त्यो त मेरो नर्सिङ जीवनको सबैभन्दा गाह्रो परीक्षा थियो

पर्सी के होला?

दुई दिनअघि मात्रै पुनमलाई थाहा भयो, प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण शिक्षण अस्पतालमा हुँदैछ।

यो खबरले पुनम सिन्हा उत्साहित पनि थिइन् र केही ‘नर्भस’ पनि।

‘प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गर्ने पो हो त’ मनमा तरंग उठ्दै थिए ‘कतै केही हुने पो हो कि?’

शिक्षण अस्पतालमा अपरेशन थिएटरकी नर्सिङ इन्चार्ज हुन् पुनम सिन्हा।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सातामात्रै शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरेका थिए।

चिकित्सकको टोली त छँदैथियो, त्यसमाथि नर्सहरुको भूमिका पनि अझैं महत्वपूर्ण हुन्छ।

अनि पुनम त झन् इन्चार्ज पो थिइन्, सब जिम्मा उनकै काँधमा थियो।

‘कतै मेरा हात काप्ने पो हुन् कि?’ रातभरि उनको निद्रा पनि बिथोलियो ‘फ्याट्ट मेशिनहरु पो बिग्रिहाल्छन् कि?’

डरका यी ज्वारलाई मनमा फेरि आशाका किरणले निभाइदिन्थे ‘हामीसँग अनुभव भएका डाक्टरहरु पनि त छन् नि, म एक्लै त होइन। पूरै टिम छ।’
यो हिम्मतिलो आशाले उनलाई अपरेशन थिएटरभित्रै छिर्न हिम्मत दियाे।

मिर्गाैला प्रत्यारोपणका लागि यो उनको पहिलो ‘थिएटर’ अनुभव थियो। त्यो पनि प्रधानमन्त्रीको पो त।

‘मनमा लागेको थियो, म कुनै परीक्षा दिन जाँदैछु, त्यो पनि जीवनको सबैभन्दा महत्वपूर्ण परीक्षा’ उनी सम्झिन्छिन् ‘इक्साइटमेन्ट त हुने नै भयो, नर्भस पनि उस्तै थिएँ।’

अस्पताल परिसरभरि सुरक्षाकर्मी। शुभचिन्तकहरु अनि पत्रकारहरुको घुँइचो। माहोल केही फरक थियो त्यो दिनको।
जस्तो पुनको मनको माहोल थियो।

‘यो अपरेशनमा केही फरकखालको प्रेसर महसुस गरेकी थिएँ’ पुनम भन्छिन् ‘त्यो यहाँको इन्भारोमेन्टले पनि हो। देशकै प्रमुख मान्छेको मिर्गौला प्रत्यारोपण हुँदै थियो अनि…।’
न उनका हात काँपे, न मेशिनहरु बिग्रिए। न मनमा दौडिएका जस्ता अरु कुनै नराम्रा घटना भए।

हो, दाता समीक्षाको मिर्गाैला झिकियो र प्रधानमन्त्रीमा प्रत्यारोपण गरियो। १२ दिनपछि मुस्कुराउँदै अनि, हात हल्लाउँदै प्रधानमन्त्री निवास फर्किए।

जीवनमा फुलेकामध्ये सबैभन्दा महत्त्वपूर्ण खुसीको पल थियो पुनका लागि त्यो।

अपरेशनका लागि दुई दिनमै आफूलाई तयार गरिन् र टिमलाई चाहिने मेडिकल इकुपमेन्टको जोहो गरिन्।

हरेक बुधबार दुईटा अपरेशन हुने शिक्षण अस्पतालमा त्यो दिन एउटा मात्रै अपे्रशन गर्ने निर्णय भयो।

आम सर्वसाधारण तथा प्रधानमन्त्रीको उपचार नितान्त फरक हुने महशुस गरिरहेकी थिइन उनी।

‘यो मेरो नर्सिङ जीवनको परीक्षा। जसरी पनि पास गर्नु थियो, ‘मैले धैर्यतापूर्व सोंचेर प्लान बनाएँ अनि परीक्षा दिने आँट गरँे।’

३१ वर्षे जागिरे जीवनकै सबैभन्दा महत्वपूर्ण समय थियो, फागुन २१ गते।

‘प्रधानमन्त्रीले हाम्रो संस्थालाई विश्वास गर्नुभयो। हामीले परीक्षा दिने आँट गर्‌याैँ,’ सिन्हा भन्छिन्, ‘हामी सफल भयौं हाम्रो संस्थाको शीर उँचो भएको छ।’

मृगौला प्रत्यारोपणको अघिल्लो रातिसम्म निकै ‘पे्रसर’ फिल गरेकी उनलाई २१ गते भने संसार जितेको अनुभव भयो।

पुनमलाई लागिरहेछ, जीवनको एउटा महत्वपूर्ण मिसन पूरा भएको छ।

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणमा १२ जना नर्स सामेल थिए। नर्सको त्यो टोलीको नेतृत्व पुनमले गरेकी थिइन्।

अपरेशन थिएटरमा नर्सको भुमिका तथा काम महत्वपूर्ण हुन्छ। तर, पनि सधैं उनीहरुलाई पर्दापछि नै राखिन्छ।

‘पर्दा पछाडि नर्सको भुमिका धेरै हुन्छ, तैपनि कसैले केयर गर्दैनन् हरेक कुरामा डाक्टर मात्रै हावी हुन्छन’ उनी भन्छिन् ‘तर, कामको हिसावमा हेर्ने हो भने डाक्टरभन्दा नर्सको भूमिका धेरै हुन्छ।’

हो पनि, डाक्टर त एक पटक त्यो पनि एकछिन आउँछन्। बिरामी छुन्छन्। कागजपत्र हेर्छन्, त्यो पनि नर्सले ठिक्क पारेको अनि जान्छन्।
तर, नर्स त बिरामीसँगै २४सै घण्टा खटिनुपर्छ।

‘बिरामीसँग हरपल सँगै हुने त नर्स हुन्। उनीहरुको सारा केयर गर्नुपर्छ’ पुन भन्छिन् ‘डाक्टरको भूमिका पनि कम हुने हैन तर, हर सेकेन्ड सेकेन्डको अपडेट त नर्ससँगै हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय