२५ जना बढी भेला गर्न रोक, सिनेमा हल पनि बन्द हुने

सरकारले कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथामका लागि २५ नजा भन्दा बढी मानिसलाई भेला हुन रोक लगाएको छ।

कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो।

बुधबार बसेको समितिको बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेल मैदान, जिम क्लब, म्युजियम, स्वीमिङ पुल तथा मनोरञ्जन स्थलहरुलाई ३० अप्रिल २०२० अर्थात (१३ दिन) सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

जसको अनुगमन तथा निरीक्षण गृह मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार सूचना तथा प्रविधि मन्त्रालयले गर्नेछ।

कोरोना भाइरसको संक्रमण भई उपचार गर्नुपर्ने अवस्था आएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सरकारी सामुदायिक तथा नीजि अस्पतालहरुबाट उपचार गरिने निर्णय व्यवस्था बैठकले गरेको छ।

बैठकले अति आवश्यक काम बाहेर घर बाहिर ननिस्कन अपिल गरेको छ। बैठकले गरेको निर्णय प्रदेश तथा स्थानीय सरकारले पालना गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।

संक्रमण रोकथामका लागि सार्वजनिक सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगराउन यातायात व्यवसायीलाई समितिले अनुरोध गरेको छ।

व्यवसायीले निर्णय कार्यान्वयन गरे नगरेको निगरानी गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको छ। यसका साथै सवारी चलाउनु अघि सवारीले एन्टी भाइरस स्प्रे गर्न अनिवार्य गरेको छ। जसको अनुगमन तथा निरीक्षण यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्ने छन्।

यसका साथै बजारमा दैनिक उपभोग्य सामग्रीको अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मिसावट गर्ने गराउनेलाई कानुन बमोजिम तत्काल कारबाही गर्ने निणर्य पनि समितिले गरेको छ।

बैठकले दैनिक उपभोग्य सामग्रीको मौज्दात पर्याप्त भएको भन्दै आम उपभोक्तालाई आवश्यकभन्दा बढी सामग्री सञ्चय नगर्न पनि अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय