सरकारलाई गाली पनि गर्ने, अनि भनेको पनि नमान्ने?

नागरिकको साथबिना महामारी रोक्न सकिन्न

चीनबाट फैलिएको कोरोना भाइरसको कारण १ सय ७०भन्दा बढी देश प्रभावित भइसकेका छन्। जसका कारण ८ हजारभन्दा बढीको मृत्यु भइसेको छ ।

सन् २००२ मा सार्सले पनि यस्तै नै महामारीको रुप लिएका थियो । सार्ससँग कोरोना भाइरसका लक्ष्णहरु करिब ८० प्रतिशत मिल्छ।

पहिलाको सार्स पनि चीनबाट नै सुरु भएको थियो ।

सार्स भाइरस नजिकको सम्बन्धबाट सर्ने गर्दथ्यो । तत्कालिन समयमा स्वास्थ्यकर्मी तथा बिरामीलाई हेरचाह गर्ने धेरै संक्रमित भएका थिए। अन्य मानिसभन्दा धेरै स्वास्थ्यकर्मीको मृत्यु हुन पुग्यो । सार्स ८–९ महिनाभित्र नियन्त्रणमा आएको थियो । जसले अहिलेको जस्तो बृहत रुप लिन सकेन । त्यसबेला ८ हजारको संक्रमितहरुको केसमा ८ सयको हाराहारीमा मृत्यु भएको थियो ।

सन् २०१२ मर्स भाइरस साउदी अरबबाट सुरु भएको थियो । जसका कारण २ हजार ५ सय संक्रमित भएका थिए । ३५ प्रतिशत जतिको मृत्यु भएको थियो । कोरोना भाइरसको हालको अवस्थालाई हेर्ने हो भने करिब २ लाख भन्दा बढी संक्रमित भइसकेका छन् भने ८ हजारभन्दा बढी मृत्यु भएको छ ।

पहिलाको सार्सको तुलनामा कोरोनाको मृत्युदर कम नै रहेको छ । हाल १ सय ६५ देशमा फैलिसकेको अवस्था छ । स्थिति निकै चिन्ताजनक र व्यापक भइसकेको छ। तर, मृत्युदर हेर्ने हो भने अन्य भाइरसको भन्दा तुलानात्मक रुपमा कम नै रहेको छ।

रोगथामका लागि सकेसम्म भाइरस प्रवेश हुनै दिनु भएन । सन् २००२ मा सार्स नेपाल भित्रिएको थिएन । त्यसबेला थुप्रै नेपाली विद्यार्थी चीनमा रहेका थिए । त्रास त्यो बेला पनि उस्तै थियो।

अहिले पनि सकेसम्म हाम्रो प्रयास भाइरस नभित्रियोस नै भन्ने हो । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा आजसम्म छैन भनेको छ । त्यसको अर्थ भोलि हुन सक्दैन भन्नेचाहीँ होइन ।

कसरी नियन्त्रण गर्ने ?

कोरोना भाइरस आइहोल्यो भने कसरी नियन्त्रणमा राख्ने भनेर तयारी अवस्थामा बस्नुपर्छ। अहिले भाइरसको बारेमा सूचनाहरु जनस्तरमा सबैले थाहा पाउनुपर्यो । हरेक व्यक्तिले यसको लक्षण के हो भन्ने कुरा थाहा पाउनुपर्छ ।

स्वास्थ्यकर्मीमार्फत भाइरसको विषयमा तालिमको व्यवस्था गर्न आवश्यक छ । गाउँपालिकादेखि लिएर देशका ठूला अस्पतालहरु तयारी अवस्थामा राख्नुपर्ने अवस्था छ ।

तयारी अवस्थामा हुँदा हामीकहाँ कति जति केस हुनसक्छ, भनेर अनुमान गर्न जरुरी छ । त्यसको लागि टेस्ट किट देखि लिएर स्वास्थ्यकर्मीको लागि प्रोटेक्सन साम्रागी सबै तयारी अवस्थामा राख्नुपर्नेछ ।

कुनै पनि महामारी नियन्त्रण गर्ने पहिलो पाटो हुन नदिनका लागि तयारीमा हुनुपर्छ। भइसकेपछि योजनाबद्ध रुपमा काठमाडौंलाई मात्र होइन कि गाउँलाई पनि केन्द्र बनाएर तयारी अवस्थामा राख्नुपर्छ। नागरिक, निजी क्षेत्र, सरकारी सम्पूर्णलाई आबद्ध भएर योजना बनाउनुपर्छ । एक्लै यो स्वास्थ्य मन्त्रालयले गर्ने सक्ने काम होइन ।

यी योजनाका लागि चाहिने बजेट तथा मानवीय स्रोतलाई तयारी अवस्थामा राख्नुपर्यो।

पहिलाका महामारीलाई रोक्न सजिलो भयो । ३० वटाभन्दा बढी देशहरुमा फैलन पाएनन् । कोरानाको सर्ने तरिका जुन छ पहिलाको भन्दा भिन्न भएको हुनाले रोक्न धेरै गाह्रो देखिएको छ।
कथंकदाचित संक्रमण नेपालमा भित्रिएन भने छुट्टै कुरा । ३ महिनाको अवधिमा १ सय ६५ भन्दा बढी देशहरुमा यो रोग फैलिसकेको छ । यो भाइरस कुनै पनि देशमा नजाला र रोक्न सकिएलाजस्तो देखिँदैन।

त्यसकारण यो भाइरसको लागि हामीले युद्ध स्तरमा तयारी गर्नुपर्छ । यो तयारी हामी सबैले तत्काल गर्नुपर्छ ।

सरकारले दिएका सुझावलाई सबैले मान्नुपर्यो । सामाजिक भेला नगर्ने, भीडभाड नगर्ने जस्ता काम गनुपर्छ ।

हामी सरकारको विरोध पनि गर्ने अर्कातिर सरकारले भनेको नमान्ने हो भने जनताको योगदान नहुँदा सरकारले मात्र यस्ता महामारी रोक्न सक्दैन ।

सार्स फैलिँदा पनि विश्वमा कसैको यस्तो अनुभव थिएन। विश्व स्वास्थ्य संगठनले हेरक दिन सूचना दिइरहेको छ । यसरी यो भित्रिदैं आएको छ, संगठनले गर्नुपर्ने कुरा के, गर्न नहुने के हो भनेर जानकारी दिँदै आएको छ।

विश्व स्वास्थ्य संगठन तथा चीन सरकारसँग पनि नेपालको सम्बन्ध नजिकको छ। त्यसअनुरुप नै सरकारले योजना बनाइरहेको छ। यो योजनामा नै हामी सबैले विश्वास गर्नुपर्छ । सरकारले गरेको कामलाई विरोध गर्न भन्दा पनि अपनाउनु पर्यो । अरु देशहरुले के भनिरहेका छन् भने विश्व स्वास्थ्य संगठनले के भनिरहेको छ, त्यसलाई अपनाउन सुझाव दिएका छन् ।

हामी आफू जोखिममा नपरौं, अरुलाई पनि जोखिममा नराखौं। हाम्रो मानसिकता कस्तो रहेको छ भने सरकारलाई गाली गर्यौ भने मात्र राम्रो कुरा देखिने, गाली गरेन भने सरकारको मान्छे रहेछ भन्ने मानसिकता सबैमा छ । त्यो मानसिकतामा नबसौं। यस्तो महामारीको अवस्थमा सरकारलाई सहयोग गर्ने हो। सरकारले भनेको कुरा मान्ने हो । सबै नागरिकको साथबिना सरकार एक्लैले मात्र यस्ता महामारी नियन्त्रण गर्न गाह्रो हुन्छ।

(इपिडिमियोलोजिष्ट डा.चन्द स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ हुन्। महामारी रोक्न कस्तो तयारी हुनुपर्छ भन्ने विषयमा हेल्थपोस्ट नेपालका पुष्पराज चौलागाईंले गरेको कुराकानीका आधारमा यो आलेख तयार गरिएको हो।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय