिस्त छ भन्ने आधारमा क्लिनिकल डायग्नोसिस र उपचार गरिरहेका हुन्छौं। के ४७५ जनाको मात्र जाँच गरेर अहिले बढेका ज्वरोका विरामी कोभिड-१९ का हुँदै हैनन् भन्न सकिने अवस्था छ?

केही दिनअघि नेपालका विभिन्न क्षेत्रमा डेंगुका विरामीहरु देखिन थालेको भन्ने समाचारमा आएको थियो। सिंगापुरमा दुइ जनामा ज्वरोका विरामीमा किटबाट जाँच गर्दा डेंगु पोजिटिभ देखिएर डेंगु भनी उपचार सुरु गरिएको तर पछि पीसीआर प्रविधीबाट जाँच गर्दा डेंगु नेगेटिभ र कोभिड-१९ पोजिटिभ देखिएको पाईएको छ। के हामी कहाँ अहिले देखिन थालेका डेंगु पोजिटिभ केसहरु डेंगुकै हुन् त? कतै ती कोभिड-१९ का डेंगु ‘फल्स पोजिटिभ’ आएका केस त हैनन्? ति विरामीहरुको स्वास्थ्य अवस्था के छ? सुधार भयो कि सिकिस्त हुँदै गए? पक्कै सम्बन्धितहरुले रेकर्ड राखेर अनुगमन गर्दै होला।

कोभिड-१९ फैलिएको देशहरुबाट नेपालमा धेरै मान्छे आइसकेका छन्, कतिलाई ज्वरो थियो, कतिलाई थिएन। कोभिड-१९ भाईरस बोक्न र अरुलाई सार्नको लागि ज्वरो आएको हुनैपर्ने भन्ने छैन, ज्वरो नै नआएको मान्छेहरुले पनि यो रोग सारेको प्रशस्तै भेटिएको छ। ज्वरो भएकोलाई थर्मल स्क्यानरले पक्ड्यो, नभएकालाई ‘सेल्फ क्वारान्टाइन’ मा बस्न भनेर जान दिईयो। तिनलाई निरन्तर ‘फलो’ गर्ने प्रणाली पनि छैन। के

तिनबाट यो भाईरस नेपालमा भित्रीएन होला?

नेपालबाट विदेश गएका केही व्यक्तिलाई कोभिड-१९ पोजिटिभ देखिएको छ। नेपालबाट सिंगापुर हुँदै अष्ट्रेलियाको तास्मानिया पुगेका एक जनालाई त्यहा पुगेर लक्षण देखिएर जाँच गराउदा पोजिटिभ देखिएको थियो। फेब्रुअरी १३ मा स्पेनको भ्यालेन्सियामा कोभिड-१९ ले मरेका व्यक्तिको केही समय अघी नेपाल घुमेर फर्किएको भन्ने पाइएको छ, नेपालमा उनको रोग ‘Pneumonia of unknown origin’ निमोनिया कारण नखुलेको भनेर भनिएको थियो।

भाईरस फैलिएको देशबाट कयौं मानिस नेपाल आइरहेका छन्, यहाँबाट बाहिर जानेमा पनि भाईरस देखिएको छ। तर, अचम्म के छ भने, नेपालमा एक जनामा मात्र पोजिटिभ देखिएको, त्यो पनि निको भएर घर फर्किसकेको भनेर हामी शानसँग भनिरहेका छौं।

नेपालमा अहिलेसम्म कोभिड-१९ पोजिटिभ भित्रीएको छैन भनेर कसरी पत्याउने?

हुन त कोभिड-१९ आयो, फैलियो भन्दैमा मान्छे भकाभक ढल्ने, दुनियाँ नै समाप्त हुने त हैन, त्यसरी तर्सिनु जरुरी पनि छैन। अन्य रुघाखोकी, सामान्य फ्लु जस्तै भाईरल संक्रमण हो, ज्वरो आउँदा सिटामोल खाने, प्रशस्त पानी, झोल कुरा खाने, आराम गर्ने हो भने निको भएर जान्छ। यसको संक्रमण ८०% जतिलाई सामान्य नै हुने हो तर सबै यो ८०% मा पर्ने भाग्यमानी हुँदैनन्। विशेषगरी ६० वर्षमाथिका व्यक्ति, मधुमेह, प्रेसर, दम, मुटु रोगीहरुलाई यसको जटिलता देखिने र मृत्यु हुने सम्भावना धेरै देखिएको छ।

यस्तो महामारीमा एकै पटक आउने ती सिकिस्त विरामीहरुको उपचारको लागि पर्याप्त आइसीयु बेड, भेन्टिलेटर छ छैन, पर्याप्त दक्ष स्वास्थ्यकर्मी छन् छैनन् भन्ने लेखाजोखा हुनुपर्छ। एकै पटक धेरै विरामीलाई भेन्टिलेटर, आइसीयु बेड, दक्ष स्वास्थ्यकर्मी अनि अक्सिजन चाहिँदा ति पर्याप्त मात्रामा नभएर कुन विरामीलाई दिने कुन विरामीलाई नदिने भन्ने निर्णय गर्न धेरै गाह्रो हुन्छ। त्यस्तोमा बाँच्न सक्ने विरामीलाई प्राथमिकता दिंदा इटालीमा बुढाबुढी उमेरका विरामीहरुलाई आँखै अगाडि मर्न दिनुपरिरहेको भन्ने कुरा समाचराहरुमा आइरहेका छन्। भएका स्रोत साधनले धान्न नसक्ने गरी कोभिड-१९ फैलियो भने कुनै पनि देशमा त्यो अवस्था आउन सक्छ।

हिजो भर्खरै नवलपरासीका एक डाक्टरले इमर्जेन्सीमा हेरेको विरामी बारे लेखेका थिए।

‘भर्खरको उमेरका विरामी, पशाले ड्राइभर, केही दिन अघि भारतको बोर्डर पुगेका उनी ज्वरो आउने, सास फेर्न गार्हो हुने, वान्ता हुने भएर आए, तिनको छातीको एक्स-रेमा दुवैतिर निमोनिया देखिएको छ। विरामी सिकिस्त भएकोले रिफर गरियो।”

भाईरस फैलिएको देशबाट कयौं मानिस नेपाल आइरहेका छन्, यहाँबाट बाहिर जानेमा पनि भाईरस देखिएको छ। तर, अचम्म के छ भने, नेपालमा एक जनामा मात्र पोजिटिभ देखिएको, त्यो पनि निको भएर घर फर्किसकेको भनेर हामी शानसँग भनिरहेका छौं।

ति विरामी अहिले चितवन आइपुगेका छन्, डेंगु, लेप्टोस्पाइरा, स्क्रब टाइफस सबै नेगेटिभ देखिएको छ। उनलाई भेन्टिलेटरमा राख्नको लागि मुखबाट पाइप राख्नुपर्यो तर कहीँ कतै पनि यस्ता शंकास्पद विरामी हेर्दा सुरक्षाको लागि लगाउने पीपीई छैन, झन मुखबाट पाइप नै हाल्दा जोखिम झन बढी हुन्छ। यी विरामीमा जबसम्म अरु ब्याक्टेरिया वा भाईरस वा कुनै कारणले यी समस्या भएको हो भन्ने प्रमाणित नभएसम्म कोभिड-१९ संक्रमणको शंका गर्नै पर्ने हुन्छ। किनभने संक्रमण फैलिएको देशबाट नेपाल छिरेका र कडा रुपमा क्वारान्टाइनमा नबसेका लक्षण नदेखिएका व्यक्तीहरु गाँउ शहर, छिमेक जताततै भेटिन्छन्। तर यस्तो शंकास्पद विरामीलाई आइसोलेसनमा राखेर उपचार गरिने आइसीयु देशभर नै छैन शायद।

लक्षणको आधारमा उनलाई कोभिड-१९ संक्रमण शंका गर्ने हो भने उनीबाट नवलपरासीमा कती जनालाई सर्यो होला, त्यहाका अस्पतालका स्टाफलाई सर्यो होला, बाटोमा आउँदा एम्बुलेन्समा सर्यो होला, चितवनको अस्पतालका स्टाफलाई सर्यो होला। कि शंका नै नगर्ने वातावरण बनाइदिनु कि काम गर्दा सुरक्षाको लागि व्यवस्था मिलाइदिनुपर्छ। नत्र यो त आर्मीलाई ‘सर्ट पाइन्ट लगाएर बम डिस्पोज गर्न जा’ भने जस्तो भयो। यसको उपचारमा खटिएका हजारौं स्वास्थ्यकर्मीहरु विश्वभर संक्रमित भएका छन् र धेरैले ज्यान गुमाएका छन्। नेपालको स्थिति के हुने हो थाहा छैन।

तर शंकाको भरमा मात्रै कोभिड-१९ नेपालमा छिरिसक्यो भनेर भन्न मिल्दैन। परिक्षण चाहिने जति नगरिएको मान्दा पनि भिडभाड भईरहेको, आइसोलेसनमा नबसेको हाम्रो समाजमा यो भाईरस त आफ्नो तरिकाले फैलिनुपर्ने। त्यसरी फैंलदा ८०% जतिलाई त सामान्य ज्वरो आउने, खोकी लाग्ने मात्रै हो, तर बाँकीलाई त अलि बढी गाह्रो हुनुपर्ने। ६० वर्ष कटेकाहरुलाई, मुटु रोगी, दम रोगी, सुगर, प्रेसर रोगीहरु अलि धेरै ज्वरो आउने, खोकी लाग्ने, सास सम्बन्धि समस्याले अस्पताल भर्ना हुन आउनुपर्ने, मृत्यु अलि बढी बढ्नुपर्ने हो।

देशभरिका अस्पतालहरुले ज्वरो आएर, सास सम्बन्धि समस्याको कारणले आ-आफ्नो अस्पतालहरुमा भर्ना हुने, सिकिस्त हुने र मृत्यु हुने दर बढेको छ छैन, शंकास्पद रुपमा बढेको भए पक्कै सतर्क भएर सम्बन्धित सबैलाई खबर हुन्थ्यो होला। अहिलेसम्मको अवस्थामा त्यस्तो पनि देखिएको छैन। कोभिड-१९ विश्वभरी फैलिएको अहिलेको अवस्थामा ज्वरो आएर, खोकी लागेर, सास बढेर हुने कुनै पनि मृत्युलाई सामान्य मानेर बस्न सकिदैन, त्यस्ता मृत्युलाई उमेरको कारणले, दम बढेर, मुटु बिग्रेर होला भनेर नबसी कोभिड-१९ भए नभएको जाँच गर्दा हामी कती सुरक्षित छौं भन्ने हल्का भए नि ज्ञान पाउन सकिन्छ।

विश्व स्वास्थ्य संगठनले भनिसक्यो ‘परिक्षण नगरी यो प्रकोपलाई रोक्न सकिन्न, परिक्षण नगरी यसको समस्या मापन गर्न सकिन्न।’ हामी भने न पर्याप्त परिक्षण गरिरहेका छौं न त कडाइका साथ ‘सेल्फ क्वारान्टाइन’ मा बस्न बसाउन सकिरहेका छौं। आँधीबेहरी अगाडिको सुनसान झैं हामी एउटा ठुलो प्रकोपलाई सुनसान अवस्थामा कुरिरहेका छौं, दुनियामा फैलिरहेको र विकसित देशहरुमा समेत हजारौं मारिरहेको कोभिड-१९ भाईरसलाई कम आंकलन गरेर एउटा मात्र पोजिटिभ देखियो भनेर मख्ख परिरहेका छौं, फूर्ती गरिरहेका छौं। यो सुनसान कहिलेसम्म हो थाहा छैन।

हरेक सरकारको आफ्नो सिमितता हुन्छ, आफ्नो स्तर हुन्छ। हामीलाई हाम्रो स्तर थाहा छ, चीनले गरे जस्तो सम्भव नहोला, तर विकसित भनिएका देशहरुको स्वास्थ्य क्षेत्रलाई धुलो पार्ने गरेर फैलिएको प्रकोप हेरेर त्यहाँ गरिएका सही कुरा, गल्ती कदमहरुबाट हामीले सिक्न त सक्छौं। इटालीको केसमा देखिइहालियो, २-३ हप्तामा कुन अवस्थाको देश कुन अवस्थामा पुग्यो। सिमित मात्रामा मात्रै टेस्ट गर्नका लागि किट छन् भने त्यो कमी स्वीकार्नुपर्छ, हामीले ‘सबैको टेस्ट गर्नैपर्छ’ भन्ने असम्भव कुरा गरेको पनि हैन, तर सरकारले ‘सम्पूर्ण तयारी पुगेको छ’ भन्दै झुट बोलेर नाक जोगाइराख्नुपर्ने जरुरी नै छैन, प्राइभेट अस्पताल, विभिन्न स्वास्थ्य क्षेत्र, सामाजिक संस्था, मिडिया, जनतासँग मिलेर कमजोरी सबै खुलाएर, कसरी बलियो बन्दै जाने, यो प्रकोपलाई कसरी रोक्ने वा कम गर्ने भनेर सल्लाह गर्दै अघि बढ्ने हो।

विश्व स्वास्थ्य संगठनले ‘कोभिड-१९को ईपिसेन्टर अब दक्षिण एसिया हुनसक्ने’ भन्दै गर्दा हामीले पुरानै तरिकाले देशलाई, आफूलाई पशुपतिनाथकै भरमा नछोडी उपलब्ध ज्ञान, सीप, उपकरणलाई बेलैमा सदुपयोग गरी अरु देशका राम्रा, नराम्रा अनुभवहरुको आधारमा सावधानीपूर्वक अघि बढ्नु उचित हुन्छ। र यसमा सरकारले मात्र गर्नुपर्ने र सक्ने अवस्था नै छैन, सबै प्राइभेट क्षेत्र, सामान्य जनताले साथ दिनुपर्छ र सरकारले सँगै लिएर अघी बढ्न सक्नुपर्छ।

मुढेबल वा खुकुरी र भगवानको भरमा त पक्कै भाइरसविरुद्धको यो लडाईं लड्न सकिँदैन बरु यो कोभिड-१९ भाईरसलाई बढी भन्दा बढी चिनौं, सही जानकारी फैलाऔं, कसरी सर्ने रहेछ, कसरी बच्ने बुझौं, कसरी फैलन नदिने जानौं। यही ज्ञान र त्यही अनुसारको हाम्रो व्यवहारले नै हामीलाई यो लडाईं जिताउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय