‘कोरोना संक्रमण जोखिम नियन्त्रण गर्न सरकारले युद्धस्तरमा काम गरोस्’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणमा युद्धस्तरमा कार्य गर्न सरकारलाई सचेत गराएका छन्।

सभापति देउवाले ९ बुँदे सुझावसहित जारी गरेको विज्ञप्तिमा सरकारलाई महामारी भित्रिन नदिन गम्भीर र प्रभावकारी कदम चाल्ने सजग गराएका हुन्।

‘कोरोना भाइरस अर्थात कोबिड १९ ले विश्वव्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनु पर्ने सतर्कताबारे हामी सबै गम्भीर छौं,’ देउवाले भनेका छन्, ‘जोखिम सामना गर्न सरकारलाई हाम्रो सम्पूर्ण साथ रहने घोषणा हामीले गरिसकेका छौं, तर युद्धस्तरमा कार्य गर्न सरकारको प्रभावकारिता नदेखिएकोमा सरकारलाई गम्भीर भएर कार्य गर्न सजग गराउँदछु।’

देउवाले सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनै पनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गरेका छन्।

सम्भावित जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरु तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने उनले बताएका छन्।

‘अनेक अफवाह चिर्दै वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको रहेको ध्यानाकर्षण गराउन चाहन्छु, अत्यावश्यक खाद्यान्नको थप मूल्यवृद्धिसँगै कालोबजारी फस्टाएको छ, बजारमा सरकारका सम्बन्धित निकायहरूको उपस्थितिबाट उपभोक्ताको हित संरक्षण जरुरी रहेको आवश्यकता औंल्याउन चाहन्छु,’ देउवाले भनेका छन्।

सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने संकेत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको देउवाको टिप्पणी छ।

‘पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको छ भने कतिपय उद्योग र अन्य व्यावसायिक क्षेत्र संक्रमण पूर्वको असर भोगिरहेका छन्, समग्र निजी क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी आवश्यकता औल्याउँदछु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।

सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा विशेष गरी गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरुलाई अत्यन्तै कष्टकर अवस्था बन्ने बताउँदै देउवाले तिनका लागि राहतको योजना ल्याउन सरकार समक्ष माग गरेका छन्।

सभापति देउवाले विद्यार्थीहरुको शैक्षिक भविष्यलाई असर नपर्ने गरी जोखिमबाट विद्यार्थीहरुलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय