कोरोना कहर : स्वास्थ्यकर्मीलाई समायोजन भएको स्थानमा जान रोक्यो सरकारले

सरकारले स्वास्थ्यकर्मीलाई समायोजन भएको स्थानमा जान रोक लगाएको छ। साथै अहिले कार्यरत रहेको निकायबाटै कामकाज गर्ने निर्देशन दिएको छ।

कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले यो निर्णय लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिएका हुन्।

सिंखडाका अनुसार मन्त्रिस्तरीय बैठकबाट अहिले समायोजनमा रहेका संघ, प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई कार्यरत भएको ठाउँमै काम गर्नेका लागि निर्देशन दिएको हो।

स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागलाई अधिकृत सातौँस्तरसम्मका सम्बन्धित स्वास्थ्यकर्मीलाई कामकाजमा खटाउने अधिकार दिएको छ।

त्यसैगरी, करार वा छात्रवृत्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई चालू आर्थिक वर्षसम्म तलब भत्ताको आवश्यक व्यवस्था गरी म्याद थप गर्ने अधिकार समेत दिएको छ।

कोरोनाको संक्रमणबाट १ सय ६५ देश प्रभावित बनिसकेका छन्। अहिलेसम्म विश्वमा एक लाख ९८ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सात हजार ९ सय ८८ जनाको ज्यान गएको छ। र, ८२ हजार ७ सय ६२ जना निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय