चैत ५ पछि घरबाहिर ननिस्किन ७० लाख विद्यार्थीलाई शिक्षामन्त्रीको अनुरोध

शिक्षा मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा सकिएपछि सबै विद्यालय जाने उमेरका बालबालिकालाई घरबाहिर नजान अपील गरेको छ।  विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थालाई मध्यनजर गर्दै अर्को शैक्षिक सत्र सुरू नभएसम्म मन्त्रालयले विद्यार्थीलाई घरबाहिर ननिस्किन अपील गरेको हो।

मंगलबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १ देखि ९ सम्मका ७० लाख बालबालिकालाई घरपरिवारमै रहन अनुरोध गरेका हुन्। उनले विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिक, प्रवेश परीक्षा वा भर्नाका नाममा विद्यालयमा भिडभाड नगर्न अनुरोध गरेका छन्।

मन्त्री पोखरेलले २०७६ सालको एसइई परीक्षा निर्धारित समयमै सावधानीपूर्वक गर्न सरकार लागिरहेको जनाएका छन्। उनले परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न हेल्थ डेस्क राख्ने प्रवन्ध स्थानीय सरकारमार्फत व्यवस्था मिलाइने उल्लेख गरेका छन्।

यस्तै, ३० अप्रिल २०२० सम्म संक्रमण फैलिएका कुनै पनि देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ जारी नगर्ने यसअघि सरकारले निर्णय गरिसकेको बताए।

भारतमा एमबिबिएस वा एमडीको प्रवेश परीक्षा दिन फारम भर्ने प्रयोजन र विदेशमा पढिरहेका विद्यार्थीले विषय वा कलेज परिवर्तन गर्न चाहे ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने व्यवस्था मिलाइएको मन्त्री पोखरेलले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय